फिजीमा नेपालीको त्यो डरलाग्दो कालो रात
- डिल्लीराम अम्माई/बेल्जियम

मानिस धन-सम्पति भएर पनि दुःखी छ भने त्यो फिजीका नेपाली हुन् । हाम्रा अग्रजहरू आफ्नो अन्तिम स्वाससँगै विभिन्न देवताको नाम लिन्छन्, स्मरण गर्छन् र आफूलाई स्वर्गप्राप्तिको अभिलाषाले अभिसप्त तुल्याउँदै प्राण त्याग्दछन् । तर फिजीका नेपालीको अवस्था फरक छ । उनीहरूका अघिल्ला पुस्ताले आफ्ना दिनहरू दुःखजिलो गरेर गुजारे । उनीहरू जीवनको अन्तिम दिनमा नेपालको नाम लिन्छन्, नेपालको चित्र कल्पनामा भर्दछन् र आफ्ना पुर्खाको देशमा रहेका पशुपति, स्वयम्भू र लुम्बिनीको ज्योतिस्पर्षको अनुभव गर्दै प्राण त्याग गर्दछन् । यो सन्ताप, नेपालसँग भएको विछोडको प्रताडना र चौथो पिँढीसम्म थोपरिएको ‘मालिक-राष्ट्र’को मानसिक यातना भोगेकाले मात्र अनुभव गर्न सक्छ तर बताउन खोज्दा पीडाबोधमा बगेको आँशुको भेलले शब्दहरू मुखबाट निस्कन नपाउँदै बगाएर लैजान्छ ।
नेपाल र फिजीको दौत्य सम्बन्ध सन् १९८० बाट भयो । समान हितका मुद्धाहरूमा संयुक्त राष्ट्र संघमा समेत हुने वैचारिक ऐक्यबद्धता सन् १९८६ देखि हुन थाल्यो । अहिले फिजी सरकारले काठमाडौंमा व्यापारिक हितहरूको प्रवर्द्धन गर्न बाणिज्य दूतावास खोलेको छ । यसले सूचना आदानप्रदान मात्र नभएर दुवै देशको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुर्याउन सहयोग गर्दछ । तर यी दुई देशका नेपालीहरूको मिलन गराउन फिजीका नेपालीहरूलाई निम्तो दिने र घरसम्म डोर्याएर ल्याउने कुनै शुभ कर्म भएको सुनिएको छैन । त्यो राज्य स्तरबाट भए धेरै राम्रो, फिजीका नेपालीले पुर्ख्यौली मातृभूमिको तीर्थाटनबाट एकमुठी आफ्ना पुर्खाको अस्तुमिश्रित माटो लिएर फिजी फर्किन्थे र त्यसैको पूजा गरेर आफ्नो सुखद सपना साकार पार्थे । त्यो संकल्प हामी सबै नेपाली मिल्ने हो भने गैरसरकारी तहबाट पनि गर्न सकिन्छ, आँट गरौँ !
ती नेपाली जुन साम्राज्यवादीहरूले घोलेको बिष पिएर फिजी पुगे र अहिलेसम्म उनीहरूलाई आफ्नो परिवारको पुनर्मिलन पुर्खाको माटोसँग भेट गराउने सवालमा नेपाल सरकारले अब चासो देखाउनुपर्छ । त्यसमा फिजीको सरकारलाई पनि ध्यान आकृष्ट गराउन सम्बन्धित निकायले सक्नैपर्छ । त्यो परोपकारको काम हो र राज्यले केही लगानी पनि गर्नुपर्ला तर त्यसले खेल्ने दीर्घकालिक सम्बन्ध दुई देशभित्र मात्र सीमित रहने छैन । सम्बन्ध दुई परिवारसम्म पनि त्यो सम्बन्ध बिस्तार हुने छ ।
