सेनाको राष्ट्रिय च्याम्पियन छवि थप उजागर

सेनाको राष्ट्रिय च्याम्पियन छवि थप उजागर


नेपालले दोस्रो चरणमा भारतको बेङ्गलुरु फुटबल क्लबसँग खेल्ने

त्रिभुवन आर्मी फुटबल क्लबले एक पटक फेरि सङ्गठनको साखसँगै मुलुकको इज्जत बढाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको एएफसी कप–२०२१ खेलमा सेनाले श्रीलङ्का पुलिस स्पोर्ट्स क्लबलाई १ का विरुद्ध ५ गोलले पराजित गरेको छ ।

सेनालाई विजयी तुल्याउन नवयुग श्रेष्ठले २ दुई तथा सन्तोष तामाङ, टङ्कबहादुर बस्नेत र सुदिल राईको एक– एक गोलको योगदान रह्यो । उक्त विजयसँगै सेनाको टीम दोस्रो चरणमा प्रवेश गरेको छ ।

नेपालको लगातार दबाबका बावजुद श्रीलङ्का पुलिस स्पोर्ट्सका इभान्सले खेलको २८औँ मिनेटमा गोल गर्दै श्रीलङ्का पुलिसलाई शुरुआती अग्रता दिलाए पनि त्यो उसका लागि क्षणिक खुशी रहन पुग्यो । सेनाका सन्तोष तामाङले ४१ औँ मिनेटमा गरेको गोलले निकै वाहीवाही पायो । त्यसको दुई मिनेटमै अर्थात खेलको ४३ औँ मिनेटमा नवयुग श्रेष्ठको गोलले नेपालाई सहजै अग्रता दिलायो ।

खेलको ५०औँ मिनेटमा टङ्क बस्नेतले गरेको गोलले नेपाललाई सशक्त फुटबल खेलाडी उत्पादन गरिरहेको मुलुकका रूपमा परिचित गरायो । एएफसीको क्लब लाइसेन्स प्राप्त गरेपछि सेनाको टिम पहिलो पटक प्रतियोगितामा सहभागी भएको हो । प्रतियोगिताको ८३औँ मिनेटमा सुदिल राईले गरेको गोलले नेपाललाई ४–१ को अग्रता दिलायो । इन्जुरी समयमा नवयुगको दोस्रो गोलसँगै सेनाले ५–१ को फराकिलो अन्तरको जित हात पार्न सफल भयो ।

एशियन फुटबल कन्फेडेरेसन (एएफसी) को कार्यक्रमअनुसार त्रिभुवन आर्मी फुटबल क्लबको आयोजनामा उक्त एएफसी कप-२०२१ भएको हो । दर्शकको बाक्लो उपस्थिति रहेको उक्त खेलले विभागीय टोलीका रूपमा रहेको सेनाको खेलकुद क्षेत्रको च्याम्पियनको छविलाई थप उजागर गरेको छ । नेपालले दोस्रो चरणमा भारतको बेङ्गलुरु फुटबल क्लबसँग खेल्नेछ । उक्त प्रतियोगिता वैशाख १ गते हुँदैछ ।

विजय प्राप्त गरेपछि त्रिभुवन आर्मी क्लबका मुख्य प्रशिक्षक नवीन न्यौपानेले दोस्रो चरण प्रवेश गर्ने टिमको पहिलो लक्ष्य पूरा भएको प्रतिक्रिया दिए ।

पछिल्ला वर्षमा खेलकुद क्षेत्रमा सेनाले उल्लेखनीय सफलता हासिल गरिरहेको छ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेना राष्ट्रिय च्याम्पियन बनेको थियो । दक्षिण एशियाली केलकुद (साग) मा १७९ सैनिक खेलाडीका सहभागी भएको सेनाले नेपालको खेलकुदको छविलाई विश्व समुदायमा उजागर गरेको थियो ।

pict:rss