प्राथमिकता समूहमा नभएको भए पनि जनवरीमा कोरोना भाइरस खोप लगाएको पुष्टि भएपछि जर्मनीका एक मेयरलाई उनको आफ्नै नगर काउन्सिलले निलम्बन गरेको छ ।
जर्मनीको मध्य शहर हेलेको मेयर बनार्ड वाइगान्डलाई अस्थायी रूपमा निलम्बन गर्न नगरका ३४ परिषद् सदस्यहरूले मतदान गरेपछि उनी जिम्मेवारीबाट अनिश्चितकालका लागि निलम्बित भएका हुन् ।
६४ वर्षीय वार्यगान्डले यसअघि नै जनवरीमा आफूले खोप लिएको स्वीकार गरेका थिए। । उक्त समयमा समुदायका जेष्ठ सदस्यहरूलाई खोप दिने क्रममा उनले पनि खोप लगाएका थिए ।
अन्य सहरका कर्मचारी र धेरै परिषद् सदस्यहरूले पनि उनीहरूको पालो आउनुभन्दा पहिले खोप लिएका थिए । उनीहरूलाई पनि कारबाही गरिने स्थानीय प्रशासनलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।
निलम्बनमा परेका नगर प्रमुखले आफूले अवैध वा अनैतिक काम नगरेको बरु खोपकोे अत्यधिक मात्रा खेर जानबाट जोगाउन आफू लगायत केही व्यक्तिले खोप लगाएको तर्क गरेका छन् ।
‘अहिले आएर मेरो निर्णयको आलोचना गर्न सजिलो छ, तर यो कुनै पनि हिसाबले अवैधानिक थिएन’, उनले मार्चमा एक विज्ञप्ति जारी गरी भनेका थिए । ‘मेरा विरोधीहरूले मेरो राजनीतिक भविष्यमाथि दाग लगाउन उक्त आरोप लगाएका र यो निर्णय गलत छ’– उनले आफ्नो बचाउमा भनेका छन् ।
प्रतिक्रिया