चेतना र प्रविधिको असन्तुलनले मानिसलाई दास बनाउँछ !

चेतना र प्रविधिको असन्तुलनले मानिसलाई दास बनाउँछ !


  • डिल्ली अम्माई

दर्शनले समुदायको चेतना, विज्ञानको प्रयोग र प्रविधिको विकासलाई थप ब्याख्यासहित समाजका अन्तरविरोधहरू समाधान गर्दै भविष्यको तस्बिर देखाएन भने त्यो दर्शनको त्यतिखेरै मृत्यु हुन्छ । तर त्यसले चेतना, भौतिक विकास र प्रयोगका अनुभवहरूलाई संश्लेषण गरेर भविष्य झाँक्न सक्यो भने त्यो दर्शन परिवर्तनको जीवन्त दर्शन बन्दछ । इतिहासको अघिल्लो कालखण्डमा स्थापित मान्यताहरू भौतिक विज्ञानका विभिन्न चरणका आविष्कारले उल्टाइदियो । समाज विज्ञानमा पनि अन्धविश्वासका पुराना मिथकहरूलाई शिक्षामा भौतिक विज्ञानका प्रयोगशालाको नतिजाले पुनः परिभाषित गऱ्यो । संसार मात्र हैन निहारिका र सिङ्गो ब्रह्माण्ड चलायमान भएको, समयको गति हुने वा नहुने कुरा त्यस क्षेत्रमा हुने चाल र खिचावले निर्धारण गर्ने कुरा हो । पछिल्लो वैज्ञानिक आविष्कारले समाजका विश्वास र मानव चेतनामा समेत अथाह परिवर्तन ल्याएको छ । हाम्रा सोच र दर्शनका मान्यताहरूलाई क्वान्टम विज्ञान, सफ्टवेयर, प्रकाशको तरङ्ग र शक्तिद्वारा पदार्थको निर्माण तथा पुनः पदार्थको शक्तिमा रूपान्तरण जस्ता खोजले प्रभाव पारेको हुन्छ । वैज्ञानिक खोज र दर्शनको सन्तुलन मिल्न सक्यो भने त्यो दर्शनले मात्र समाज रुपान्तरणमा मार्गदर्शनको काम गर्न सक्ने हुन्छ ।

केही समाज विज्ञानका ज्ञाताहरूले भौतिक विकासको आधारमा नयाँ आयाम र त्यो विकासका आधारभूत नियमहरूको व्याख्या गर्न दर्शनको विकास पनि आवश्यक भएको महसुस गरेर दर्शन विकासबारे समेत चासो राख्दै अबको आन्तरिक तथा बाह्य बस्तुस्थितिको वस्तुनिष्ठ आँकलनसहित तात्कालिक कार्यनीति र रणनीति तय गर्न एक दीर्घकालिक मोर्चा निर्माण गरेर जानुपर्ने कुराहरू आएका छन् । समाज परिवर्तनका आधारहरूलाई वैज्ञानिक रूपमा व्याख्या गर्ने र समाज परिवर्तनका परम्परावादी सोच र मान्यताहरूलाई भत्काउँदै उत्पादनका साधनहरूको न्यायिक वितरण गर्ने वैज्ञानिक समाजको परिकल्पनामा मार्क्सवाद अहिलेसम्मको सबैभन्दा अग्रगामी दर्शन हो ।

यस दर्शनसँगै आएको परिवर्तनको लहरले ल्याएको तरङ्गमा मजदूरहरूको अधिकार स्थापित भयो । समाजवादी दर्शनद्वारा रुपान्तरित चेतनाले युरोपमा महिलाहरूको हकलाई स्थापित गरायो । औद्योगिक क्रान्तिदेखि संसारभरिका राजनैतिक क्रान्तिको अग्रगामी बहावमा यही दर्शनको ठुलो प्रभाव रहेको छ । संसारभरिका परम्परावादी तथा धार्मिक शासकहरू समेत वर्गसङ्घर्षको छालबाट आफ्नो शासन जोगाउने धुनमा अधिकतम प्रगतिशील सुधार गर्न बाध्य भए । त्यसैले आधुनिक दर्शनले अधिक मानिसहरूको हितमा प्रयोगसिद्ध मान्यताहरूको आधारमा टेकेर विश्वका चराचरहरूको सेवा गर्न सक्नु पर्दछ । अबको लागि मानवीय हित र समाज विकासको गतिलाई रुपान्तरित गर्दै मानव चेतनाको सशक्तिकरण गर्ने दर्शनको आवश्यकता छ । त्यसैले समयसापेक्ष परिवर्तनको लागि दर्शनको विकासबारे संसारभरि बहस चल्न थालेको छ जुन आफैमा सकारात्मक कुरा हो ।

