प्रधानमन्त्रीको राजीनामा माग्ने काङ्ग्रेसको निर्णय चर्चामा

प्रधानमन्त्रीको राजीनामा माग्ने काङ्ग्रेसको निर्णय चर्चामा


नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा वर्तमान सरकारको विकल्पका बारेमा छलफल गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै नयाँ सरकार गठन गर्न कांग्रेसले पहलकदमी लिनुपर्ने भन्दै रामचन्द्र पौडेल, कृष्ण सिटौलालगायतले अडान लिएपछि शुक्रबार निर्धारित समयभन्दा निकै ढिलो गरी साँझ मात्र काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक शुरु भएको थियो ।

केन्द्रीय कार्यालय सानोपमा साँझ ८ बजे सुरु भएको उक्त बैठकमा पार्टीको भावी रणनीतिका विषयमा छलफल भएको र आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय लिइएको बताइएको छ ।

दिउँसो २ बजे बोलाइएको बैठक झण्डै ६ घण्टापछि सुरु भएको थियो । पार्टीको आगामी कदमबारे कार्यसमितिका पदाधिकारीहरूबीच अनौपचारिक रूपमा दिउँसो छलफल चलेको थियो । पार्टीको क्रियाशील सदस्यता विवाद, राप्रपाबाट कांग्रेसका प्रवेश गरेकाहरूलाई क्रियाशील सदस्यता दिने र केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको विकल्पका विषयमा निर्णय लिइएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

नयाँ सत्ता समीकरणका लागि कांग्रेसले नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको निर्णयलाई कुरेर बसेको अवस्था छ । तथापि, केही नेताहरूको दबाबमा वर्तमान सरकारको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने निर्णय लिन सभापति शेरबहादुर देउवालाई दबाब दिइएको एक काङ्ग्रेस नेताले जानकारी दिए ।

काङग्रेसको आधिकारिक निर्णय सार्वजनिक नहुँदै प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले ‘आफ्नै नेतृत्वमा वैकल्पिक सरकार गठन गर्ने’ काङ्ग्रेसको निर्णयको स्वागत गरेको छ । यससँगै आइतबार नै माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने अनुमान सार्वजनिक गरिन थालिए पनि यसको सम्भावना कम रहेको सो पार्टीसम्बद्ध सुत्रको भनाइ छ । हतारिएर सरकारलाई दिएको समर्थन फिर्ता लिए माओवादी केन्द्रको उक्त फैसला आत्मघाती सावित हुने सुत्र बताउँछ ।

यस्तै, काङ्ग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार गठनको निर्णय गरे पनि सो निर्णय कार्यान्वयन गर्न सहज नभएको धारणा काङ्ग्रेसकै नेताहरूले व्यक्त गरेका छन् ।

pict:rss