फिजीमा स्थाई बसोबास गरिरहेका नेपालीहरूको मनभित्रको कुरा गर्ने हो भने वाक्य शब्दमा खुम्चेको छ, भाषिक पहिचान अनपढ पहिलो पुस्ताले कति आफ्ना सन्ततिहरूलाई हस्तान्तरण गर्न सक्यो ? त्यसपछिका पुस्ताहरूले नेपाली भाषाको लिपी र बोली हस्तान्तरण गर्न सके कि सकेनन् ? त्यसका आफ्नै विवशताहरू छन् । उनीहरूलाई मजदुर वा दास बनाएर लग्ने ब्रिटिश मालिकहरूले नेपाली भन्न र सामुहिक रूपमा नेपालीलाई बस्न नदिएको गुनासो पुर्खाहरूबाटै नयाँ पुस्तासम्म आएको देखिन्छ । त्यसले गर्दा उनीहरूको आफ्नो पहिचान बचाउने अवस्था नरहेकोतर्फ नै सङ्केत गर्दछ । पहिचान सामुहिक रूपमा बाँच्न सक्छ भने भाषा पनि प्रयोगले बाँच्ने हो । त्यो दुवै अवस्था नरहेपछि सानो वा एकल परिवेशमा भाषा र पहिचान बाँच्न सक्दैन ।
त्यो कुरा उनीहरूको यो भनाइबाट नै प्रष्ट हुन्छ- ‘हामीबाट नेपाली भाषा गुम्यो, बोल्न सक्दैनौँ, तर मन र मुटुमा हामी पुस्तौँदेखि नेपालीपन जोगएर राखेका छौँ । पुर्खाहरूलाई कसरी घोडाको चाबुकले हानेर दोषीसरह काम लागाइयो.. अग्रजहरूले भनेको त्यो परिवेश सम्झँदा अहिले पनि हाम्रो मन प्रताडित हुन्छ ।’
पुर्खा अनपढ थिए,नेपाली लिपि जोगाउन सक्ने कुनै आधार थिएन । भारतीयहरूको अलग अलग समुहमा नेपालीहरू मिसाएर काम गराउने बेलायति मालिकहरूलाई नेपाली पहिचानको के मतलब भयो र ! त्यसैले त्यहाँ नेपाली भाषा सकिनु वा पुस्ता हस्तान्तरण नहुनुमा नेपालीहरूको केहि दोष छैन ।
उक्त समयमा नेपालबाट भारतमा काम गर्न गएका नेपालीहरूलाई फकाएर र धम्क्याएर फिजी लगिएको थियो । केही समयको लागि भनेर लगिएका उनीहरू आफन्तसँग बिछोडको आँशु पिएर सताब्दीऔँ फिजीको वन फाँडेर उखु खेती गर्दै बसे । उनीहरू त्यो बेला कति रोए कसैले देखेन । उनीहरूलाई बेलायती मालिकहरूले दिएको यातना र अपमानको कुरा कति भयानक छ सुन्दा मात्र पनि सुन्दा बेलायती साम्राज्यवादप्रति असीमित घृणा उम्लेर आउँछ ।
पूर्वको नीलमणि ‘फिजी’ संसारभरका पर्यटकहरूले घुम्न रुचाएको अत्यन्त सुन्दर देश हो । यहाँ तीन सय २२ वटा ज्वालामुखीबाट बनेका अत्यन्त सुन्दर टापुहरू रहेका छन् । यिनै टापुहरूलाई हराभरा बनाएर बसेका छन् नेपाली मुलका फिजीहरू । नेपालीको जनसङ्ख्या १२ हजारको हाराहारीमा रहेको अनुमान छ । त्यहाँका नेपाली पनि कोही आर्थिक प्रगतिको दौडमा उत्तीर्ण छन् भने कोही अनुत्तीर्ण ।
फिजीलाई सन् १८७४ देखि बेलायतले आफ्नो कब्जामा लिएर उखु खेतीमा लगाउँथ्यो र त्यहाँ उत्पादन हुने चिनी र भेली बेलायत लगायत लगिन्थ्यो । बेलायतको उपनिवेश भएको करिब सय वर्षपछि सन् १९७० बाट फिजी स्वतन्त्र र सार्वभौमिक देश बनेको हो । सन् १८७९ देखि नै बेलायती मालिकहरूले उखुखेतीको लागि झुक्याएर भारतीय र अन्य देशका नागरिकहरूलाई फिजी लान थालिएको कुरा गिरिमिट सेन्टर लोटोको तथ्याङ्कमा उल्लेख छ ।
