आईपीएलको १४औँ संस्करण आजदेखि शुरु

आईपीएलको १४औँ संस्करण आजदेखि शुरु



कोरोना भाइरसको महामारीको बाबजुद विश्वकै सबैभन्दा लोकप्रिय क्रिकेट लिग ‘इन्डियन प्रीमियर लिग (आइपीएल)’ को चौधौँ संस्करण आज (२७ चैत्र)देखि शुभारम्भ हुँदैछ ।

अहमदावादस्थित विश्वकै सबैभन्दा ठूलो ‘नरेन्द्र मोदी क्रिकेट स्टेडियम’मा हुने उद्घाटन खेल पाँच पटकको विजेता डेफेन्डिङ च्याम्पियन मुम्बइ इन्डियन र एक पटक पनि उपाधि जित्न नसकेको रोयल च्यालेञ्च बैंगलोर बीच हुनेछ ।

मुम्बइको कप्तानी रोहित शर्माले गरेका छन् भने बैंगलोरको कप्तानी भारतीय राष्ट्रिय टीमका कप्तान विराट कोहलीले सम्हालेका छन् ।

भारतमा बढ्दो कोरोना संक्रमणलाई मध्यनजर राख्दै बीसीसीआईले दर्शकहरुलाई रङ्गशालामा प्रवेशको लागि निषेध गरेको छ । १४औँ संस्करणको आयोजना सम्बन्धमा नै विभिन्न प्रश्न उठको बेलामा बीसीसीआईले यस्तो निर्णय गरेको हो ।

कोरोना महामारीकै कारण यो पटक भारतका ६ शहरमा मुम्बई, अहमदावाद, कोलकोता, चेन्नई, दिल्ली र बैंगलोरमा प्रतियोगिताको आयोजना हुँदैछ ।

आईपीएलको लिग चरणका २० खेल चेन्नइ र मुम्बइमा हुनेछन् । त्यस्तै, अर्को चरणका १६ खेल अहमदावाद र दिल्लीमा आयोजना गरिने छ भने लिगको अन्तिम २० खेल कोलकोता र बैंगलोरमा आयोजना हुने बीसीसीआईले जनाएको छ ।

प्रतियोगिता ५० दिनसम्म चल्नेछ ।