साहित्यकार कृष्णप्रकाश श्रेष्ठको निधन

साहित्यकार कृष्णप्रकाश श्रेष्ठको निधन


  • घटना र विचार युरोप सम्वाददाता

नेपाली साहित्याकाशमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएका साहित्यकार कृष्णप्रकाश श्रेष्ठको मास्कोस्थित एक अस्पतालमा उपचारका क्रममा सोमबार (२९ मार्च) निधन भएको छ । करिव एक महिनाअघि उहाँमा कोरोना भाइरसको संक्रमण भएको थियो भने त्यसपछि उहाँमा अन्य स्वास्थ्य समस्याहरू बल्झिँदै गएका थिए ।

कृष्णप्रकाश श्रेष्ठको जन्म वि.सं. १९९५ मंसिरमा काठमाडौंको चुनिखेलमा भएको थियो । सोभियत संघमा अध्ययन गर्न जाने शुरुका नेपाली विद्यार्थीमध्येका उहाँ एक हुनुहुन्थ्यो ।

मास्को लोमोनोसोभ विश्वविद्यालयबाट सन १९६३ मा पत्रकारितामा स्नातकोत्तर उपाधि हासिल गरेलगत्तै उहाँ त्यसबेला भरखरै स्थापित रेडियो मास्कोको नेपाली कार्यक्रममा समाचारवाचक हुनुभयो । सोही वर्षदेखि सोभियत संघको विघटनपश्चात सन् १९९३ मा नेपाली सेवा बन्द नहुँदासम्म अविच्छिन्न रूपमा उहाँले सो सेवाको संचालकको रूपमा काम गर्नुभयो । त्यसपछिका वर्षहरूमा उहाँ रुसको प्राच्यविद्या संस्थानसँग सम्बद्ध हुनुहुन्थ्यो र त्यसैमार्फत आफ्ना साहित्यिक गतिविधिलाई निरन्तरता दिइरहनुभएको थियो।

उहाँ नेपाली साहित्यका एक परिचित र खासगरी साहित्यिक अनुवाद क्षेत्रमा स्थापित ब्यक्तित्व हुनुहुन्थ्यो । उहाँले विश्वप्रसिद्ध रूसी साहित्यकारहरू लियो टाल्स्टाय, अलेक्सान्द्र पुश्किन, मिखाइल लेर्मोन्तोभ लगायत अन्य कैयनका रचनाहरूको नेपाली भाषामा अनुवाद गरेर नेपाली साहित्यप्रेमीहरूलाई रुसी साहित्यको परिचय दिनुभएको थियो भने नेपाली साहित्यिक कृतिहरूको पनि रूसी भाषामा अनुवाद गरेर रुसमा नेपाली साहित्यको प्रचार गर्नमा महत्वपूर्ण योगदान दिनुभएको थियो।

उहाँका कैयन मौलिक रचनाहरू नेपालमा प्रकाशित भएका छन् जसमध्ये रुसमा नेपालको छबि, नेपाली समालोचक र समालोचना, नेपालभाषा साहित्य, नेपाली किम्बदन्तीमाला आदि प्रसिद्ध छन् । नेपालमा पशुपंक्षीको पूजा, यमलोकमा जिउँदोमान्छे (नेपाली दन्त्य कथा), लँगडाको साथी (लैनसिंह बाङ्देल), नेवारी साहित्य आदि उहाँले रुसी भाषामा सोभियत संघ र रुसमा प्रकाशित गरेका पुस्तकहरू हुन् ।

अनुवाद साहित्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले उहाँले नै मास्कोमा विश्वभाषा अनुवाद संस्थाको पनि स्थापना गर्नुभएको थियो जसमा मास्कोमा अध्ययनरत नेपाली विद्यार्थीहरू पनि सहभागी भएका थिए ।

राजनीतिक क्षेत्रमा उहाँले मार्क्सवादी साहित्यका चर्चित ग्रन्थहरू नेपाली भाषामा अनुवाद गरेर ख्याति कमाउनुभएको थियो । उहाँले मार्क्स र एञ्जेल्सद्वारा प्रतिपादित ‘द्वन्दात्मक भौतिकवाद’ दर्शनबारे रुसमा प्रकासित पुस्तक र लेनिनका थुप्रै रचनाहरुको नेपालीमा अनुवाद गर्नुभएको थियो । सोभियत कालदेखि नै त्यहाँको समकालिन राजनीतिक, सामाजिक, साहित्यिक गतिविधि र जनजीवनबारे उहाँका रचनाहरू नेपाल तथा सोभियत संघ र रुसका पत्रपत्रिकाहरूमा नियमित रूपमा प्रकाशित भइरहन्थे ।

विदेशमा बसेर नेपाली भाषा र साहित्यको विकासमा दिएको अतुलनीय योगदानवापत उहाँलाई विस २०५९ सालको जगदम्बाश्री पुरस्कारले सम्मानित गरिएको थियो। रुसमा पनि उहाँलाई पुश्किन स्वर्णपदक प्रदान गरिएको थियो।

उहाँकी धर्मपत्नी श्रीमती इरिना श्रेष्ठ सन २०१८ मा दिवंगत हुनुभएको थियो । उहाँकी दुई छोरी जान्ना श्रेष्ठ र मारिना श्रेष्ठ छन् र जेठी छोरी जान्ना श्रेष्ठका तर्फबाट नाति अनन्त उपाध्याय र नातिनी एलिजा उपाध्याय छन् ।