उक्त समयमा नेपालबाट भारतमा काम गर्न गएका नेपालीहरूलाई फकाएर र धम्क्याएर फिजी लगिएको थियो । केही समयको लागि भनेर लगिएका उनीहरू आफन्तसँग बिछोडको आँशु पिएर सताब्दीऔँ फिजीको वन फाँडेर उखु खेती गर्दै बसे । उनीहरू त्यो बेला कति रोए कसैले देखेन । उनीहरूलाई बेलायती मालिकहरूले दिएको यातना र अपमानको कुरा कति भयानक छ सुन्दा मात्र पनि सुन्दा बेलायती साम्राज्यवादप्रति असीमित घृणा उम्लेर आउँछ । भूदासको रूपमा लगिएका कामदारका चेलीबेटी बेलायतीहरूले चाहेको बखत बलात्कृत हुन्थे, मारिन्थे वा अङ्गभङ्ग हुन्थे । नेपालीहरूलाई त तीन-चार जना पुरुषको लागि एउटी महिला राख्ने अनुमति थियो । महिलाहरू कम भएको भन्दै तीन-चार पुरुषको बीच एउटी महिला श्रीमतीको रूपमा राख्न अनिवार्य गरिएको अवस्थाले त्यहाँ परिवार वा आफ्नो बच्चा चिन्न पनि कति मुस्किल हुँदो हो- अनुमान गर्न सकिन्छ । त्यहाँ पहिचान भन्दा जीवन प्यारो थियो र बेलायतीहरूको नियम नमानेको कुराबारे शङ्का मात्र हुँदा पनि ती ब्याक्ति मारिन्थे वा ज्युँदै गाडिन्थे ।
यस्तो कठोर अवस्थाको बीचमा पनि फिजी-नेपाली प्रवीण देव घर्तीका पुर्खाहरूले नेपालीपन जोगएर तीन-चार पुस्तासम्म लगातार हस्तान्तरण गरे । बेलायती मालिकहरूको चाबुक खाएको पुस्तातर्फ फर्केर हेर्दा उनीहरू अझै भावुक हुन्छन् र देश स्वतन्त्र भएपछिको अवस्थाले उनीहरूलाई धेरै राहत दिएको बताउँछन् ।
फिजीमा नेपालीको पहिलो पाइला
सन् १८७९ मे १५ मा कलकत्ताबाट फिजीको राजधानी ‘शुभ’ पुगेको पहिलो जहाज ‘लियोनिदास’ले पहिलोपल्ट नेपाली फिजी टापुमा पुर्याएको थियो । फिजीका नेपालीहरूको भनाइअनुसार ४ सय ६३ जना कामदार र केही बेलायती बोकेको जहाज फिजी पुग्न ७५ दिन लागेको रहेछ । त्यो जहाजमा अनुमानित ५० देखि ११० सम्म नेपाली महिला एवम् पुरुषहरू भएको अनुमान गरिन्छ ।
त्यसपछि गएका अरु खेपमा नेपालीको अनुमानित सङ्ख्या ३ देखि ४ हजारसम्म रहेको अनुमान छ । फिजीको सबैभन्दा ठूलो टापु मेनल्यान्ड, ‘भीटी लेभु’ र ‘भाउनुवा लेभु’ अन्तर्गतका सिंग्गा टोका र लम्बासामा प्रशस्तै नेपालीहरूको बसोबास भेटिन्छ ।

राई, घर्ती, मगर, थापा, न्यौपाने, पराजुली, तामाङ, गुरुङलगायतका नेपाली बसोबास गर्ने त्यहाँ नेपालीको दुई पुस्ता बेलायतीहरूको दासतामै बित्यो । न उनीहरूले पढ्न पाए न आफ्नो पहिचानको बारेमा खोजीनिती गर्न नै पाए । बेलायती मालिकहरूले फुकेको सिट्ठीको भरमा काम गर्ने र हिन्दी, अङ्ग्रेजी बोल्नुपर्ने बाध्यकारी कानुनको कारण आफ्नो भाषा बिर्सिए । तर नेपाली खानको स्वाद भने उनीहरूको जिब्रोले कहिल्यै बिर्सेन । अझै पनि उनीहरूको चुलामा नेपाली परिकार पाक्छ, नेपाली भेषभूषा लगाउँछन्, चाडपर्वको रूपमा दशैँ-तिहार मनाउँछन् । उनीहरूसँग सबै छ तर भाषा छैन । भाषाबिना पनि नेपाली पहिचान, नेपालप्रतिको अगाध माया, नेपालीप्रतिको असिम भातृत्व संसारमा कहीँ छ भने त्यो फिजीमा छ ।
