भारत र पाकिस्तान आठ वर्षपछि ‘क्रिकेट युद्ध’मा होमिँदै

भारत र पाकिस्तान आठ वर्षपछि ‘क्रिकेट युद्ध’मा होमिँदै


  • श्रीविक्रम भण्डारी

यतिबेला विश्व क्रिकेट जगतमा तातो हावा प्रवेश गरेको छ । यस हावासँगै क्रिकेटको माहोल पनि गर्माएको छ । आखिर खबर भारत र पाकिस्तान भएपछि क्रिकेटको माहोल गर्माउनु स्वभाविकै थियो । क्रिकेटमा चीरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच पुनः क्रिकेट सिरिजको आयोजना हुन सक्ने सम्भावना बढेपछि यो समाचार गर्माएको हो । आठ वर्षदेखि कुनै पनि क्रिकेटका सिरिज नखेलेका यी दुई मुलुकबीच पुनः प्रतियोगिता हुने भएपछि अहिले क्रिकेटप्रेमीमा खुशियाली छाएको छ ।

पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी) ले भारत र पाकिस्तानबीच क्रिकेट प्रतियोगिता हुनुपर्नेमा जोड दिइरहेको छ भने भारतले अहिलेसम्म मौनता साँधेको छ । अब अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आउँदो बैठकमा कस्तो निर्णय गर्छ त्यसैमा भारत र पाकिस्तानबीच हुने सिरिजको टुङ्गो लाग्ने छ । भारत र पाकिस्तानबीच क्रिकेटको सिरिज सूचारु गर्न आईसीसी सकारात्मक देखिएकोले निर्णय पनि सकारात्मक हुने अहिले विश्वास गरिन थालिएको छ । प्राप्त जानकारीका अनुसार आईसीसी न्युुटल भूमिमा टी–२० को सिरिज आयोजना गरेर यी दुवै मुलुकबीच पुनः क्रिकेटको शुभारम्भ गर्न चाहेको बुझिएको छ । यदि भारत र पाकिस्तानबीच क्रिकेट शुभारम्भ भयो भने त्यसले क्रिकेटको लोकप्रियतामाथि चार चाँद लगाउने पक्का छ ।

पछिल्लो समय राजनीतिक तिक्तताका कारण सम्बन्ध चिसिएपछि भारत र पाकिस्तानबीच क्रिकेट नै आयोजना हुन छाडेको थियो । भारतले पाकिस्तानलाई आफ्नो देशमा आताङ्कवादी गतिविधि गरेको आरोप लगाउँदै कुटनीतिक सम्बन्धदेखि खेलकुदको सम्बन्धसमेत तोडेको थियो । त्यसपछि यी दुई देशबीच ओझेलमा परेको क्रिकेट अहिलेसम्म सञ्चालन हुन सकेको छैन । भारतसँग क्रिकेट खेल्न पाकिस्तान हिजो पनि तयार थियो, अहिले पनि तयार छ, तर भारत सरकारले राजनीतिकदेखि आतङ्ककारी मुद्दाअघि सार्दै भारतीय राष्ट्रिय क्रिकेट टीमलाई आईसीसीका अफिसियल खेलबाहेक अन्य सिरिज पाकिस्तानसँग खेल्नका लागि अनुमति दिएको छैन । दुवै देशबीच विवादको खाडल बढ्दै जाँदा आईसीसीले आफ्नो पहलकदमीमा क्रिकेट खेलमार्फत सम्बन्धमा सुधार ल्याउन कोसिस गरे पनि त्यसमा अहिलेसम्म सफलता प्राप्त गर्न सकेको छैन । त्यस्तै, भारतीय क्रिकेट बोर्डले भारत सरकारको निर्देशनविना पाकिस्तानसँग कुनै पनि सिरिज खेल्न नसकिने जानकारी गराउँदै आएको छ ।

भारत र पाकिस्तानबीच हुने कुनै पनि क्रिकेट सिरिज ‘युद्ध’भन्दा कम हुँदैन । क्रिकेट खेलको मैदानमा ब्याड र बलिङद्वारा हुने उक्त ‘युद्ध’ निकै सनसनीपूर्ण र रोमाञ्चकारी हुन्छ । आफ्नो देशलाई जिताउन दर्शकहरू यति उत्तेजित हुन्छन् कि त्यो खेल नभइ युद्ध नै भइरहेको भान हुन्छ । यसरी मैदानमा खेलाडीहरू युद्ध गरिरहेका हुन्छन् भने प्यारापीटमा दर्शकहरू । डट बलदेखि हरेक रन र चौका छक्का दुई देशका लागि प्रतिष्ठाका विषय बनेका हुन्छन् । ब्याट्म्यानले रन बटुल्दा र बलर विकेट लिँदा समेत उनीहरूको मुटु छियाछिया पारेको हुन्छ ।

खेलमा हारजीत हुन स्वभाविकै हो, तर पाकिस्तान र भारतको खेलमा भने त्यस्तो हुँदैन । उनीहरूले जित्नु नै पर्छ किनकि त्यसपछिको परिणाम निकै भयाभव हुन्छ । दुश्मन देशसँग हारेको बदला चुकाउनु पर्छ । जित्दा खेलाडीहरूको एयरपोर्टदेखि नै फुलको मालाले स्वागत गर्दै सिन्दुर जात्रा गरिन्छ भने हार्दा जुत्ता माला, ढुङ्गा मुढा र अपशब्दको सामना गर्नुपर्छ । यसरी भारत र पाकिस्तानबीचको ‘खेल’ खेल मात्रै नभै दुवै देशको मान सम्मान प्रतिष्ठा गाँसिएको हुन्छ । यी दुवै देशबीच अहिलेसम्म आयोजना भएका क्रिकेटका कहिले भारत र कहिले पाकिस्तानले आफुलाई अब्वल सावित गर्दै आएका छन् । दुर्भाग्य पाकिस्तानको, अहिलेसम्म उसले भारतलाई विश्वकप क्रिकेटका कुनै पनि संस्करणका खेलमा पराजित गर्न सकेको छैन ।

