नेपाल समूहले अबको दुई महिना सङ्गठन सुदृढीकरण अभियानमा गुजार्ने

नेपाल समूहले अबको दुई महिना सङ्गठन सुदृढीकरण अभियानमा गुजार्ने



नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नेपाल समूहले अबको दुई महिना सङ्गठन निर्माण र पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ ।

काठमाडौंमा शनिबार बसेको उक्त समूहको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले माथिल्लो तहमा एक खालको कारवाही र तल तहमा अर्काे खालको कारवाही गर्ने काम गरेकाले उक्त अभियानका क्रममा त्यसको विरोध गर्ने र वडातहसम्मै जनवर्गीय सङ्गठन तथा पार्टीको सङ्गठन निर्माण गर्ने निर्णय गरेको सो समूहका नेता रघुजी पन्तले बताएका छन् ।

‘जिल्ला अधिवेशनबाट निर्वाचित कमिटीलाई वास्ता नगरी भटाभट जिल्ला कमिटी बनाएको छ, यो त कमिटीमाथि कारवाही गरिएको भयो’, पन्तको भनाइ उद्धृत गर्दै राससले जनाएको छ– ‘माथि एक प्रकारको कारवाही र तल अर्काे खालको कारवाही गरिएको छ ।’ पार्टी नफुटेको बेलाको वैध कमिटीलाई कारवाही गरेमा विरोध गर्ने र जनसङ्गठन अनि पार्टीको पनि वडातहसम्मै सङ्गठन बनाउने भन्ने भएको पन्तले बताएका छन् ।

बैठकले केही दिनअघि भएको राष्ट्रिय भेलाको प्रतिवेदन र त्यसमाथि आएको सुझावलाई समेटेर पुस्तक प्रकाशन गर्दै त्यसलाई तल्लो तहसम्म पुर्‍याउने निर्णय पनि गरेको छ ।

विसं २०७५ जेठ २ गतेअघिको पार्टी कमिटीलाई पुनर्गठन गर्दै प्रशिक्षण कार्यक्रमसमेत सञ्चालन गने निर्णय भएको पनि जनाइएको छ । जेठ २ लाई आधार मानेर पार्टी एकतामा फर्किन अध्यक्षलाई नेपाल समूहको बैठकले आग्रह गरेको छ ।

अभियानका क्रममा केन्द्रीय सदस्यलाई जिल्ला जिल्लामा खटाउने, प्रचारात्मक र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तथा स्थापना दिवस, मनामोहन अधिकारी स्मृति दिवस र मदनआश्रित स्मृति दिवस भव्य रूपमा मनाउने निर्णय पनि गरेको छ ।

यसअघि नेकपा एमालेले पार्टीका नेताहरू माधवकुमार नेपाल, भीम रावल, घनश्याम भूषाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरिसकेको छ ।

file photo