मानव चेतनाले समाज विकास र विज्ञानबीचको यथार्थ चित्र उतार्न सक्यो भने कुनै पनि दर्शन विकसित हुँदै जान्छ । संसारभरिका भौतिकवादी दार्शनिक तथा २१औँ सताब्दिका सबै बामपन्थी नेताले आफूलाई विज्ञानमा नयाँ आविष्कारहरूले मारेको फड्को र त्यसको अनुकुल हुने गरी दर्शनको विकास गर्न बहस कलाको विकास अहिले खड्केको समस्या हो । माक्र्सवादको दर्शन विकासमा पुरानो कार्यनीति र रणनीतिका केही सारबाहेकका तात्कालिक मान्यताहरूमा परिवर्तनसँगै विकास आवश्यक मात्र हैन अवश्यम्भावी छ ।

आधुनिक दर्शनको विकास समयअनुकुल हुँदै जानुपर्छ । त्यसैले दर्शनको विकास वैज्ञानिक आविष्कारहरूलाई सम्बोधन नगरी हुनै सक्दैन । उदाहरणको लागि, पुरानो बैदिक इश्वरीय सत्ताको विकल्पमा बुद्धले विज्ञानसम्मत प्रतीत्यसमुत्पाद दर्शनको आविष्कार गरे । जसले मानिसको आत्मा, सृष्टि, मुक्ति र जीव उत्पत्तिका अवैज्ञानिक धारणालाई पूर्ण रूपमा बिस्थापित गरिदियो । महात्मा बुद्धले ईश्वरको सत्तालाई कहिल्यै स्वीकार गरेनन् किनकि उनको विचारमा ‘ब्रमाण्ड प्रतीत्यसमुत्पाद’ नियमानुसार चल्दछ भनेर स्पष्टसँग बताइदिएका छन् । प्रतीत्यसमुत्पादको नियम भन्नाले कारण–कार्यको श्रृङ्खलालाई बुझाउँछ, जसमा आन्तरिक कारण प्रधान र बाह्य कारण कम हुन्छ । यस श्रृङ्खलाका धेरै चक्रहरू छन्, जसलाई बुद्ध दर्शनअनुशार बाह्र अंगमा बाँडिएको छ । अतः बुद्ध दर्शनअनुशार यस ब्रह्माण्डको सुचालक कोही हुँदैन, न त कोही उत्पत्तिकर्ता नै छ । त्यो आन्तरिक संरचनागत प्रक्रियाबाट सञ्चालित छ । किनकि, उत्पत्तिकर्ता भन्ने बित्तिकै ‘अन्त’को आभाष हुन्छ । बुद्ध दर्शनअनुशार ब्रमाण्डको न प्रारम्भ छ न त अन्त नै । त्यो बेलाको बुद्ध दर्शन तात्कालिक परम्परावादी हिन्दुहरूका बीच क्रान्तिकारी दर्शन थियो ।

त्यो बेला मात्र हैन, अहिलेसम्म पनि परम्परावादी हिन्दुहरूले आत्मा अजेय छ भनेर मान्दछन् । तर बुद्ध दर्शनले आत्मालाई मान्दैन । बुद्ध दर्शनको एक मुख्य सार अनात्मवाद हो । अनात्मवादको यो अर्थ हैन कि सत्य रूपमा ‘सुक्ष्म चेत’ छैन । जसलाई मान्छे आत्मा सम्झन्छन्, त्यो चेतनाको अविच्छिन्न प्रवाह हो । यो प्रवाह जहिले पनि बिग्रेर जडमा बिलिन हुन सक्छ, अथवा अन्धकारमा लुप्त हुन सक्छ । त्यसैले बुद्धमार्गीले विपश्यना ध्यानद्वारा आफूलाई चिन्ने कलाको विकास गरे । यो अभ्यासले चेतनालाई बलवान बनाउन मद्धत गर्छ । स्वयम्ले आफूलाई नचिनेसम्म चैतन्य बलवान हुन सक्दैन ।

