ब्राजिलमा कोरोना भाइरसको संक्रमण झन् बढेको छ । मंगलबार दिइएको जानकारीअनुसार त्यसअघिको २४ घन्टाभित्रमा मृत्यु हुनेको संख्या तीन हजार भन्दा बढी पुगेको जनाइएको छ ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयले मंगलबार यहाँ कोरोना भाइरसको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार २५१ जना पुगेको बताएको सिन्ह्वाले जनाएको छ । योसँगै यहाँ यस भाइरसको प्रकोपबाट मृत्यु हुनेको संख्या बढ्दै गएको बताइएको छ ।
प्राप्त समाचारअनुसार मंगलबारसम्ममा ब्राजिलका २ लाख ९८ हजार भन्दा बढी व्यक्तिले यसबाट ज्यान गुमाएका छन् । अहिलेसम्ममा ब्राजिलमा कोरोनाको कारण २ लाख ९८ हजार ६७६ जनाको मृत्यु भएको छ ।
यसअघि यही मार्चको २८ तारिखका दिन यहाँ कोरोना भाइरसबाट २ हजार ८४१ जनाको मृत्यु भएको थियो र सो संख्या नै एकै दिन सबैभन्दा बढीको मृत्यु भएको बताइएको थियो ।
ब्राजिल अमेरिकापछि कोरोनाबाट मृत्यु हुनेको संख्याको आधारमा दोस्रो सबैभन्दा प्रभावित मुलुक हो । यहाँ अहिलेसम्ममा १ करोड २१ लाखभन्दा बढी व्यक्ति यसबाट संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
दक्षिण अमेरिकामा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देश पनि ब्राजिल नै हो । पछिल्लो पटक यहाँ भाइरसका नयाँ प्रजाति पनि पाइएको र झन् ठूलो संख्यामा संक्रमित भेटिन थालेको समाचारमा जनाइएको छ । यहाँका अस्पतालहरुमा निकै ठूलो संख्यामा संक्रमितहरु रहेका छन् भने पछिल्ला दिनहरुमा आइसियुमा रहेका नागरिकको संख्या पनि ठूलो भएको बताइएको छ ।
यसैगरी, भारतमा गत २४ घण्टामा कोरोना संक्रमणबाट २७५ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६० हजार ४४१ पुगेको छ ।
सोही अवधीमा यहाँँ ४७ हजार २६२ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कूल संक्रमितको सङ्ख्या एक करोड १७ लाख ३४ हजार ५८ पुगेको बताइएको छ । कूल संक्रमितमध्ये तीन लाख ६८ हजार ४५७ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने कूल एक करोड १२ लाख ५ हजार १६० जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया