‘विद्यालयस्तरीय गल्फ खेल सुरु गर्दै राजर्षी गुरुकूल

‘विद्यालयस्तरीय गल्फ खेल सुरु गर्दै राजर्षी गुरुकूल



नेपालमा पहिलो पटक स्कुल स्तरमा गल्फ प्रतियोगिताको सुरुवात भएको छ । राजर्षी गुरुकूल स्कुलले स्कुल स्तरमा गल्फको प्रतियोगिता सुरु गरेको हो ।

नेपालका चर्चित गल्फ खेलाडी प्रदीपकुमार श्रेष्ठले प्रतियोगिताको उद्घाटन गरे । सो विद्यालयले विद्यार्थीमा रहेको प्रतिभालाई उजागर गर्न विभिन्न किसिमका अतिरिक्त क्रियाकलापहरू संचालन गर्दै आएको छ । जसमा गल्फ पनि एक रहेको छ ।

यसैको निरन्तरता र विकासको सिलसिलामा ‘स्वस्थ जीवनको लागि खेलकुद र असल शिक्षाको लागि स्वस्थ शरीर’ भन्ने आदर्श वाक्यलाई मध्यनजर राखी विद्यालयले खेलकुदलाई पनि जोड दिएको छ । जसमा पौडी, हकी, क्रिकेट, फुटबल, बास्केटबल, स्केटिङ लगायतका खेलकुद क्रियाकलापहरू विगत वर्षहरुदेखि नै गर्दै आएकोमा यस वर्षदेखि गल्फ खेलको पनि शुरुवात गरिएको हो ।

गल्फ खेलको प्रारम्भ गर्दै प्रमुख अतिथि श्रेष्ठले विद्यालयले गरेको यो खेलको शुरुवातले विद्यार्थीहरुमा अन्तरनिहित रहेको प्रतिभालाई प्रस्फुटन गर्न र विद्यार्थीहरूको शारीरिक, मानसिक, बौद्धिक र संवेगात्मक विकासमा महत्वपूर्ण टेवा पुग्ने बताए । गल्फ खेलमा इच्छुक खेलाडीहरुलाई आवश्यक प्रशिक्षण र अन्य सहयोग गर्न आफू तत्पर रहेको बताउँदै यस खेललाई आउटडोरतर्फ विकास गर्ने बताइएको छ ।

विद्यालयका अध्यक्ष राजेश चौधरीले विद्यालयले विद्यार्थीहरुको चौतर्फी विकासको लागि निरन्तर प्रयास गरिरहेको र यस कार्यमा सबै पक्षबाट यथोचित सहयोग र सद्भाव कायम रहेको जानकारी दिए । आगामी दिनमा अभिभावक र विद्यार्थीहरुको हितको लागि थप कार्यक्रमहरु संचालन गर्ने योजना रहेको बताए ।

अतिरिक्त क्रियाकलाप अन्तर्गत खेलकुदको क्षेत्रमा गल्फ खेलको शुरुवात गरेर विद्यालयले एउटा फड्को मारेको कुरा बताउँदै आगामी दिनहरुमा पनि यस किसिमका गतिविधि थप गर्दै लैजाने बताए ।