बागलुङ-घटनामा कांग्रेसको सवाल- ‘भिरबाट धकेलेर हत्या गरियो या हत्यापछि भीरमा फालियो ?’

बागलुङ-घटनामा कांग्रेसको सवाल- ‘भिरबाट धकेलेर हत्या गरियो या हत्यापछि भीरमा फालियो ?’


नेपाली कांग्रेसले बागलुङको गुल्मी र प्यूठानसंँगको सिमाना बल्देधुरीमा आइतबार भएको घटना अत्यन्तै निन्दनीय भएको जनाएको छ ।

कांग्रेस विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत घटनामा होली खेल्ने क्रममा नै भएको असमझदारी र आवेगको परिणाममा दुई युवाको हत्या भएको हो या यसका पछिल्तिर योजनाबद्ध षड्यन्त्र छ, अनुसन्धान गरी दोषीहरुलाई अविलम्ब पक्राउ सरकारसँग माग गरेका छन् ।

घटनामा प्रकाश कुँवर र दीपक नेपाली दुई युवाले जीवन गुमाएका छन् । कुँवर कांग्रेस बागलुङका जिल्ला सदस्य हुन् भने दीपकचाहिँ कांग्रेसका सक्रिय सदस्य रहेका बताइएको छ । दुवै युवाको मृत शरीर भिरबाट करीब ४०० मिटर तल भेटिनुले हत्यापछि फालिएको या भिरबाट धकेलेर हत्या गरिएको स्थिति देखिएको प्रवक्ता शर्माको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरी अनुसन्धानलाई तीव्र बनाएर दोषी उम्कन नदिन तदारुकताका लागि कांग्रेसले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । घटनाको वास्तविक विवरण लिन, स्थानीयवासीसँग संवाद गर्न र जीवन गुमाएका युवाका परिवारजन भेट्न कांग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापा र पूर्व सभापति प्रकाश शर्मा पौडेलसहित पार्टीको टिम आज बिहान घटनास्थल प्रस्थान गरेको प्रवक्ता शर्माले जानकारी गराएका छन् ।

घटनाको वास्तविकता सार्वजनिक गर्दै दोषीलाई पक्राउ गरेर कडा कानूनी कारवाही अघि बढाउन कांग्रेसले माग गरेको छ ।