माओवादीको शत्रुपार्टीको चाहिँ शत्रु को ?

माओवादीको शत्रुपार्टीको चाहिँ शत्रु को ?


माओवादी दृष्टिमा दक्षिणपन्थी, प्रतिक्रियावादी र वर्गीय शत्रु, राजनीतिक अन्तरसंघर्षमा मुख्य दुश्मन नेपाली काङ्गे्रस के माओवादीले भनेजस्तै मुख्य शत्रु हुन योग्य छ त ? काङ्गे्रसलाई बुझ्नेहरूको प्रश्न हो यो । कसैको मित्र हुन कसैमा निश्चित योग्यता, चरित्र र क्षमता आवश्यक भएजस्तै शत्रु बन्न पनि योग्यता चाहिन्छ । गाली गर्दै हिँड्ने हरेक मानिस गाली खानेको शत्रु हुन सक्दैन । आफ्नो शत्रु बन्न योग्य भए-नभएको बुझेर मात्र मानिसले शत्रु निर्धारण गर्न सक्यो भने शत्रुका सङ्ख्या र आफ्नो तनाव दुवै कम हुन्छन् । माओवादीले काङ्गे्रसलाई मुख्य शत्रु मान्नुको कारण केलाउँदा उनीहरूले काङ्गे्रस नामक पार्टीको भौतिक अवस्था, साङ्गठनिक संरचना, नेतृत्वको प्रभावकारिता, स्वरूप र सामर्थ्यलाई हेरेर दुश्मन करार दिएको भन्ने बुझिँदैन । काङ्गे्रस पार्टीमा बोकेको जुन विचार छ त्यो माओवादी र सबै प्रकारका अतिवादीका निम्ति मुख्य बाधा बनेर तेर्सिएको बुझ्न सकिन्छ । काङ्गे्रसीहरू जति दुर्बल, रुग्ण, कमजोर र नालायक देखिन्छन् काङ्गे्रस त्यति कमजोर देखिएको छैन । स्वतन्त्रता, मानवअधिकार, देशभक्ति र सामाजिक न्यायको क्षेत्रमा काङ्गे्रसको विचार अडान अब्बल मानिन्छ । मानिसको प्राकृतिक चाहनाको रक्षा गर्दै समृद्धि खोज्ने काङ्गे्रसको विचार काङ्गे्रसीहरू सकिए पनि सकिने प्रकारको छैन । हो, यही अमृत विचार माओवादीको मुख्य दुश्मन बन्न पुगेको छ, तर काङ्गे्रसीको कार्य-व्यवहार र क्षमता कसैका निम्ति शत्रु बन्न योग्य ठान्न सकिन्न । निजी खुसी आर्जनका निम्ति सिद्धान्त, दर्शन र आफ्नो मौलिक विचार परित्याग गर्न काङ्गे्रसको नेतृत्वले किञ्चित नहिचकिचाएको दृष्टान्त विगतमा स्थापित भइसकेको छ । आवश्यक परेका बेला काङ्गे्रसका ‘ठूलाठूला’ नेताहरू पनि आफ्नो क्रान्तियात्राका सहयोगी बन्न सक्छन् भन्ने कुराको विश्वास माओवादीमा बढेको छ । परास्त गर्नुपर्ने समस्याको पहाड आफ्नै अघिल्तिर उभिँदा पनि र्सपको मुखमा परेको भ्यागुतोले कीराको सिकार गर्न नछोडेझैं आन्तरिक विवाद र संघर्षमा काङ्गे्रसहरू निरन्तर होमिइरहेका हुन्छन् भन्ने माओवादीले देखी-जानी आएकै कुरा हो । आफ्नो विचार-शक्तिलाई बुझन र प्रयोग गर्न नसक्ने तर क्रान्तिकारी बन्ने रहर गर्दै माओवादीक्रान्तिका मतियार हुन कांग्रेसको नेतृत्व तहका व्यक्तिहरूसमेत लालायित बन्छन् भन्ने कुराको अनुभव पनि माओवादीले गरिसकेका छन् । काङ्गे्रस विचारले जतिसुकै बलवान भए पनि काङ्गे्रसीहरू माओ त्से तुङले भनेझैं कागजी बाघबाहेक केही नभएको तथ्यानुभूति पनि सायद माओवादीहरूले गरिरहेका छन् । त्यसैले माओवादीले काङ्गे्रसलाई मुख्य दुश्मन देखेका हुन्, काङ्गे्रसीलाई होइन भन्ने अर्थमा यस प्रसङ्गलाई बुझनु उपयुक्त हुनसक्छ ।
हरेक पुराना वस्तु कुरूप हुँदैनन्, हरेक पुराना मान्यता गलत या खराब हुँदैनन् र हरेक पुराना सोच-विचार गति र प्रगतिका बाधक पनि हुँदैनन् भन्ने कुरालाई आत्मसात् गर्दै काङ्गे्रसले पूर्वस्थापित मान्यताप्रति सकारात्मक रहेर नयाँ समृद्ध भविष्यप्रति आफूलाई प्रतिबद्ध तुल्याएको हो भन्न सकिन्छ । त्यसैले परम्परावादी, मानवतावादी, प्रगतिशील र प्रजातन्त्रप्रति आस्था राख्ने हरेक व्यक्ति जो कुनै पनि नामको अधिनायकवादसँग विमति राख्छन्, ती चाहेर या नचाहेर काङ्गे्रसको वरिपरि रहन बाध्य छन् । अन्य गतिविधिमा काङ्गे्रसको प्रभावकारिता नरहे पनि चुनावी हैसियत सधैं सुदृढ देखिनुको कारण पनि यही नै हुनुपर्छ । ०४६ को राजनीतिक परिवर्तनयताका दुई दशकभित्र विभिन्न चरणका थप परिवर्तन नेपाली राजनीतिमा भएका छन् । यसक्रममा अनेक आकार-प्रकारका राजनीतिक दलहरूको उदय भएको पनि देखिएको छ, तर कुनै पनि दलमा काङ्गे्रसलाई ठ्याम्मै विस्थापित गर्न सक्ने औकात देखिएन । एमाले, माओवादी र मधेस केन्द्रित दलहरूले केही क्षति पुर्‍याए पनि काङ्गे्रसको देशव्यापी प्रभावमा त्यसले गम्भीर प्रकृतिको असर पार्न सकेको ठानिँदैन । बरु काङ्गे्रस माओवादीको प्रहारभन्दा आफ्नै नेतृत्वका कारण राजनीतिक भूमिकामा रक्षात्मक हुँदै जाने स्थिति बनेको छ । काङ्गे्रसलाई क्रमश: रक्षात्मक बनाउने क्रमको सुरुवात गिरिजाप्रसाद कोइरालाले गर्नुभएको यथार्थ स्वीकार गर्ने आँट काङ्गे्रसीहरूमा देखिँदैन । बीपी कोइरालाले राजाको अधिनायकवादभन्दा साम्यवादी अधिनायकत्व खतरनाक हुने वैज्ञानिक आधारलाई बुझेर जुन रणनीतिक योजनाका साथ कार्यनीति तर्जुमा गर्नुभएको थियो, त्यसको गहिराइन बुझने प्रयास गिरिजाप्रसादले गर्नुभएन । तात्कालिक राजा ज्ञानेन्द्रसँग बदला लिने अठोट र माओवादी प्रलोभनको सिकार भएर गिरिजाप्रसादले काङ्गे्रसको विचार धरातलमा साङ्घातिक हमला गर्नुभएकै हो, जसको परिणाम अहिले मुलुक, प्रजातन्त्र र काङ्गे्रस पार्टीमा भोग्नु परिरहेको छ । कुनै समय गिरिजाप्रसाद कोइरालाका र्सवाधिक आलोचकहरू, जो उहाँको निन्दा र भर्त्सना गरेर कहिल्यै थाक्दैनथे, पछिल्लो समयमा तिनै