राष्ट्रिय रिङ रेस्लिङको उपाधि टाइगरलाई

राष्ट्रिय रिङ रेस्लिङको उपाधि टाइगरलाई



नुवाकोटे टाइगरले दोश्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि जितेका छन् । प्रतिद्वन्द्वी डेविडलाई लक लगाउँदै टाइगरले उपाधिको रक्षा गरेका हुन् ।

पोखरा रंगशालाको बहुउद्देश्य कभर्ड हलमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा डेविडले टाइगरमाथि धेरै पटक सशक्त प्रहार गरेका थिए । डेभिडले टाइगरलाई अचेतको अवस्थामा पछारेर खेललाई लगभग आफ्नो पक्षमा पारिसकेका थिए ।

तर थप उत्कृष्ट फिनिसिङ दिने चक्करमा रिङमाथि चढेर हाइजम्पमार्फत टाइगरमाथि जाइलाग्न खोज्दा डेविड लक्ष्यमा पुग्न नसकी सिधै रिङमा बज्रिएर घाइते भएपछि खेलको माहोल नै बदलिन पुग्यो ।

घुँडामा चोट लागेर उनी उठ्नै सकेनन् र मौकालाई सदुपयोग गर्दै टाइगरले डेविडमाथि लक लगाए । पछि रेफ्रीको तीन काउन्टसँगै डेविडले कुनै प्रतिक्रिया नदिएपछि टाइगरले च्याम्पियनको उपाधि जितेका थिए ।

उपाधिका साथ टाइगरले नगद एक लाख र च्याम्पियन बेल्ट प्राप्त गरे । प्रतियोगितामा उपविजेता बनेका डेभिडले नगद ५० हजार रुपैयाँ प्राप्त गरे भने प्रतियोगितामा चट्टानले तेस्रो स्थानमा चित्त बुझाए ।

प्रतियोगितामा ठगुका साथीले आएर रेफ्रीलाई पछारेपछि रद्द भएको खेल पुनः सुचारु भएको थियो । त्यसपछि द युगले ठगुलाई रिङबाटै च्यालेन्ज गरेका थिए ।

ठगु र द युगबीच प्रतिस्पर्धा एकदमै डरलाग्दो भएको थियो । दुवैले एकअर्कामाथि रिङभित्र र बाहिर रहेका बस्तुहरू प्रहार गरेका थिए । उनीहरूबीच भएको खेलमा टेबल, कुर्सी, फलामको चेन, सिँढी लगायत त्यहाँ वरपर रहेका वस्तुहरू एकअर्कामाथि प्रहार भएको थियो ।

निकै घमासान भएको खेलमा रगतको खोला नै बगेको थियो, तर अन्त्यमा आएर द युगले ठगुलाई उठ्नै नगरी पछारेपछि जित हात पार्न सफल भए । यो सँगै द युगले आइरन म्यानको उपाधि पाए ।

नेपाल रिङ रेस्लिङ संघको आयोजनामा सञ्चालन भएका दुई दिने रिङ रेस्लिङ प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल, राखेप सदस्य सदस्य, राजेश गुरुङ, हरि खड्का, गण्डकी प्रदेशका खेलकुद् सदस्यसचिव तेज गुरुङ, राखेप सदस्य आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठलगायतले खेलाडीलाई पुरस्कृत गरेका थिए ।