माधव नेपाल र भीम रावल ६ महिनाको निम्ति पार्टीबाट निलम्बित

माधव नेपाल र भीम रावल ६ महिनाको निम्ति पार्टीबाट निलम्बित



ब्यवहार नसच्याए थप कडा कारवाही गरिने

नेकपा (एमाले)ले पार्टीका दुई नेता माधवकुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेको छ । पार्टीको हित विपरीतको गतिविधि गरेको तथा पार्टीले सोधेको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल र रावललाई पार्टी सदस्यताबाट निलम्बन गरेका हुन् ।

दुवै नेतालाई निलम्बन गरिएको सम्बन्धमा पार्टीअध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहित दुई दुई पृष्ठको पत्र दिइएको छ ।

वरिष्ठ नेताको तहमा रहेका नेपाल र पूर्वउपाध्यक्ष रावललाई सच्चिनका लागि समय दिइएको र आफ्ना क्रियाकलापमा सुधार गरेर पार्टीको पक्षमा लाग्न आग्रह गरिएको छ ।

दुवै नेतालाई लेखिएको निलम्बन पत्रमा ‘स्पष्टीकरण बुझाउँदा कुनै गल्ती स्वीकार नगरी अहंकार र आत्मकेन्द्रित कुराहरू लेखेको उल्लेख गर्दै ६ महिना अवधिबीच पनि नसच्चिए थप कारबाही हुने’ चेतावनी दिइएको छ ।

नेता नेपालको लागि लेखिएको निलम्बन पत्रमा अध्यक्ष ओलीले लेखेका छन्- ‘तपाईंले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला तथा पार्टीका कुभलो चिताउनेहरूसँग निरन्तर बैठक, भेटघाट गर्ने र उनीहरूको पक्षपोषण गर्ने कार्य निरन्तर गरिरहनु भइ उक्त कार्यलाई निरन्तरता दिने स्वीकारोक्ति सहित अहंकार र आत्मकेन्द्रित कुरा उल्लेख गरी स्पष्टिकरणको जवाफ दिएको देखियो ।’

पार्टीविरोधी, फाटोवादी र गुटगत क्रियाकलाप नेकपा (एमाले)कै नाममा गरिएको र त्यसलाई आगामी दिनमा निरन्तरता दिइरहनेतर्फ अग्रसरता देखिएको, पार्टीका लागि एकताका लागि भन्दै भ्रम फिजाएर कार्यकर्ता फसाउने र आफ्ना गलत उद्देश्य तथा मनसायका निम्ति दुरुपयोग गर्ने सम्भावना देखिएको निलम्बन पत्रमा उल्लेख छ ।

‘पार्टीविरोधी गतिविधि बन्द गर्न र सही बाटोमा फर्किने मौका दिन एकैपटक कडा कारवाही गर्नुभन्दा हाललाई दशौँ महाविधेशन आयोजक कमिटी सदस्य र पार्टी सदस्यबाटै पार्टीको विधान २०४९(संशोधन २०७१ समेत) को धारा ४९ ख बमोजिम हाललाई ६ महिनाका लागि निलम्बन गरिएको’ स्पष्ट पारिएको छ ।

यस्तै, नेता रावललाई स्पष्टिकरणमा सोधिएअनुसार आफ्नो भूलत्रुटीको स्वीकारोक्ती नगरेको, कुनै आत्मसमीक्षा नगरेको, आत्मआलोचना गर्ने कुनै प्रवृत्ति नदेखिएको, अहंकार आत्मकेन्द्रित र स्वार्थी प्रवृत्ति प्रष्ट रुपमा देखियो भन्ने निलम्बन पत्रमा उल्लेख छ । ‘आफ्नो स्वार्थको लागि देश जनता र पार्टीको हितलाई जस्तोसुकै क्षति पु¥याउन तयार भएको आपराधिक मनोवृत्ति प्रष्ट रुपमा थप पुष्टी भएको यही चैत ८ गते पेश गरिएको स्पष्टिकरणको जवाफमा देखिएको’ निलम्बन पत्रमा उल्लेख छ ।

ज्ञातव्य छ, केही दिनअघि बसेको एमाले केन्द्रीय कमिटीको बैठकले पार्टीभित्र आवश्यक निर्णय गर्ने अधिकार अध्यक्षलाई दिएको थियो ।