तत्त्वको प्रशंसामा गिरिजाप्रसादको ‘अस्तित्व’ जोगिएको हो । कोइरालाको निधनपश्चात् माओवादीहरू दिल खोलेर उहाँको प्रशंसा गर्दै छन्, तर काङ्गे्रसप्रति ममता राख्नेहरू ‘मुटुमाथि ढुङ्गा राखेर’ गिरिजाप्रसादको बखान गर्न बाध्य छन् । सत्य बोल्नुपर्दा गिरिजाप्रसाद कोइराला जो जीवनभर काङ्गे्रस पार्टीमा रहे, काङ्गे्रसले नै उहाँलाई नाम, मान र अरू के-के पनि दियो, तिनै गिरिजाप्रसादले काङ्गे्रसलाई इतिहासकै सङ्कटग्रस्त अवस्थामा पुर्‍याएर जानुभयो । उहाँको आत्मकेन्द्रित सोच, शक्तिको लालच र ठाउँ-कुठाउँ उम्लिने बदलाको भावनाले काङ्गे्रस पार्टीलाई आफ्नो मर्म र धर्मविपरीत दिशामा पुर्‍यायो । माओवादीका दस्तावेजको प्रतिलिपि उतार्दै ‘कम्युनिस्ट’ शब्दको ठाउँमा ‘काङ्गे्रस’ भरेर क्रान्तिकारी पहिचान बनाउन छटपटिएका केही नकावपोसहरूले गिरिजाप्रसादको बुढ्यौलीको फाइदा उठाउँदै आफूलाई राजनीतिमा स्थापित गर्न खोज्दा काङ्गे्रस पार्टीमा प्रजातन्त्र विस्थापित हुने स्थिति बनेको हो । माओवादी नेतृत्वले काङ्गे्रसीहरूलाई गाउँगाउँमा हिंसा र आतङ्कको सिकार बनाएर विस्थापित गरे, काङ्गे्रसको विचार विस्थापनको अभियानचाहिँ गिरिजाप्रसाद कोइराला स्वयम्लाई अघि लगाएर सुरु गरिएको हो । गिरिजाप्रसाद कोइरालाको निधनपश्चात् निष्ठा, इमानदारी, सादगी र वैचारिक प्रतिबद्धतामा उम्दा मानिएका नेता सुशील कोइरालालाई पार्टीको ‘कमान’ सम्हाल्ने अवसर प्राप्त हुँदा देशभरिका प्रजातन्त्रप्रेमीहरूमा खुसियाली छाएको थियो । काङ्गे्रसको विचार अर्थात् बीपीकै विचार पुनर्स्थापन हुने र माओवादीको चङ्गुलबाट काङ्गे्रस पार्टी मुक्त हुने अपेक्षा गरिएको थियो । काङ्गे्रसभित्र प्रिय भएकै कारण प्रतिद्वन्द्वी शेरबहादुरको ‘साम दाम दण्ड भेद’को अस्त्रलाई छिचोल्दै सुशील कोइरालाले विजय हासिल गर्नुभएको हो । सवा एक वर्षको कार्यकाल, उहाँले केही गर्ने चाहना राख्दाराख्दै पनि देउवाको अवरोधका कारण बिनाउपलब्धि बितेको छ । तर, देउवालाई देखाउँदै पूरा कार्यकाल बिनाउपलब्धि गुजार्ने अनुमति सुशील कोइरालालाई प्राप्त हुने छैन । मूलधारको राजनीतिको केन्द्रस्थलमा रहेको नेपाली काङ्गे्रस जो विगत पाँच वर्षदेखि किनारामा रक्षात्मक भूमिकामा छ, यसको पूर्वहैसियतको पुनर्स्थापना पार्टी सभापतिको मुख्य गन्तव्य हो र सभापतिका निम्ति मुख्य चुनौती पनि यही नै हो । गिरिजाप्रसादले माओवादीको कराहीमा हालेको काङ्गे्रसलाई पूर्वस्थानमा फर्काउन सक्दा मात्र लोकतन्त्रको भविष्य सुरक्षित हुनसक्ने