हराएका नेपाली खोज्ने राज्यको दायित्व हो । हराएका आफ्ना बान्धव वा परिवार खोज्ने नेपालीको परम्परागत संस्कार पनि हो । सय वर्ष हराएका बन्धुहरू खोज्ने र एक सय वर्षमा पनि घर नआए अन्तिम संस्कार गर्ने हाम्रो परम्परा छ । त्यसरी हराएर अन्तिम संस्कार गरिसकेका ती नेपालीहरू कतै हाम्रै आफन्त त हैनन् ? ढिलै भए पनि खोज्नु जरुरी छ । ती हाम्रै हराएका पुर्खाका सन्तान हुन सक्छन्, ती अहिले देश हाँकिरहेका देशकै नेतृत्वका आफन्त पनि हुन सक्छन् । वा, उपल्लो तहमा सेवारत कुनै पनि नेपालीका आफन्त हुन पनि सक्छन् । हामीले बेलायतीबाट अपहरित ती हाम्रा पुर्खाका सन्तानहरूलाई सम्मानसाथ भेटेर अँगालौँ । युगले बिर्संदै गएका फिजीका एक नेपाली विजेन्द्र सिंहको यो गुनासो ‘न फिजी सरकारले साथ थियो न त नेपालले नै हामीलाई खोज्यो’ लाई सम्बोधन गर्नु एक परोपकारी कर्म हुने छ ।
‘भाषा मेटिएपछि आफ्नो राष्ट्रिय स्वाभिमानबारे बुझ्ने माध्यम सकिन्छ । नयाँ पुस्ता आफ्नो पहिचानमा पुरानो पुस्ता जति संवेदनशील छैन । त्यसैले पहिचान सम्पूर्ण रूपले सकिने हो कि भन्ने चिन्ताले त्यहाँका नेपालीहरू ग्रस्त छन् । यसबारेमा अन्तर्राष्ट्रिय साहित्य समाज ‘अनेसास’का पूर्व केन्द्रीय अध्यक्ष पदम विश्वकर्माले फिजीमा भाषिक सञ्जाल विस्तार गर्दै भाषा कक्षा सञ्चालन गर्ने बचन दिएका थिए । तर अहिले त्यसको पहल गर्ने कुनै नेपाली सँस्था भेटिएको छैन ।
फिजीका नेपालीहरूले १ सय ३६ वर्षदेखि जोगाएर हुर्काएको आफ्नो पहिचान विस्तार र समृद्धिका लागि संसारभरका नेपालीसँग याचना गरेका छन् । उनीहरूले भन्ने गरेका छन्- ‘बकुल्लालाई कागको बथानमा मिसाउँदैमा काग हुँदैन, हामी नेपाली जहाँ जसरी रहेका छौँ, नेपालीकै जस्तो भावना बोकेर रहेका छौँ । पुस्तौँ पुस्तासम्म आफ्नोपनको निमित्त तड्पियौँ, अझैसम्म नेपालीपनमा गौरव गर्दै आएका छौँ, हामीलाई नेपाली बनेरै बाँच्न र मर्न मन छ । संसारभरका नेपालीहरूले यस विषयमा संवेदनशील भइदिनुहोस् र कमसेकम पुनर्मिलनको वातावरण बनाइदिनुहोस् ।’
उनीहरू दुःखका दिनहरू पनि सम्झिन्छन् र ठुला-ठुला दुर्घटना सम्झेर भक्कानिन्छन् । त्यस्तै एक पुरानो दुःखदायी सम्झना छ उनीहरूको बीचमा । सन् १९८४ मे १७ मा भारतबाट अधिकतम नेपाली र भारतीय ‘गिर्मिटिया’ कामदार लिएर गएको पानीजहाज फिजीको एक टापुनजिकैको ‘नेसलाई रिफ’मा ठोक्किएर ४ सय ९७ जना यात्रुसहित समुन्द्रमा डुबेको सम्झनाले उनीहरू अझै धमिलिन्छन् । त्यो जहाज दुर्घटना सम्झेर फिजीका नेपालीहरूले पुर्वको ‘टाइटनिक दुर्घटना’को उपमा दिँदै आफ्ना दिवंगत बन्धुहरूलाई श्रद्धाका फूल चढाउँछन । फिजी पुर्याइँदा पानीजहाज दुर्घटनामा दिवंगत सबै अग्रज बन्धुहरूमा पङ्क्तिकारको पनि हार्दिक श्रद्धान्जली !
फिजीका नेपालीबारे थप जानकारी लिनको लागि यो हेर्नुहोस्-
प्रतिक्रिया