जापानको नारिता र हानेदा अन्तरराष्ट्रिय उडान गर्ने यात्रुले अब टिकट र पासपोर्ट देखाउन नपर्ने

जापानको नारिता र हानेदा अन्तरराष्ट्रिय उडान गर्ने यात्रुले अब टिकट र पासपोर्ट देखाउन नपर्ने


  • जापान प्रतिनिधि

जापानको नारिता र हानेदा अन्तरराष्ट्रिय उडानका लागि फेशियल रिकग्निशन प्रणाली जडान गरिने भएको छ । आगामी जुलाईदेखि यो प्रणाली जडान भएपछि अन्तरराष्ट्रिय उडानमा बोर्ड गर्दा यात्रीहरुले टिकट र पासपोर्ट देखाउनुपर्ने छैन ।

फेस एक्सप्रेस नामक यस प्रणालीले विमानभित्र प्रवेश गर्दाखेरि नै सबै यात्रीहरुको स्वतः भेरिफाई गर्नेछ । कर्मचारीहरुले एक एक गरेर गेटमा एयरलाइन टिकट र पासपोर्ट जाँच्नु पर्ने आवश्यकता पर्ने छैन ।

यो सम्पर्कविहीन फेशियल रिकग्निशन प्रक्रिया विश्वका केही विमानस्थलमा यसअघि नै प्रयोगमा आइसकेको छ । चेक–इन गर्दा नै यात्रीहरुले आफ्नो मुहारको फोटो दर्ता गराएका हुन्छन् ।

पछि विमानभित्र चढ्दा क्यामराले यात्रीहरुको मुहारको स्क्यान गर्छ । यसले चेक–इन डेस्कबाट विमानभित्र छिर्दाको प्रक्रिया छिटो बनाउनुको साथै कोभिड–१९ को संक्रमण कम गर्न पनि मद्दत गर्ने विश्वास लिइएको छ ।