प्रदेश-१ मा मन्त्रिपरिषद् बिस्तार, प्रदेश प्रमुखद्वारा नवनियुक्त मन्त्रीहरुको शपथ

प्रदेश-१ मा मन्त्रिपरिषद् बिस्तार, प्रदेश प्रमुखद्वारा नवनियुक्त मन्त्रीहरुको शपथ



प्रदेश-१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेशका नवनियुक्त मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराएका छन् ।

प्रदेश प्रमुख अधिकारीले प्रदेशका मुख्यमन्त्री शेरधन राईका नेतृत्वमा विसं २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानबमोजिम मुख्यमन्त्रीको सिफारिसमा मन्त्री तथा राज्यमन्त्री पदमा आज नियुक्ति, हेरफेर र कार्यविभाजन गरेका हुन् ।

प्रदेश प्रमुख अधिकारीले नवनियुक्त मन्त्री आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्वुहाङ (लिम्बू), भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगर, सामाजिक विकासमन्त्री उषाकला राई र भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङलाई पद तथा गोपनीयताको शपथ गराए ।

यसैगरी मुख्यमन्त्री राईले नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझा र भूमि व्यवस्था राज्यमन्त्री कला घलेलाई पद तथा गोपनीयताको शपथ गराए ।

प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ ग्रहण समारोहमा प्रदेशका मन्त्री, कार्यालयका उच्चपदस्थ कर्मचारीको उपस्थिति थियो । यसअघि २०७६ माघ ५ गते मुख्यमन्त्री राईले प्रदेश मन्त्रिमण्डल विस्तार गरेका थिए ।

pict:rss