बुद्ध दर्शनले परिवर्तनलाई प्रतीत्यसमुत्पादको नियमअनुकुल स्वीकार्छ । जसरी आधुनिक विज्ञानले आधारभूत कणहरू अविभाज्य छन् भने इलेक्ट्रोनहरू विभाज्य छन्, संसारको प्रत्येक बस्तु परिवर्तनशील छ, भौतिकशास्त्र परिवर्तनशील छ, न्युटनको भौतिकशास्त्रका नियमहरू परिवर्तनशील छन् भनेर स्विकार्दछ । त्यो बेलाको जड समाजले बुद्धको दर्शनलाई दुत्कार्यो र उनका चेलाहरूलाई धर्मविरोधीको आरोप लगाइयो । तर उक्त दर्शन त्यो कालको युगान्तकारी दर्शन थियो ।

ज्ञान सधैँ गतिवान र विकासशील हुन्छ । हामी ठूलो दुर्बिनद्वारा अझ बढी ताराहरू देख्न सकेझैँ प्रविधिको विकास र तदनुरुप ज्ञानको विकासले दर्शनको ब्याख्याले मानिसलाई उनीहरूको सुन्दर भविष्यतर्फको यात्रा सहज बनाइदिन्छ ।

अहिले विज्ञानको क्षेत्रमा भएका आविष्कारहरूले सामाजिक मान्यताहरूमा जबर्जस्त प्रभाव पारेका छन् । विज्ञानमा सफ्टवेयरको विकास आजभन्दा ५० वर्ष अगाडि कसैले कल्पना गरेको थिएन । कार्ल मार्क्सले पनि आफ्नो दार्शनिक व्याख्यामा सफ्वेयरको सायदै कल्पना गरेका थिए । सफ्टवेयरको विकास परम्परागत भौतिकवाद वा अध्यात्मवाद दुवैका कल्पनाभन्दा बाहिरको विषय थियो । यसको उपस्थितिले परम्परागत दार्शनिक मान्यतालाई सङ्कटमा पारिदिएको छ । सफ्टवेयरको आविष्कार क्वान्टम विज्ञानको देन हो । त्यसैले यो आविष्कारको वास्तविक रहस्य थाहा पाउन क्वान्टम विज्ञानका विषेशताको चर्चा गर्नु जरुरी हुन्छ । मार्क्सवादी दर्शनशास्त्र ‘न्युटनीय विज्ञानको युग’मा निर्माण भएकोले अहिलेको सामाजिक सुचालक र कुचालकहरूबारे भेउ पाउन सकेन । अहिले भौतिक विज्ञान ‘आइन्स्टाइनको युग’ हुँदै क्वान्टम विज्ञानका पनि अनेकौँ संस्करण भएर गुज्रिरहेको छ । (प्रकाश सानो, अविभाज्य इकाइहरू, वा क्वान्टा, ऊर्जाबाट बनेको छ, जसलाई हामी फोटानहरू भन्छौँ ।) कतिपयले त यो तर्क गर्न प्रयोग गरेका छन् कि क्वान्टम संसार मानव चेतनाबाट प्रभावित छ, यसले हाम्रो दिमागलाई एजेन्सी र ब्रह्माण्डको ओन्टोलजी (ओन्टोलजी दर्शनको शाखा त्यो हो जसले अस्तित्व, हुनु र वास्तविकता जस्ता अवधारणाहरूको बारेमा अध्ययन गर्दछ)मा स्थान दिन्छ । हाम्रो दिमाग पनि क्वान्टम मेसिनद्वारा कम्प्युटरझैँ ह्याक गर्न सकिन्छ भन्ने कुरा पनि वैज्ञानिकहरूले हालसालै बहसमा ल्याएको विषय हो ।

बिग डाटाको विकास, कम्प्युटरको गणना गर्ने क्षमतामा गुणात्मक फड्को, एआईको विकास एवं जैविक रासायनिक र जैविक प्राविधिक क्षेत्रमा देखिएको फड्कोका कारण अबको सामाजिक–आर्थिक रूपान्तरणको स्वरूप विगतको भन्दा नितान्त भिन्न हुनेछ । अबको प्रधान अन्तरविरोध पनि सफ्टवेयरका मालिक र राज्य, प्रविधि सम्पन्न देश भर्सेज तेश्रो विश्व र उपभोक्ताबीच हुने देखिन्छ । संसारभर अबको राजनैतिक तथा सूचना नियन्त्रण सफ्टवेयर मालिकहरूले आफ्नो हितमा गरे भने अन्यथा मान्नु पर्दैन ।

