ताइवान रेल दुर्घटनामा कम्तीमा ४० जनाको मृत्यु भएको आशङ्का

ताइवान रेल दुर्घटनामा कम्तीमा ४० जनाको मृत्यु भएको आशङ्का



ताइवानको पूर्वी क्षेत्रमा सुरुङ (टनेल)भित्र खचाखच भरिएको एउटा रेल दुर्घटनाग्रस्त हुँदा कम्तीमा ४० यात्रीको मृत्यु भएको आशङ्का गरिएको छ ।

यसअघि प्रहरीले कम्तीमा ३६ जनाको मृत्यु भएको जनाएको थियो भने अरु ७० जना रेलका डब्बाभित्र च्यापिएको बताइएको छ । उद्धार गरिएका ६० जनालाई भने अस्पताल पुर्‍याइएको छ ।

ताइवानमा शुरु भएको लामो बिदा मनाउन हिँडेका यात्रुले रेल खचाखच भरिएको बताइएको छ भने उद्धारकर्ताहरु सुरुङभित्र च्यापिएका मानिसको उद्धारमा खटिएका सिन्ह्वाले जनाएको छ ।

बताइएअनुसार तटीय शहर हुलियान नजिकको सुरुङ नजिक एउटा मर्मत कार्यमा प्रयोग गरिएको सवारी साधनले तिब्र गतिमा दौडिरहेको रेललाई ठक्कर दिएको सम्बद्ध अधिकारीहरुले अनुमान गरेका छन् ।

हुलियान शहरका प्रहरी प्रमुख चाई डिङ–हेसियानले निर्माण कार्यमा प्रयोग भइरहेको एउटा सवारी साधन रेलको लिकमा खसेका कारण रेल दुर्घटना भएको प्रतिक्रिया दिएका छन् ।

स्थानीय संचार माध्यमले रेलको नजिकै एउटा ट्रक क्षतविक्षत अवस्थामा रहेको तस्बिर प्रकाशन गरेका छन् ।