एमाले नेता भुसाल र पाण्डे पनि निलम्बनमा

एमाले नेता भुसाल र पाण्डे पनि निलम्बनमा



एमालेका नेता सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टीले ६ महिनाको लागि सदस्यताबाटै निलम्बन गरेको छ । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेताद्वय पाण्डे र भुसाललाई सोधिएको स्पष्टिकरणमा चित्तबुझ्दो जवाफ नदिएको भन्दै निलम्बन गरेका हुन् ।

‘पार्टीले सोधेको स्पष्टिकरणमा सोधिएअनुसार आफ्नो भुलत्रुटि स्वीकारोक्ति नगरेको, कुनै आत्मसमीक्षा नगरिएको, आत्मालोचना गर्ने कुनै प्रवृत्ति नदेखिएकाले पार्टी विधान २०४९ (संशोधन २०७१) को धारा ४९ (ख)बमोजिम ६ महीनाका लागि दशौँ महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारी (प्रतिनिधिसभा सदस्य) बाहेक पार्टी सदस्यताबाट निलम्वन गरिएको छ’, दुवै नेतालाई प्रेसित निलम्बन पत्रमा भनिएको छ ।

अध्यक्ष ओलीले दुवै जनालाई सच्चिनका लागि अन्तिम मौका दिइएको पत्रमा उल्लेख गरिएको छ ।

पार्टीले सोधेको स्पष्टीकरण यही चैत १७ गते उल्लिखित दुवै नेताले बुझाएका थिए । यसअघि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र अर्का नेता भीमबहादुर रावललाई पनि सोधेको स्पष्टिकरणमा चित्तबुझ्दो जवाफ नदिएपछि ६ महिनाका लागि पार्टीको सदस्यताबाट निलम्बन गरिएको थियो ।

यही चैत ७ गते बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले पार्टीविपरीतका गतिविधि गरेको भन्दै पार्टीका नेता नेपाल, रावल, भुसाल र पाण्डेलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

यही चैत ८ गते महासचिव ईश्वर पोखरेलले पत्र लेख्दै उहाँहरु चारै जना नेतालाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै एमालेको विधानको धारा ४९ को १, २, ३, ४, ५, ६, ७, ९ र १४ अनुसार कारवाही किन नगर्ने भन्दै स्पष्टिकरण सोधेका थिए ।

यसैबीच पार्टीबाट निलम्बित नेता पाण्डेले अध्यक्ष केपी ओलीलाई गुटपरस्त मानिस भएको अरोप लगाएका छन् । आफूमाथि गरिएको कारबाही पूर्वनियोजित र अपेक्षित रहेको उनको भनाइ छ । एमाले र मुलुकको कम्युनिस्ट आन्दोलन नै समाप्त गर्ने दिशातिर केपी ओली लाग्नुभए पनि आफूहरुले कम्युनिस्ट आन्दोलनको झण्डालाई झुक्न नदिने दृढता पाण्डेले प्रकट गरेका छन् ।

अर्का नेता भुषालले चाहिँ केपी ओलीले गरेको गल्तीका लागि आफूले देशवासीसँग माफी मागेको अभिव्यक्ति सार्वजनिक गरेका छन् ।