थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि नेपाललाई

थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि नेपाललाई


त्रिदेशीय कप फुटबलको उपाधि नेपालले जितेको छ । फाइनल खेलमा नेपालले बङ्गलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको हो । नेपालका लागि सन्जोग राई र विशाल राईले गोल गरेका हुन् ।

नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । उपाधिसँगै नेपालले पाँच हजार डलर पुरस्कार प्राप्त गर्‍यो भने उपविजेता बङ्गलादेशले तीन हजार डलर प्राप्त गर्‍यो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न फाइनल खेलमा नेपाली टोलीले शुरुआतदेखि नै बङ्गलादेशविरुद्ध आक्रामक खेलेको थियो । खेलको १८औँ मिनेटमा सन्जोग राईले नेपालका लागि पहिलो गोल गरेका हुन् । उनी आफ्नो दोस्रो अन्तर्राष्ट्रिय खेलमा नै गोल गर्न सफल भएका हुन् । यस्तै, खेलको ४२औँ मिनेटमा विशाल राईले नेपालका लागि दोस्रो गोल गरेका हुन् ।

खेलको १३औँ मिनेटमा नेपाल गोल गर्नबाट चुक्यो । खेलको १६औँ मिनेटमा बङ्गलादेशी खेलाडीले रोहित चन्दलाई मैदानमा लडाएपछि नेपालले फ्रि किकको मौका पाएको थियो । अनन्त तामाङले हानेको बल गोलपोष्ट बाहिर पुग्यो ।

यस्तै खेलको २५औँ मिनेटमा नेपालले फ्रि किकको अवसर पाएको थियो । खेलको २८औँ मिनेटमा बङ्गलादेशले गोल गर्ने मौका पाएको थियो । उक्त प्रयास नेपाली टोलीका गोलकिपर किरणकुमार लिम्बुले विफल पारे । खेलको ३०औँ मिनेटमा अन्जन विष्टले गोल गर्ने उत्कृष्ट मौका गुमाए भने ३१औँ मिनेटमा विशाल राई गोल गर्नबाट चुके ।

नेपालले मध्यान्तरअघिको खेलजस्तो आक्रामक खेल मध्यान्तरपछि खेल्न सकेन । फलस्वरुप बङ्गलादेशले खेलको ८३औँ मिनेटमा एक गोल गर्न सफल भयो । बङ्गलादेशका लागि रहमानले हेडमार्फत सान्त्वना गोल गरेका थिए ।

नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि दशरथ रंगशाला पुगेका थिए ।

ज्ञातव्य छ, किर्गिस्तान टोलीसँग गोलरहित बराबरी खेलेको नेपाल बंगलादेशसँग बराबरी खेल्दै फाइनल पुगेको थियो । नेपालले सन् २०२२ मा कतारमा हुन लागेको फिफा विश्वकप तयारीका लागि त्रिदेशीय प्रतियोगिता आयोजना गरेको हो ।