केपीकै अगाडि उभिएर राजीनामा माग

केपीकै अगाडि उभिएर राजीनामा माग



पार्टी एकिकरणका निम्ति क्रियाशील रहेको दाबी गर्नुहुने वामदेव गौतमले बालुवाटारमै पुगेर प्रधानमन्त्रीको राजीनामा माग्नुभएपछि गौतमलाई बोल्दाबोल्दै रोकिएको जानकारी प्राप्त भएको छ ।

चैत सात गते शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमाले संसदीय दल र केन्द्रीय कमिटीको बैठक अलग-अलग समयमा बोलाइएको थियो । बिहान एघार बजे आयोजित संसदीय दलको बैठकमा सहभागी हुन वामदेव पुग्नुभएको भए पनि त्यहाँ उहाँलाई वक्ताका रूपमा राखिएको थिएन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकलाई सम्बोधन गरिसकेपछि गौतमले प्रमुख सचेतक विशाल भट्टराईसँग आफूले पनि बोल्न चाहेको भन्दै समय मिलाउन भनेको र, भट्टराईले प्रधानमन्त्री ओलीको अनुमति लिएर गौतमलाई बोल्न दिएका थिए । माइकमा पुग्नेबित्तिकै वामदेव गौतमले आफू बसेर होइन उठेर बोल्न मन पराउने भन्दै बसेर बोल्नु कम्युनिष्ट परम्परामुताबिक नभएको धारणा राख्नुभयो । बैठकमा प्रधानमन्त्रीले बसेर बोल्नुभएको थियो । फागुन ११ गते संसद् पुनःस्थापना भइसकेपछि केपी ओलीले नैतिकताको आधारमा प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्थ्यो भन्दै गौतमले अब पनि निकासको लागि कामरेड ओलीले पदबाट राजीनामा दिनुपर्छ भन्नुभयो ।

त्यसरी संसदीय दलको बैठकमा उपस्थित भएर आफ्नो राजीनामा मागिएपछि प्रधानमन्त्री ओलीको अनुहारको रङ्ग बदलियो । निकै रातो र तातो अनुहारमा केपीले वामदेवलाई ‘तपाईं जथाभावी बोल्न थाल्नुभयो, भाषण बन्द गर्नुहोस्’ भनी आदेश दिनुभयो । त्यसपछि वामदेव पनि रिसाउनुभयो र भाषण बन्द गरी बैठक कक्षबाट बाहिरिनुभयो । केन्द्रीय कमिटीको बैठकमा भने गौतमले भाग लिनुभएन ।