सङ्क्रमण बढे पनि आतङ्कित नहुन मन्त्री त्रिपाठीको आग्रह

सङ्क्रमण बढे पनि आतङ्कित नहुन मन्त्री त्रिपाठीको आग्रह


लकडाउन नगरिने प्रष्टोक्ति


स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड-१९ को सङ्क्रमण बढे पनि आतङ्कित हुनुपर्ने अवस्था नरहेको बताउनुभएको छ । त्रिकाल प्रोडक्सनले आयोजना गरेको नेपाल स्वास्थ्य सम्मेलन-२०२१ को मंगलबार उद्घाटन गर्दै उहाँले छिमेकी मुलुकमा कोभिड-१९ को सङ्क्रमण बढे पनि नेपालमा सङ्क्रमण बढ्न नदिने बताउनुभयो । भारतमा सङ्क्रमण बढ्दै गएकाले नेपालमा पनि फेरि सङ्क्रमणको जटिलता थपिएको उहाँको स्वीकारोक्ति थियो ।

मन्त्री त्रिपाठीले सीमा नाकामा एन्टिजेन परीक्षण गरेर सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गरिने जानकारी दिनुभयो । सीमा नाकाबाट आउने सङ्क्रमितलाई राख्न आइसोलेसन, क्वारेन्टिन बनाउने कार्य पनि शुरु गरिएको जानकारी दिँदै उहाँले सञ्चारमाध्यमलाई पनि सङ्क्रमणको त्रास फैलाउने गरी समाचार सम्प्रेषण नगर्न आग्रह गर्नुभयो ।

‘अहिले सङ्क्रमणको कारणले आतङ्कित हुनुपर्ने अवस्था छैन, आतङ्कित हुनु भनेको सङ्क्रमणलाई बढवा गर्नु हो, आतङ्कित नभई कोभिड-१९ को सावधानी र सतर्कता अपनाउनुपर्दछ’ भन्दै मन्त्री त्रिपाठीले पुनः बन्दाबन्दीको अवस्थामा नजाने स्पष्ट पार्नुभयो । ‘हामी फेरि मुलुक बन्दाबन्दीको अवस्थामा जाओस् भनेर चाहँदैनौँ, बन्दाबन्दीभन्दा अगाडि गर्नुपर्ने महत्वपूर्ण कदम सरकारले चाल्न गइरहेका छौँ’, मन्त्री त्रिपाठीको भनाइ छ ।

चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड-१९ विरुद्धको खोप ‘भेरोसेल’ बुधबारदेखि लगाउन शुरु गर्ने पनि उहाँले जानकारी दिनुभयो । भोलिदेखि ४० देखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई उक्त खोप दिइने छ ।

सो सम्मेलनमा नेपालका लागि अमेरिकाका राजदूत ऱ्याण्डी वेरीले अमेरिकी सरकारले नेपाललाई स्वास्थ्य क्षेत्रमा सहयोग पुऱ्याउँदै आएको भन्दै कोभिड-१९ को रोकथाम र नियन्त्रणमा सहयोग गर्दै आइरहेको जानकारी दिनुभयो ।

pict:rss