एमालेमा अर्का ‘सीपी’ बन्दै माधव !

एमालेमा अर्का ‘सीपी’ बन्दै माधव !



पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका पूर्व वरिष्ठ नेता माधवकुमार नेपाल राजनीतिक रूपमा जीवनमै सबभन्दा ठूलो सङ्कटको सामना गर्दै हुनुहुन्छ । ६ महिनाका निमित्त नेपालसहित उहाँका खास हितैषी मानिएका भीम रावलको समेत पार्टी सदस्यता निलम्बनमा परेपछि सङ्कटको नयाँ शुरुवात भएको हो ।

प्राप्त जानकारीअनुसार शुरुमा केपी शर्मा ओलीले साना-ठूला सत्र नेतालाई कारवाही गर्ने मानसिकता बनाउनुभएको थियो । तर पछि उहाँले सोच बदलेर चार जना (माधव नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाल) लाई मात्र कारबाही गर्ने तय गर्नुभएको र, सोहीअनुरुप स्पष्टिकरण मागिएको थियो । नेपाल र रावलले दिएको स्पष्टिकरणमा आफ्ना गल्ती स्वीकार गरी आत्मालोचनासम्म नगरिएपछि उहाँहरूलाई ६ महिनाका निम्ति पार्टीबाट निलम्बन गरिएको छ । सुरेन्द्र पाण्डे र घनश्याम भुसालले स्पष्टिकरण नदिएपछि चौबिस घण्टाको समय-सीमा राखेर अर्को स्पष्टिकरण मागिएकोमा मंगलबार (चैत १७ गते) उहाँहरूले आफ्नो स्पष्टिकरण दिनुभएको छ । आफ्ना विगतको भूमिकाप्रति आत्मालोचना नगरिए उहाँहरूलाई पनि कारबाही गर्ने मानसिकता पार्टी अध्यक्ष ओलीले बनाउनुभएको बुझिएको छ ।

नेकपा एमालेको सङ्गठन निर्माणमा पञ्चायतकालदेखि नै विशिष्ट योगदान पुऱ्याउनुहुने पाण्डेलाई कारबाही गराउन उक्त पार्टीको दोस्रो पुस्ताका केही नेताहरू विशेष किसिमले लागिपरेको बताइन्छ । तर अधिकाङ्श युवा नेताहरू सुरेन्द्र पाण्डेमाथि कारबाही नहोस् भन्ने चाहना राख्दछन् । युवा पङ्क्तिको यस्तो चाहनालाई निस्तेज तुल्याउन केहीले ‘मूख्य षडयन्त्रकारी नै सुरेन्द्र भएको’ भनी केपीलाई सुनाउने गरिरहेका छन् । त्यसैले स्पष्टिकरणको ब्यहोरा हेरेर ‘उचित’ निर्णयमा केपी पुग्नुहुने बताइएको छ ।

प्रधानमन्त्री केपी ओलीविरुद्ध सबैभन्दा उद्दण्ड ढङ्गले प्रस्तुत हुँदै आएकी समानुपातिक सांसद रामकुमारी झाँक्रीलाई उनको आगामी क्रियाकलाप हेरेर कस्तो किसिमको कारबाही गर्ने हो सो तय हुने सम्वद्ध सूत्रले जनाएको छ । रघुजी पन्त र योगेश भट्टराई पनि केपी ओलीविरुद्ध उत्तेजित ढङ्गले जाइलाग्नेमा पर्दछन् । पन्तले पछिल्लो समयमा मौनता कायम गरेको भए पनि योगेश भट्टराईले भने बाहिर-बाहिर केपीको विरोध गर्दै आन्तरिक रूपमा केपीसँग समझदारी बनाएको बुझिएको छ । उता राजेन्द्र पाण्डेले चाहिँ आफू सहयोगी भूमिका निर्वाह गर्न तयार रहेको जानकारी केपीलाई गराएका छन् । अहिलेसम्मको स्थिति हेर्दा माधव नेपालको साथमा रहेका अधिकाङ्शले केपीलाई समर्थन गर्ने देखिएको छ । समर्थन नगर्ने र पार्टी अनुशासन भङ्ग गर्नेहरूलाई ठीक समयमा उपयुक्त कारबाही गर्ने मानसिकतामा केपी रहनुभएको बुझिन्छ ।

२०५० सालमा मदन भण्डारीको निधनपछि माधवकुमार नेपाललाई महासचिव बनाउन सहयोग गर्नुभएका केपी ओली पन्ध्र वर्षसम्म माधवको रक्षाकवच बनेर बस्नुभएको थियो । २०६६ सालमा संसदीय दलको नेता र पार्टी अध्यक्ष झलनाथ खनाल हुँदाहुँदै पनि मनोनित अवस्थाका सभासद् माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउन केपी ओलीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । तर आफूलाई माधवले कहिल्यै सहयोग नगरेको र पछिल्लो समयमा प्रचण्डलाई आफ्नाविरुद्ध भड्काउन समेत माधवकै मूख्य भूमिका रहने गरेको भन्ने केपीको ठहर छ ।

बितेका केही महिनायता खासगरी कात्तिकदेखि यता माधव नेपालको कार्य व्यवहारबाट केपी अत्यन्तै ‘इरिट्रेड’ हुनुहुन्थ्यो । त्यसैले माधवले बुद्धि पुऱ्याउनुभएन भने उहाँ ‘दोस्रो सीपी’ बन्न सक्ने प्रबल सम्भावना छ । मधेशकेन्द्रीत दलसँग सत्ता गठबन्धन भइसकेपछि केपीले पार्टीभित्र रहेर अनुशासनहीन व्यवहार गर्नेहरूप्रति थप कठोर व्यवहार गर्न सक्ने सम्भावना देखिएको छ ।

यतिबेला केपी र माधवबीच समन्वय गराउन सक्ने ताकत एमालेभित्र कसैमा पनि देखिएको छैन । त्यसैले माधव नेपालबिनाको एमाले अघि बढाउने दृढता जुन केपीमा देखिन्छ, त्यसले केपी सक्रिय रहिन्जेल एमालेमा माधवको सम्मानित स्थान नरहने सङ्केत दिएको छ । आगामी महाधिवेशनबाट पनि केपी या उहाँले चाहेकै व्यक्ति अध्यक्ष बन्ने र अन्य पदाधिकारी तथा सदस्यहरू समेत केपीकै इच्छाअनुसार चयन हुन सक्ने अवस्था रहेकोले पनि एमालेमा माधव नेपालको भविष्य नदेखिएको हो । नेपालसँग एमालेमा चुपचाप धैर्य गरेर बस्ने या एमालेभित्रको एउटा सानो कित्तालाई लिएर प्रचण्डसँग मिल्ने र नयाँ पार्टी बनाउने या राजनीतिबाट सन्यास लिनेबाहेकको विकल्प तत्कालका लागि देखिएको छैन । पार्टीअध्यक्ष र प्रधानमन्त्री ताकेर केही महिनाअघि प्रचण्डसँगको सहकार्यमा केपी ओलीविरुद्ध शुरु गरिएको ‘जेहाद’ले माधवलाई अहिले ‘सीपी’ बन्ने ठाउँमा ल्याइपुऱ्याएको छ ।