र सुरक्षित लोकतन्त्रमा मात्र काङ्गे्रस पार्टीको भूमिका प्रभावकारी बन्न सक्ने भएकोले पार्टीको सभापतिका रूपमा सुशील कोइरालाबाट गरिएको अपेक्षा पनि यो नै हो । देउवालाई देखाएर आफ्नो अकर्मण्यता केही कालका निम्ति छोप्न त सकिएला, तर कालान्तरमा उहाँकै कार्यक्षमता र योग्यतामाथि प्रश्न उठ्ने छ । देउवाले सत्ता र शक्तिका निम्ति अति दक्षिणपन्थीसँग जसरी गठबन्धन गरेका थिए, अतिवामपन्थीहरूसँगको गठबन्धनमा पनि उनी निकै रमेका हुन् । संसदीय लोकतान्त्रिक प्रणालीकै बद्नाम हुनेगरी देउवाले आफू सत्तामा रहँदा सत्तारक्षाका निम्ति निर्वाह गरेको भूमिका नेपाली इतिहासमा एउटा चोट बनेर चहर्‍याइरहने निश्चित छ । तीनपटक प्रधानमन्त्री बन्दा तीनैपटक देश, लोकतन्त्र र काङ्गे्रस पार्टीको प्रतिकूल व्यवहार गरेका देउवाबाट मुलुकले कुनै अपेक्षा गरेको छ भनेर बुझनु भूल हुनेछ । पहिलोपटक प्रधानमन्त्री हुँदा सांसद खरिद-बिक्री, दोस्रोपटक माओवादीसँग गठबन्धन गरेर संसदीय लोकतान्त्रिक प्रणालीलाई नै धरापमा पारेका र तेस्रोपटक प्रधानमन्त्री भएपछि या हुनका लागि ‘तुल्सी गिरीलाई बिर्साउने व्यवहार दर्शाएको यथार्थसँग परिचित कुनै पनि नेपाली शेरबहादुरलाई अर्कोपटक फेरि प्रधानमन्त्रीका रूपमा हेर्नु नपरोस् भन्ने चाहन्छन् । शेरबहादुरले पछिल्लो समयमा गर्दै आएको बखेडा काङ्गे्रस पार्टीको सुदृढ भविष्य र लोकतन्त्रको रक्षाका लागि नभई पार्टीबाट पुन: प्रधानमन्त्री बनाइने प्रतिबद्धताको खोजीमा मात्र भएको सबैले बुझेका छन् । प्रधानमन्त्री पदका मुख्य सिकारी भूमिकामा रहेका देउवासँग संघर्ष या सम्झौता जे गरे पनि त्यो काङ्गे्रस, प्रजातन्त्र र मुलुकको हितअनुकूल हुन सक्दैन । बरु देउवालाई ‘इग्नोर’ गर्नु नै एउटा बुद्धिमानीपूर्ण कार्य हुन सक्दछ । त्यर्सथ स्पष्ट दृष्टिकोण, विचार, नीति र कार्यक्रमका साथ अघि बढ्ने सामर्थ्य सुशील कोइरालाले दर्शाउनुपर्‍यो, पार्टी अघि बढ्न थाल्यो भने देउवाको भूमिका बुढानीलकण्ठमै सीमित हुने विश्वास आमकाङ्गे्रसजनमा देखिन्छ । देउवासँगको विवादमा अल्झिँदा देउवा थरका बुढानीलकण्ठवासीविना काङ्गे्रस पार्टी चल्नै नसक्ने रहेछ भन्ने सन्देश प्रवाहित हुने खतरा बढेको छ । काङ्गे्रसभित्र विवाद झिकेर देउवाले विपक्षीहरूलाई खुसी तुल्याएका मात्रै छैनन्, राजनीतिमा आफ्नो उपस्थिति अझै कायम रहेको सन्देश दिन पनि चाहेका छन् । विषयलाई ज्यादा महत्त्व दिएर सुशील कोइरालाले पनि वास्तवमा देउवाकै आकाङ्क्षा पूरा गरिरहनुभएको छ । पार्टीलाई