काठमाडौंको सानो भर्याङस्थित स्वस्तिश्री गुरुकुलले निर्माण गरेको एसजी इन्डोर हिटिङ पौडी पोखरीको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।
२५ मिटर लम्बाइ रहेको पौडी पोखरी ५ लेनको छ । नेपालमा भएको आठौँ दक्षिण एसियाली खेलकुदअन्तर्गत महिला टिम इभेन्टकी स्वर्ण विजेता नयना शाक्य प्रशिक्षकका रुपमा रहेकी छन् ।
नेपालमै भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) को पौडीमा सहभागिता जनाएका चार खेलाडी उपास्ती महर्जन, अनुसिया तण्डुकार, तेन्जिङ रायन र सेरेन सिंह पनि स्वस्तिश्री गुरुकुलमै अध्ययनरत छन् । १३औँ सागमा अनुसियाले रिलेमा कांस्य पनि जितेकी थिइन् ।
प्रशिक्षक शाक्यले इन्डोर हिटिङ पौडी पोखरी भएकाले बाह्रै महिना सञ्चालनमा आउने भएको हुँदा नयाँ खेलाडी उत्पादनमा बढी सहयोग पुग्ने बताउदै राष्ट्रलाई पदक दिलाउने खेलाडी उत्पादन गर्नु आफ्नो लक्ष्य भएको बताइन् ।
मन्त्री श्रेष्ठले देशको प्रतिष्ठा अभिवृद्धि गर्ने महत्वपूर्ण माध्यम मध्यको एक खेलकुदलाई पनि प्राथमिकतामा राखि विभिन्न खेलको पूर्वाधार निर्माण गरेकोमा विद्यालय परिवारको प्रशंसा गर्दै धन्यवाद दिए ।
स्वस्तिश्री गुरुकुलका प्राचार्य डा. हिमलाल घिमिरेले विद्यार्थीलाई पढाइका अलवा खेलुकदमा पनि संलग्न गराउने उद्देश्यले विद्यालय हातामा पौडी पोखरी बाहेक फुटसल, बास्केटबल, टेबलटेनिस, ब्याडमिन्टन, इन्डोर कभर्डहल, जिम हललगायतका संरचना पनि निर्माण गरिएको जानकारी दिए ।
स्वस्तिश्री गुरुकुलका अध्यक्ष रामकृष्ण चित्रकारले पौडी पोखरी निर्माण गर्न करिब १० करोड खर्च भएको बताउदै विद्यालय हातामा रहेका पूर्वाधार राज्यलाई आवश्यक परेमा सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाए ।
प्रतिक्रिया