माओवादी : भारतमा पनि उस्तै

माओवादी : भारतमा पनि उस्तै


कुनै बेला नेपालको माओवादी आन्दोलनलाई लिएर मनोरञ्जनात्मक रूपले बढाइचढाइ गर्ने भारतीय मिडिया अहिले आफ्नै मुलुकमा सोही प्रकृतिको आन्दोलनको बढ्दो प्रभावबारे भने थाहा नपाएझैं गरी मौन बस्न चाहन्छन् । कारण प्रस्ट छ, माओवादी आन्दोलनलाई भरणपोषण गर्दै गए मुलुकको गति के हुन्छ भन्ने कुरा बुझ्न छिमेकी राष्ट्र नेपाल काफी छ र यो कुरालाई उनीहरूले बुझेका छन् । झारखण्ड, छत्तिसगढ, उडिसा, आन्ध्रप्रदेश, बिहार, उत्तरप्रदेशलगायतका राज्यहरूमा बिस्तारैबिस्तारै फैलँदै गएको माओवादी आन्दोलनले क्रमश: हिंसात्मक रूप लिँदै गएको छ । माओवादीका नाममा दर्जनौँ सुरक्षाकर्मीको हत्या भइरहेको छ, सुरक्षाकर्मीहरूबाट पनि सोही नाममा स्थानीयमाथि धरपकड, पक्राउ र यातना दिने कामहरू भएका छन् । माओवादी आन्दोलनका नाममा भारतमा अहिले जे-जे भइरहेको छ, प्रक्रिया उस्तै छ, ठ्याक्कै नेपालको जस्तै । नेपालको माओवादी आन्दोलन ४० बुँदे मागबाट सुरु भएको थियो, त्यहाँ राज्यपिच्छे फरक भए पनि प्राय: १४ बुँदे माग अगाडि सारिएको छ । हामीकहाँ जस्तै गरिबी र छुवाछुतविरुद्धको आवाज उठाइएको छ । गाउँका दलितलगायतका पछाडि पारिएका जात, वर्गलाई आकषिर्त गर्न सोही प्रकारका नाराहरू तय गरिएको छ । यही जस्तो युवाहरूलाई आकषिर्त गर्न नाचगानलगायतका सांस्कृतिक कार्यका लागि छुट्टै जमात खडा गरिएको छ । लडाकुहरूलाई तालिम र हतियार उपलब्ध छन्, लडाकुका पोसाक पनि उस्तै छन्, पुरातन सामाजिक संस्कारमा जकडिएका महिलालाई स्वतन्त्रता र समानताको सपना देखाइएको छ । यहाँजस्तै शोषक, सामन्ती र जासुसीका नाममा मानिसहरूलाई मार्ने क्रम बढ्दो छ । जहाँ भए पनि एउटै सिद्धान्तले काम गर्ने भएर होला नेपाल र भारतका माओवादीले अपनाएको रणनीतिमा कुनै अन्तर नै छैन । फरक यत्ति हो नेपालको मिडियाले माओवादीका मुद्दाहरूलाई उनीहरूका गतिविधिहरूलाई निर्धक्कसँग जनसामु ल्याएको थियो, भारतीय मिडिया सकेसम्म यो कुरालाई त्यति महत्त्व दिन चाहँदैनन्, भारतका मिडियामा माओवादी आन्दोलनको कुरा छापिन या प्रसारित हुनका लागि सुरक्षाकर्मी या माओवादीको हत्यानै हुनुपर्छ । माओवादीका नाममा मारिएका घटनाबाहेक अन्य एङ्गलबाट त्यहाँका माओवादी गतिविधि मिडियाका लागि खासै समाचार या फिचर बन्ने गरेका छैनन् । राष्ट्रिय हित र सुरक्षाका लागि आफूलाई पनि उत्तिकै उत्तरदायी ठान्ने भारतीय मिडियाले माओवादीका मुद्दालाई सकेसम्म उजागर गर्नै चाहँदैनन् ।
गत हप्ता भारतको गोवामा सम्पन्न दक्षिण एसियाली मिडिया समिटमा केही भारतीय सहभागीले छत्तिसगढ र झारखण्डमा भएका माओवादी गतिविधिलाई मिडियाले खासै महत्त्व दिने नगरेको बताए । स्थानीय संवाददाताले समाचार पठाए पनि केन्द्रबाट ती समाचारलाई बाल मतलब नगरिएको उनीहरूको भनाइ थियो । पहिला-पहिला माओवादी द्वन्द्वकालमा माओवादीले बेलाबेलामा पत्रकारहरूको भ्रमण गराई आफ्ना कुराहरू मिडियामा ल्याएजस्तै गरेर भारतका माओवादी प्रभावित ठाउँहरूमा पनि पत्रकारहरूलाई ‘भिजिट’ गराइँदोरहेछ । माओवादीले पत्रकारलाई पहिला हाम्रो रुकुम-रोल्पातिर गेट बनाएर स्वागत गरेजस्तै गरी त्यहाँ पनि स्वागत गरिँदोरहेछ, आफ्ना कुराहरू भन्ने, राज्यबाट पीडितहरूलाई मिडियाकर्मीसामु प्रस्तुत गर्ने र ती कुराहरू जस्ताको तस्तै मिडियामा आउन भन्ने आफूहरूको चाहना रहेको बताइँदोरहेछ । स्थानीय संवाददाताहरूले समाचार पठाउँदा पनि रहेछन् तर भोलिपल्ट अखबार हेर्दा समाचार छैन । माओवादीका समाचार नदिने या कम दिने भनेर मिडियाले औपचारिक रूपमा नीति बनाएका छैनन् तर प्राय: सबै मिडियाको एउटै नीति देखिएको छ, मौनता । मूल प्रवाहमा भएका सञ्चारमाध्यमले आफ्ना गतिविधिलाई अत्यन्त कम महत्त्व दिएपछि अहिले भारतीय माओवादीहरूले विभिन्न ठाउँबाट इन्टरनेट पत्रिकाको प्रकाशन र रेडियोको सञ्चालन गरिरहेका छन् । हामीकहाँ जनताको रेडियोका नाममा विभिन्न ठाउँबाट रेडियो कार्यक्रमको सञ्चालन गरिन्थ्यो । त्यहाँ रेडियो फर द पिपुल, रेडियो प्रिm स्पिचजस्ता नामहरू दिइएको छ । द फाइट फर इकोनोमिक जस्टिस (आर्थिक न्यायको लडाइँ) लगायतका कार्यक्रमहरूले गरिबलाई विशेष आकषिर्त गरिरहेको छ । हामीकहाँ जस्तै माओवादी बुद्धिजीवी, माओवादी पत्रकार भनेर त्यहाँ पनि व्यावसायिक व्यक्तिहरू चिनिन थालेका छन्, माओवादीभन्दा अप्ठ्यारो पर्न सक्ने ठानी उनीहरू आफूलाई बाम बुद्धिजीव भनाउन मन पराउँदारहेछन् । शायद यो कुरा पनि हामीकहाँ जस्तै, श्याम श्रेष्ठ, हरिगोविन्द लुइँटेल, खगेन्द्र सङ्ग्रौला, महेश मास्के, मल्ल के सुन्दरलगायतका मानिसलाई माओवादी नभनेर बाम बुद्धिजीवी भन्ने गरिन्थ्यो ।
भारतका विभिन्न प्रान्तमा छोटा, लामा, हिंसात्मक, शान्त अनेक आकारप्रकार र नाममा थरीथरीका आन्दोलनहरू भइनै रहन्छन् । त्यसमध्ये कास्मिरको आन्दोलन फरक हो, कास्मिरी आन्दोलन भारतीयहरूका लागि राष्ट्रिय सुरक्षासँग जोडिएको विषय हो जुन वर्षौंदेखि जारी छ र कहिलेसम्म रहने हो यसै भन्न सक्ने अवस्था छैन । कास्मिर मुद्दामा प्राय: सबै भारतीय सञ्चारमाध्यमहरूको स्वर एउटै हुन्छ । द्वन्द्वको कुरा गर्दा भारतमा यसअघि कास्मिर केन्द्रबिन्दुमा पथ्र्यो तर अब बिस्तारै कास्मिरसँगसँगै माओवादी गतिविधिले स्थान पाउन थालेको छ । यद्यपि भारतीय अधिकारीहरू माओवादीलाई त्यस्तो ठूलो मुद्दा भन्न रुचाउँदैनन् तर चाहेर-नचाहेर भारतका लागि माओवादी हिंसात्मक गतिविधि भविष्यमा ठूलो समस्या बन्ने देखिँदै छ । नेपालमा पनि त्यस्तै भएको थियो, सुरुमा यहाँ पनि माओवादीको रूप त्यहाँसम्मको बन्ला भन्ने शायद सोचिएको थिएन । भारतले पनि माओवादीलाई सेल्टर दिएर राख्दा भोलि कुनै बेला आफूले पनि यस्तै प्रकारको समस्या भोग्नुपर्ला भनेर सोचेको थिएन, तर समय घुमिफिरी फरक भएको छ र यो समस्या भविष्यमा कास्मिरभन्दा कम हुने देखिँदैन । कास्मिरमा बाह्य सुरक्षाको कुरा प्रमुख मुद्दा छ भने माओवादी आन्दोलन आन्तरिक द्वन्द्व हो, कतिपय अवस्थामा छिमेकीसँगको झगडाभन्दा आफ्नै घरको झगडा बढी पीडादायी हुन्छ । पहिला-पहिला केही दिन नेपाल बसेर आफूलाई नेपाल विशेषज्ञ भन्न रुचाउनेहरू माओवादीको मुद्दामा यहाँको सञ्चार क्षेत्र नकारात्मक भएको टिप्पणी गर्थे, अहिले उनीहरू नै भनिरहेका छन्- नेपालको मिडियाले माओवादीलाई बढी नै बढाइचढाइ गर्‍यो, अहिले नेपालको अवस्था के भयो ? पहिलाको तुलनामा नेपालको अवस्था झनै बिगँ्रदै गएको कुराले भोलि आफ्नो मुलुक पनि उस्तै हुने हो कि भन्ने त्रास भने उनीहरूमा देखिन्छ । कास्मिरमा त धेरै अघिदेखि स्थानीयहरूले परिचयपत्र बोकेर हिँड्नुपरेकै थियो, अब अन्य राज्यमा पनि आफ्नै गाउँघरमा मानिसले पराइझैं भएर बाँच्नुपर्ने हो कि भन्ने चिन्ता देखिन्छ । कहिलेकाहीँ लाग्छ, नेपालको माओवादी द्वन्द्व अन्त्य गर्दै भारतले दिल्लीमा दलहरूबीच सम्झौता गराएको थियो, हामी सानो मुलुकका नागरिक भोलि त्यस्तै सम्झौता त नेपालमा के गराउन सक्थ्यौँ तैपनि हाम्रा भोगाइहरू भारतका लागि राम्रो पाठ भने हुन सक्छन् ।