ओमानस्थित नेपाली राजदूतावासले साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौंको सेरोफेरोका महत्वपूर्ण र मनमोहक पर्यटकीय गन्तव्यका बारेमा जानकारी दिने अभिप्रायले आफ्नो नेपाल भ्रमणको अनुभव समेटेर अरबी भाषामा नियात्रा लेखी नेपाली पर्यटन र साहित्यिक क्षेत्रमा पुऱ्याएको योगदानस्वरूप ओमानी नागरिक स्व. मोहम्मद अल हार्थीलाई मरणोपरान्त सम्मान गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
शनिबार आयोजित कार्यक्रममा ओमानस्थित नेपाली राजदूत शर्मिला पराजुलीले स्व. हार्थीको नेपाल भ्रमण तथा लेखनबारे प्रकाश पार्दै हार्थीको सम्मानमा वनकी छोरी तथा बालचित्र पुस्तक लेखिका एवं प्रकाशक इब्तिहाज अल हार्थीलाई सम्मानपत्र प्रदान गगरिन् । साथै उनले स्व हार्थीप्रति समर्पित वेबसाइटको शुभारम्भ पनि गरेकी थिइन् ।
कार्यक्रममा प्रा तुल्सी दिवसले स्व ओमानी लेखकप्रति सम्मान व्यक्त गर्ने अवसर प्राप्त भएकामा खुशी व्यक्त गर्दै कविताका माध्यमबाट मानिसलाई कसरी प्रकृतिसँग आबद्ध गर्न सकिन्छ भन्ने सम्बन्धमा आफ्ना विचार व्यक्त गरे । मध्यपूर्वको मरुभूमि Empty Quarter पार गरेकी ओमानी नागरिक बैदा अल जद्जाली तथा जेनी मेक्गीलले आफ्नो साहसिक यात्राका बारेमा अनुभव बाँड्दै स्व हार्थीको लेखनबाट नेपालको बारेमा जान्ने मौका प्राप्त भएको बताए ।
कवि नवराज पराजुलीले पुस्तक भाषानुवादसम्बन्धी आफ्ना अनुभव साट्दै मोहम्मद अल हार्थीको योगदानबारे प्रकाश पारे । कार्यक्रममा प्रथम ओमानी महिला सगरमाथा आरोही नादिरा अल हार्थी, इन्टरनेशनल डिप्लोमेसी एण्ड प्रोटोकल अध्ययन संस्थानका अध्यक्ष श्री इनेस पिरेस, लेखिका लक्ष्मी कोथानेथ लगायत करिब ५० जनाको सहभागिता थियो ।
प्रतिक्रिया