संक्रमणका कारण स्वास्थ्यावस्था बिग्रिँदै गएपछि सचिन तेन्दुलकर अस्पताल भर्ना

संक्रमणका कारण स्वास्थ्यावस्था बिग्रिँदै गएपछि सचिन तेन्दुलकर अस्पताल भर्ना



चर्चित भारतीय क्रिकेट खेलाडी सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन् । कोरोना भाइरसबाट सङ्क्रमित भएको पाँच दिनपछि उनी शुक्रबार अस्पताल भर्ना भएका हुन् । स्वास्थ्य अवस्था झन् झन् बिग्रिँदै गएपछि थप उपचारको आवश्यकता रहेको भन्दै चिकित्सकहरुले अस्पताल भर्ना हुन सुझाव दिएपछि तेन्डुलकरलाई अस्पताल भर्ना गरिएको एएनआईले जनाएको छ ।

तेन्दुलकर कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भए पनि उनका परिवारजनको परीक्षण गर्दा भने सङ्क्रमण नभएको देखिएको बताइएको छ । शुक्रबार सचिनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘मेरो स्वास्थ्यप्रति चिन्ता र चासो जनाउँदै स्वास्थ्य लाभको कामना गर्नुभएका सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’

उनले चिकित्सकहरुको सुझावका आधारमा आफू अस्पताल भर्ना भएको र आफु चाँडै नै निको भएर घर फर्किने विश्वास समेत व्यक्त गरेका छन् । खेलाडी तेन्दुलकरले अरु सबैलाई सुरक्षित रहन र सतर्कता अपनाउन पनि सामाजिक सञ्जालमार्फत आह्वान गरेका छन् ।

सन् १९७३ को २४ अप्रिलमा भारतको मुम्बईमा जन्मिएका तेन्दुलकर भारतको क्रिकेट टोलीको कप्तान रहेका थिए । सन् २०११ क्रिकेट विश्वकप भारतले जित्दा भारतीय खेलाडीको टोलीको नेतृत्व तेन्दुलकरले नै गरेका थिए । उनले भारतको लागि ६ क्रिकेट विश्वकप खेलेका छन् ।

सन् १९८९ मा पाकिस्तानविरुद्ध कराँचीमा भएको टेस्ट खेलबाट तेन्डुलकरले आफ्नो खेल जीवन प्रारम्भ गरेका थिए । टेस्ट तथा एक दिवसीय क्रिकेट गरी दुवैमा सर्वाधिक रन तथा शतक बनाउने इतिहास पनि उनकै नाममा छ । टेस्ट क्रिकेटमा ४९ शतक तथा एक दिवसीय क्रिकेटमा ५१ शतक बनाएका छन् भने पुरुष समूहको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोहोरो शतक बनाउने पहिलो खेलाडी पनि तेन्दुलकर नै हुन् ।