पाकिस्तानी क्रिकेट बोर्ड (पीसीवी)ले पाकिस्तान र भारतबीच छिट्टै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको सिरिज आयोजना हुने सम्भावना भएको बताएको छ । यो सिरिजको लागि अहिले विशेष पहल भइरहेको पनि पीसीबीले जनाएको छ । साथै यो सिरिजको अन्तिम फैसला अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बैठकले गर्नेछ ।

मुम्बइमा सन २००८ मा भएको आतङ्कवादी हमलापछि भारतले पाकिस्तानको भ्रमण गरेको छैन । यो अवधि न्यूटल भूमिमा भारत र पाकिस्तानबीच केही खेल भए पनि अहिलेसम्म कुनै पनि टेष्ट, वान डे र टी–२० प्रतियोगिताको सिरिज एकआपसमा खेलेका छैनन् । मुम्बई आतङ्कवादी हमलासँगै दुई देशबीच चिसिएको राजनीतिक सम्बन्ध कारणले पनि क्रिकेटका कुनै पनि सिरिज हुन नसकेका हुन् । अहिले पनि यी दुई देशको बीचको सम्बन्ध तनावपूर्ण छ ।

मुुम्बइमा भएको आतङ्कवादी हमलामा पाकिस्तानको हात रहेको ठहर गर्दै भारत सरकारले पाकिस्तानसँगका सबै सम्बन्ध तोडेको थियो । जस्मा अन्य खेललगायत क्रिकेट पनि परेको थियो । भारतको यो निर्णयसंगै सन २०१३ पछि भारत र पाकिस्तानबीच कुनै पनि विधामा क्रिकेटका सिरिजको आयोजना भएको छैन । दुवै देशले २००७–०८ को सिजनपछि अहिलेसम्म एकापसमा टेष्ट क्रिकेट खेलेका छैनन् । यो अवधिमा आईसीसीले आयोजना गरेको आईसीसी कप र एसिया कपमा दुवै देशका बीच प्रतिस्पर्धा भएको थियो । यी दुवै भीडन्तमा भारतले पाकिस्तानलाई पराजित गरेको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को बैठक यही महिना दुबईमा बस्दैछ । यो बैठकमा भारतीय क्रिकेट बोर्ड र पाकिस्तानी क्रिकेट बोर्डका पदाधिकारीले पनि सहभागिता जनाउँदैछन् । उक्त बैठकमा भारतले खेल वा नखेल्ने भन्ने बारेमा निर्णय घोषणा गर्ने पनि अड्कल काटिएको छ । साथै भारतीय क्रिकेट वोर्डले आगामी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानी खेलाडी, दर्शक र पत्रकारको भिजा र सुरक्षाको बारेमा पनि आईसीसीलाई जानकारी गराउने छ । टी–२० विश्वकपको नयाँ संस्करण यसै वर्षको अक्टोबरदेखि नोभेम्बरसम्म भारतमा आयोजना हुँदैछ ।

पीसीबीका मिडिया मेनेजर सकिल खानका अनुसार दुवै देशका प्रतिनिधिमण्डलले दुबईमा हुने आईसीसीको बैठकमा भाग लिने हुँदा उक्त वैठकमा नै भारत र पाकिस्तानविच हुने नयाँ क्रिकेट सिरिजको वारेमा टुङ्गो लाग्ने छ । सकारात्मक निर्णय आउनेमा आफू आशावादी भएको बताउँदै खानले भने– ‘हामी सधैंभरि भारतसँग क्रिकेट प्रतियोगिता खेल्न चाहन्छौँ, तर भारतले नै यसमा बाधा र अड्चन पैदा गर्दै आएको छ, जुन क्रिकेटको लागि राम्रो कुरा होइन ।’

त्यस्तै, पाकिस्तानी टीमले दुई पटक भारतमा गएर खेलिसकेको खुलासा गर्दै मेनेजर खानले भने यो पटक भारत क्रिकेट खेल्न पाकिस्तान आउनुपर्ने कुरामा जोड दिए । यो सवै कुरा भारतीय पक्षमा निर्भर रहने र आइसीसीको बैठकको दौरान भारत र पाकिस्तानबीच क्रिकेट सम्बन्ध शुरु गर्न कस्तो प्रस्ताव र सर्त ल्याउँछ त्यसको प्रतीक्षा गर्नु नै उचित हुनेछ । न्युटल भूमि या आ–आफ्नो देशको भूमि पाकिस्तान जहाँ पनि क्रिकेट खेल्न तयार छ ।

पाकिस्तान र भारतविचको तनावपूर्ण राजनीतिक सम्वन्धलाई मत्थर बनाउन जहिले पनि क्रिकेटले अहम भूमिका निभाउँदै आएको छ । तर पछिल्लो पटक भारत र पाकिस्तानबीच क्रिकेट शुरु गरेर सम्बन्धमा सुधार ल्याउने विभिन्न प्रयास गरे पनि त्यसले सफल परिणाम दिन सकेको थिएन । यस्तोमा अहिले पुनः नयाँ सिराबाट दुई देशबीच क्रिकेट शुरु गर्ने चर्चा चलेको छ । यस्तोमा भारतीय सरकार र भारतीय क्रिकेट बोर्ड कति सकारात्मक बन्छन् त्यो प्रतिक्षाको विषय बनेको छ ।