ठगीमा संलग्न एनआरएनए अगुवाको घरजग्गा रोक्का गर्न नेपाल सरकारसँग माग

ठगीमा संलग्न एनआरएनए अगुवाको घरजग्गा रोक्का गर्न नेपाल सरकारसँग माग



गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको घर जग्गा रोक्का गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरिएको छ । पोर्चुगलका लागि अवैतनिक महावाणिज्यदूत मकर हमालको संयोजकत्वमा भएको सर्वपक्षीय भेलाले यस्तो निर्णय गरेको हो ।

कुँवरले पोर्चुगलमा सञ्चालन गर्दै आएको लक्ष्मी ट्राभलले ११ नेपाली समुदायको हवाई टिकट नक्कली बनाएको भन्ने समाचार बाहिर आएपछि पोर्चुगलस्थित अवैतनिक महावाणिज्यदूत र फ्रान्सस्थित नेपाली राजदुतावासमा गुनासो गर्नेको सङ्ख्या बढेको बताइएको छ । अहिलेसम्म १५० जनाभन्दा बढी पीडित आफ्नो नक्कली हवाई टिकट र नक्कली रसिदसहित सम्पर्कमा आएको एनआरएनएले जनाएको छ ।

गत बुधबार भएको सर्वपक्षीय भेलाले सामाजिक संस्थाको पदमा बसेका व्यक्तिले यति ठूलो बदमासी गर्नु निकै दुःखद भएको ठहर गरेको छ । साथै कुँवरविरुद्ध पोर्चुगल प्रहरीमा उजुरी दिइसकेको सन्दर्भमा अब बाँकी मुद्दा काउन्सिलरको कार्यालयले जिम्मेवारी लिएर पहलकदमी गरिदिने अवैतनिक महावाणिज्यदूत हमालको भनाइ छ ।

सञ्चालक कुँवर भने अहिले फरार छन् । नेपाली समुदायलाई ठगेको सूचना सार्वजनिक भएलगत्तै पोर्चुगलका नेपाली सामाजिक सङ्घसंस्थाले विरोध गरेका थिए । उनीहरूले आरोपित पीडकलाई कारवाही गर्न र पीडितलाई न्याय दिन एनआरएनए पोर्चुगल, अवैतनिक महावाणिज्यदूत तथा नेपाली राजदूतावास फ्रान्सको ध्यानाकर्षण गर्दै विज्ञप्ति निकालेका थिए ।