एकै परिवारका ६ भारतीयलाई कैद सजाय
कीर्ते गरी नागरिकता लिएको आरोपमा एकै परिवारका ६ भारतीय नागरिकलाई कैद र जरिवानाको सजाय भएको छ । नेपाली महिलासँग विवाह गरेका भारत विहार राज्य जिल्ला मधुवनी ग्राम पर्सा दक्षिण थाना घोघडिहाका ७० वर्षीय गङ्गाधर यादवसहित उनका दुई छोरा, दुई बुहारी र एक नातिलाई कैद र जरिवानाको सजाय भएको सप्तरी जिल्ला अदालतले जनाएको छ ।
जिल्ला न्यायाधीश रीता बख्रेलको इजलाशले गङ्गाधरलाई तीन वर्ष कैद र रु २० हजार जरिवाना, उनका छोरा कमलदेव र अमरेन्द्रलाई दुई–दुई वर्ष कैद र १०–१० हजार जरिवाना, बुहारी गुलावदेवी र ममतादेवी तथा नाति विवेकानन्दलाई जनही एक वर्ष कैद र रु १० हजार जरिवानाको फैसला भएको हो ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका-२ की बिल्टीदेवी यादवको जग्गाधनी पुर्जामा उनको नाममा जारी भएको नागरिकता नम्बर ७१०२२६१४ नै गङ्गाधरको नागरिकतामा पनि उल्लेख भएको पाइएपछि कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । कपलेश्वरकी श्रीमती बिल्टीदेवी गङ्गाधरकै सासू हुन् । सामाजिक परम्परानुसार ५० वर्षअघि सुभद्रादेवीसँग पहिलो विवाह गरेका गङ्गाधरले भारतीय महिलासँग दोस्रो विवाह गरी भारतमा बसोबास गर्दै आएका छन् । सुभद्रादेवी भने डाक्नेश्वरीस्थित माइत बस्ने गर्छिन् ।
सासूको नागरिकता नम्बर कीर्ते गरी आफ्नो बनाएका गङ्गाधरले मतदाता नामावली परिचयपत्रसमेत बनाइ मतदान गर्दै आएका छन् । अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार गङ्गाधरकै कीर्ते नागरिकताका आधारमा उनका छोरा, बुहारी र नातिले समेत वंशजको नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् ।
जिल्ला प्रशासन कार्यालयमा डाक्नेश्वरी नगरपालिका–२ का अरुणकुमार यादवबाट कात्तिक १६ गते उजुरी परेपछि प्रशासनले छानबिन गर्न लगाएको थियो । जिल्ला प्रशासन कार्यालयले त्यसबारे छानबिन गर्न प्रहरीमा कात्तिक २० गते पत्राचार गरेपछि प्रमाण खोज्दै जाँदा उनीहरूको नागरिकता कीर्ते रहेको ठहर भएको हो ।
symbolic image
प्रतिक्रिया