नेकपा (एमाले)को प्रदेश कमिटी हेरफेर

नेकपा (एमाले)को प्रदेश कमिटी हेरफेर



नेता भुषालद्वारा स्पष्टिकरण पेश

नेकपा एमालेले प्रदेश कमिटीको जिम्मेवारी हेरफेर गरेको छ । जसअनुसार प्रदेश-१ को इन्चार्जमा सुवास नेम्बाङ, सहइन्चार्जमा लालबाबु पण्डित, भानुभक्त ढकाल, शेरधन राई, गुरु बराल, टङ्क आङबोहाङ, राजेन्द्र गौतम तथा प्रदेश अध्यक्षमा देवराज घिमिरे र सचिव विनोद ढकाल रहेका छन् ।

यस्तै, प्रदेश–२ को इन्जार्च सत्यनारायण मण्डल, सहइन्चार्ज लीला श्रेष्ठ तथा प्रदेश अध्यक्षमा प्रभु साह र सचिव सुमन प्याकुरेल रहेका छन् ।

यसैगरी वागमती प्रदेशमा इन्चार्ज रामबहादुर थापा, सहइन्चार्जमा काशीनाथ अधिकारी, शेरबहादुर तामाङ, कृष्णगोपाल श्रेष्ठ तथा प्रदेश अध्यक्षमा आनन्द पोखरेल र सचिवमा खेम लोहनी रहेका छन् ।

गण्डकी प्रदेशको इन्चार्जमा पृथ्वीसुब्बा गुरुङ, सहइन्चार्जमा किरण गुरुङ, पदमा अर्याल, लिलबहादुर थापामगर तथा प्रदेश अध्यक्षमा जगत विश्वकर्मा र सचिवमा गोविन्द नेपाली रहेका छन् भने लुम्बिनी प्रदेश इन्चार्जमा शङ्कर पोखरेल, सहइन्चार्जमा मणिचन्द्र थापा, दलबहादुर राना, बैजनाथ चौधरी, गिरधारीलाल न्यौपाने तथा प्रदेश अध्यक्षमा लीला गिरी र सचिवमा खेममान खड्का रहेका छन् ।

कर्णाली प्रदेश इन्चार्जमा यामलाल कँडेल, सहइन्चार्जमा लक्ष्मी पोखरेल, गुलावजङ्ग शाह तथा प्रदेश अध्यक्षमा गोरख बोगटी र सचिवमा धर्मराज रेग्मी रहेका छन् ।

यस्तै सुदूरपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्ट, सहइन्चार्जमा गणेश ठगुन्ना र नारदमुनी राना तथा प्रदेश अध्यक्षमा कर्णवहादुर थापा र सचिवमा राजेन्द्रसिंह रावल रहेका बताइएको छ ।

यसैबीच एमालेका ओलीविरोध नेताको छवि बनाएका नेता घनश्याम भूषालले पार्टीले सोधेको स्पष्टिकरणको जवाफ पेश गरेका छन् । पार्टीअध्यक्ष केपी शर्मा ओलीलाई पार्टीले सोधेको स्पष्टिकरणको जवाफ लेख्दै भुषालले मंगलबार पत्र पेश गरेको पार्टी मुख्यालयका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिएका छन् ।

यसअघि पार्टीका नेता माधवकुमार नेपाल र भीम रावलले स्पष्टिकरणको जवाफ दिएका थिए भने स्पष्टिकरणको जवाफ चित्तबुझ्दो नभएपछि उनीहरु दुवै जनालाई अध्यक्ष ओलीले ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गरेका छन् ।

यही चैत ७ गते बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले पार्टीविपरीतका गतिविधि गरेको भन्दै भूषालसहित पार्टीका नेता नेपाल, रावल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । यही चैत ८ गते महासचिव ईश्वर पोखरेलले पत्र लेख्दै उनीहरु चारै जना नेतालाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै एमालेको विधानको दफा ४९ को १, २, ३, ४, ५, ६, ७, ९ र १४ अनुसार कारवाही किन नगर्ने भन्दै स्पष्टिकरण सोधेका थिए ।

स्पष्टिकरणको जवाफमा भूषालले आफू पार्टीविरोधी गतिविधि नगरेको र नवौं राष्ट्रिय महाधिवेशनको निर्णय र निर्देशन तथा पार्टी विधान र पद्धतिमा रहेको जवाफ पठाएका थिए ।