सरकारबाट फिर्ता हुन चार मन्त्रीलाई जसपाको ‘२४ घण्टे अल्टिमेटम’

सरकारबाट फिर्ता हुन चार मन्त्रीलाई जसपाको ‘२४ घण्टे अल्टिमेटम’


  • बुटवल प्रतिनिधि

लुम्बिनी प्रदेश सरकारमा सोमबार शपथ लिएका चार जना मन्त्रीलाई जनता समाजवादी पार्टीले स्पष्टिकरण मागेको छ ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको उक्त पार्टीले आफ्नै पार्टीका चार जना सांसद मन्त्री बन्न गएपछि मंगलबारसम्म फिर्ता हुन (२४ घण्टे म्याद) निर्देशन दिएको छ ।

पार्टिका लुम्बिनी प्रदेश अध्यक्ष अशोक कुमार यादवले विज्ञप्ती जारी गरी पार्टीको सोमबार बिहान बसेको बैठकले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव लैजाने निर्णय गरेको विपरीत मन्त्रिपरिषदमा सहभागी भएको भन्दै फिर्ता हुन निर्देशन दिएको हो ।

विज्ञप्तीमा सरकारबाट फिर्ता भई २४ घण्टाभित्र चित्तबुझ्दो स्पष्टिकरण दिन निर्देशन दिँदै त्यतिन्जेलसम्मका लागि पार्टीका सम्पुर्ण जिम्मेवारीबाट हटाउने निर्णय गरेको उल्लेख छ ।

यसै क्रममा नवनियुक्त सामाजिक विकास मन्त्री कल्पना पाण्डेले लुम्बिनी प्रदेशमा संघीय समाजवादी र राजपाबीच एकिकरणको प्रक्रिया टुंगो नलागेकोले आफूलाई जनता समाजवादीको कुनै प्रकारको निर्देशन मान्य नहुने प्रतिक्रिया दिएकी छन् ।

ुलुम्बिनी प्रदेशमा पार्टी एकिकरण प्रक्रिया अगाडि बढेको छैन, त्यसैले जनता समाजवादीका नाममा हुने कुनै पनि स्पष्टिकरण र निर्देशन लागु हुन सक्दैनु, मन्त्री पाण्डेले भनिन् ।

नेपाली कांग्रेसको अगुवाइमा नेकपा माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरी दर्ता गरेको एक घण्टा नबित्दै जनता समाजवादी पार्टीका सांसदहरु पोखरेल नेतृत्वकै सरकारमा सहभागी भएका थिए ।

त्यसैगरी, जसपाका ४ जना सांसद मन्त्री बनेको १ घण्टा नबित्दै उनीहरुलाई सरकारबाट फिर्ता हुने निर्देशन आएको हो ।