संसदीय लोकतन्त्र, मानवअधिकार, प्रेस स्वतन्त्रता, सम्पत्तिमाथिको अधिकार रक्षा र सामाजिक न्यायका पक्षमा दृढतापूर्वक उभ्याउने हो भने सभापति कोइरालाले ‘बुढानीलकण्ठ’ होइन नयाँ बजारतिर आँखा लगाउनुपर्‍यो, जहाँबाट शान्ति, लोकतन्त्र र मुलुकको स्थिरतामाथि कुनै पनि दिन कुनै पनि निहुँमा चुनौती खडा गरिनसक्छ । माओवादीले काङ्गे्रसलाई मुख्य दुश्मन किन तोकेको हो भन्नेबारे सामान्य हेक्का पनि नराखीकन गरिने व्यवहारले माओवादी उत्साही हुन सक्ने सम्भावना फेरि पनि बढाएको छ । यतिबेला माओवादी शान्तिप्रक्रियामा साँच्चै आउन लागेको सन्देश दिन खोज्दै छन् । उनीहरू शान्ति स्थापनाको पक्षमा केही सकारात्मक देखिएका मुलुक, लोकतन्त्र या काङ्गे्रसलाई हेरेर नभई आफ्नै भविष्य सुरक्षाका निमित्त हो । क्रान्तिको नाममा माओवादीले अनपेक्षित लाभ उठाइसकेका छन्, अब शान्तिका नाममा प्राप्त हुने लाभको हिस्सामा पनि उनीहरू एकलौटी अधिकार स्थापित गर्न प्रयासरत देखिँदै छन् । काङ्गे्रसको साथ नभएको भए राजालाई नारायणहिटीबाट बसाइँ र्सार्न सम्भव थिएन, तर त्यस प्रकरणमा जस (यश) जति माओवादीलाई र अपयश जति काङ्गे्रसलाई प्राप्त हुन गयो । आफैंले गरेको खेतीको फसल पनि आफ्नो घरमा भित्र्याउने सामर्थ्य काङ्गे्रसले दर्शाउन सकिरहेको छैन । गणतन्त्र, संविधानसभा, धर्मनिरपेक्षता, समावेशी अवधारणा आदि-इत्यादि सबैको जस (यश) माओवादीले नै लिइरहेको छ, काङ्गे्रसले कम्तीमा पनि उनीहरूलाई शान्तिप्रक्रियामा ल्याएको ‘क्रेडिट’ त लिन सक्नुपर्ने हो नि, त्यो पनि सकिरहेको छैन । शान्तिप्रक्रिया पूरा भएमा त्यसपछि माओवादीलाई लोकतन्त्र र राष्ट्रिय एकताका पक्षमा ल्याउन काङ्गे्रसले अर्को चरणको संघर्षमा आफूलाई उतार्नुपर्ने हुन्छ । देउवालाई चुनौती ठान्ने काङ्गे्रसले माओवादीलाई लोकतन्त्र र राष्ट्रिय एकताका पक्षमा ल्याउने हैसियत राख्ला भन्नेमा विश्वास गर्न सकिँदैन र विश्वास गर्नुहुँदैन पनि । मुलुकमा लोकतन्त्र जोगिन काङ्गे्रस जोगिनु आवश्यक भएजस्तै काङ्गे्रसलाई जोगाउन यसको नेतृत्वले देउवा र त्यस्तै प्रवृत्तिसँग जोगिन अपरिहार्य छ । कसैलाई शत्रु नतोकी राजनीति गर्नै नसक्ने माओवादी कम्युनिस्ट लोकतान्त्रिक आन्दोलन र मुलुकको एकतामा चुनौती बनेर प्रकट भएको छ भने को शत्रु र को मित्र भनी छुट्याउन नसक्ने या नखोज्ने काङ्गे्रसको नेतृत्वचाहिँ यदुवंशी शैलीको लडाइँमै ‘मस्त’ छ । दुवै प्रवृत्ति खराब हुन्, सुशील कोइरालाले समयमै बुद्धि पुर्‍याऊन्, शुभकामना ।