धेरै वर्षदेखि मार्क्सवादको विकास रोकिएको छ । यो दर्शनको प्रयोगमा आएको अवरोधले मात्र दर्शनको विकास रोकिएको हो वा अन्य कारणले ? बहस समेत रोकिएको छ । त्यसैले मार्क्सवादले भौतिक विज्ञानको आधुनिक चरण, त्यसले समाज विकासमा पार्ने असर र अबका प्रमुख अन्तरविरोधहरूबारे बहस गर्न डरायो वा दर्शन विकासको नयाँ चरणबारेको बहसलाई पुरानो बाटोमा अल्मल्याइरह्यो भने मार्क्सवादको बाटो अवरुद्ध हुन्छ र यो दर्शनको पनि मृत्यु हुन्छ । त्यसैले चीनियाँ कम्युनिष्ट पार्टीका नेता तथा आधुनिक चीनका निर्माता माओ त्सेतुङले भनेका छन्, ‘मार्क्सवादको पनि जन्म, विकास र मृत्यु हुन्छ । मार्क्सवादको मृत्युको अर्थ मार्क्सवाद भन्दा उच्च कुनै दर्शनले त्यसको प्रतिस्थापना गर्नेछ ।’

अहिले फेसबुक र ट्वीटर गायत सफ्टवेयरका मालिकहरूले अमेरिकाको केन्द्रिय सरकार मात्र नभएर संसारकै सूचना साम्राज्यलाई आफ्नो नियन्त्रणमा लिने खतरा देखिएको छ । त्यसको बिकल्पमा समाजवादीहरूले अर्को सफ्टवेयर विकास नगरी उनीहरूको सूचना चङ्गुलबाट निस्कने विकल्प हुँदैन । अमेरिकाका राष्ट्रपतिलाई समेत सफ्टवेयरका मालिकहरूले कारवाही गर्न सक्ने अवस्थाले राज्यको नेतृत्व र सञ्जालको नेतृत्वबीच नयाँ खालको अन्तरविरोधले भोलि कस्तो रूप लिने हो यसै भन्न सकिन्न ।

अन्तमा, वैज्ञानिक आविष्कारहरूको उपयोग गर्दै समाज दर्शनको विकास गर्न निरन्तर छलफल, प्रयोग र प्रतिक्रियाहरूको आवश्यकता रहन्छ । दर्शनको विकासमा उन्नत प्रविधिको प्रयोगले समाजिक चेतनामा परेको असर र त्यसले जन्माएको अन्तरविरोध नबुझिकन नयाँ आयामबाट माक्र्सवादको विकास असम्भवप्रायः छ ।

हाम्रो अहिलेको राजनीतिक अवस्थामा हामी सबैले तलका केही चिनियाँ र केही नेपाली बुद्धियुक्त ज्ञानबाट सिक्नु पर्छ होला ।

१. यदि कुनै राष्ट्रले राष्ट्रियता गुमायो भने त्यसले राष्ट्रिय पहिचान गुमाउँछ । के हो हाम्रो राष्ट्रिय पहिचान ? राजनीति आडम्बर, सत्ताका लागी प्रतिस्पर्धा र कसले कसलाइ कहाँ सिध्याउँछ भन्ने अनिश्चितता हाम्रो पहिचान बनेको छ विगत ३० वर्षदेखि ।

२. ‘प्रकाश अँध्यारोमा बढी चम्कन्छ ।’ यो चिनियाँ भनाइ राजा र नेताका लागि थियो । सङ्कटमा सबैलाई समेटेर अगाडि बढ्ने नेताको इतिहास बन्छ ।

३. ‘क्रान्ति प्रेमको जगमा उभिएको महान काम हो । पहिला जनतालाई माया गर्न सिक्नुहोस् । अनि देशलाई पनि त्यत्तिकै माया गर्न सक्नुहुन्छ र अनि मानवतालाई पनि माया गर्न सिक्नुहुन्छ । ‘चि ग्वेभाराको यो भनाइ हाम्रा कति नेताहरूले बोक्नुभएको छ । राम्रो राजनीतिमा त सत्ताको मोह मात्र राजनीतिको पहिचान बन्न पुग्यो ।

४. ‘मानिसको हारजीत वा सफलता र असफलता उसकै प्रवृत्तिको परिणामको रुपमा आउँछ । ‘ताओवादी यो भनाइले मानिसको शत्रु बाहिर अरु होइन आफैंभित्र हुन्छ भन्ने ठान्छ । तपाईंले अरुलाई ठेल्दा आफ्नै बलको क्षति हुन्छ । तपाईंले अरुलाइ अँगालो हाल्दा तपाईंमा बल थपिन्छ । रास्ट्रका लागि एकताले जनताको समृद्धि निर्माण हुन्छ । सत्ताको प्रतिस्पर्धाले राष्ट्रको जग हल्लिन्छ ।

