राखेप कर्मचारीद्वारा आर्थिक सहयोग

राखेप कर्मचारीद्वारा आर्थिक सहयोग



हालै दिवंगत भएका राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक सुदेशकुमार रिमालको परिवारलाई राष्ट्रिय खेलकुद परिषदका कर्मचारीहरूले आर्थिक सहयोग प्रदान गरेका छन् ।

राखेपमा कार्यरत स्थायी कर्मचारीको फागुन महिनाको तबलबाट प्रति कर्मचारी १.५ प्रतिशत तलब कट्टा गरी हुन आउने २ लाख ९ हजार ३३ रुपैयाँ छयालीस पैसा रिमालका परिवारलाई हस्तान्तरण गरिएको हो । राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले रिमालकी धर्मपत्नी रश्मीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

भलिबलका वरिष्ठ प्रशिक्षक समेत रहेका रिमालको गत पुस ११ गते निधन भएको थियो । राखेपमा बहाल रहेकै अवस्थामा कुनै पनि कर्मचारीको मृत्यु भएमा स्थायी कर्मचारीको एक महिनाको १.५ प्रतिशत तलब कट्टा गरी परिवारलाई विगत १० वर्षदेखि आर्थिक सहयोग उपलब्ध गराउँदै आइएको छ ।