५. ‘पानीले जहाजलाइ त्यस्र्याउँछ तर त्यही पानी सुक्यो भने जहाज जमीनमा धसिन्छ ।’ यो चिनियाँ भनाइले जनताको जगमा उभिएको राजनीतिलाई इङ्गित गर्छ । जनताको धरातल बिर्सीने राजनीति धरातलमा भासिन्छ ।

६. सबै मानिस असल हुन्छन्, तर कोही विवेकी र भद्र हुन्छन् । यस्ता मानिसका वरिपरि दुनियाँले प्रेमको बर्षा गर्छ । ‘कन्फुसियसको यो भनाइ सकारात्मक सोचले दुनियाँ बदल्ने गुणिलाई इङ्गित गर्छ जसले नडराइ गलत र सहीको परख गर्छ । नेपालमा यस्तो गुणको खडेरी छ ।

७. ‘अरुलाई राम्रोसँग चिन्नु राम्रो गुण हो । आफैंलाई राम्रोसँग चिन्नु बुद्धि र सीपको संयोग हो ।’ यो बुद्ध दर्शनको भनाइ शासकप्रति लक्षित हो । हाम्रा कति नेताले आफ्नो खुबी बुझेका होलान् !

८. ‘ताकतको लोभले मानिसलाई लथालिङ्ग पार्छ ।’ लाओ जुको यो भनाइ अरुभन्दा आफुलाइ ठूलो र विशेष बनाउन खोज्ने मनिस प्रती लक्षित छ । यदि ठूलो हुने मन छ भने अरुको सेवामा आफुलाइ समर्पित गर्नुपर्छ ।

९. ‘अरुलाइ नियन्त्रण गर्न चाहनुहुन्छ भने तपाईंमा घमण्ड भरिन्छ । आफुलाई नियन्त्रण गर्न थाल्नुहोस तपाईं शक्तिशाली बन्नुहुन्छ ।’ लाओको यो भनाइ राजाप्रति लक्षित थियो । अहिले शासकमा लागू हुन्छ ।

१०. ‘हिउँ हाँसले सेतो हुन नुहाउनु पर्दैन ।’ असल नेताले असल छु भनेर बताइरहनु पर्दैन । दुनियाँले आफैं जान्दछ । ‘जब घोडाले जमिनमा लडिबुडी गर्छ, उसका शरीरमा धुलो लाग्छ ।’ यो चिनियाँ भनाइ हाम्रा नेताहरूमा लागु हुन्छ ।

११. यदि तपाईंले दिशा बदल्नुभएन भने मान्नुहोस तपाईंको यत्रा अब समाप्त भयो । ‘जब बस्नु हुन्छ, माथि होइन जमिनको नजिकै बस्नुहोस् । ता कि पछरिँदा चोट नलागोस् ।’ यो क्न्फुसियसको हाम्रा नेतालाई सल्लाह हो ।

‘धेरैजसो मानिस आफ्नो कर्ममा अन्तिमतिर आइपुग्दा असफल हुन्छन् ।’ लाओको यो भनाइलाई हाम्रा नेताहरूले ख्याल गरून् ।

१२. ‘यदि तपाईं बदला लिने राजनीति गर्दैहुनुहुन्छ भने दुईवटा चिहान खन्नुहोस् किनकि एउटा तपाईंलाई चाहिन्छ ।’ कन्फुसियसले यो भनाइ सायद हाम्रा झोले मित्रहरूका लागि भनेका थिए ।

१३. ‘साँचो ज्ञान तपाईंले आफ्नो अज्ञानता पत्ता लगाउनु हो ।’ कन्फुसियसको यो भनाइ हाम्रा नेतालाइ थियो, सायद ।

१४.‘बुद्धिमानले आजलाई हेरेर आफ्नो भोलि ठ्म्याउन सक्छ ।’ सबैले सोच्नु राम्रो तपाईं आज के गर्दै हुनुहुन्छ ।

१५. ‘जसरी रुखको पहेँलिएको पात जमिनमा खस्छ, मानिसको महत्वकांक्षा पनि यस्तै हो ।’ महवीरको यो भनाइ पनि धेरै नेताले ख्याल ख्याल गर्दा राम्रै होला ।

यी भनाइमा पनि झोलेमित्रका अपशब्द वर्षन सक्छन्, तर पनि मानिसले बोल्न छोड्नु हुन्न ।