माधवलाई आफ्नै मान्छे जोगाउन सकस !

माधवलाई आफ्नै मान्छे जोगाउन सकस !



प्रतिनिधिसभाका एकसय बीस एमालेका सदस्यहरूमध्ये त्रिचालिस जना आफ्नो पक्षमा रहेको दाबी गर्नुहुने मधवकुमार नेपालले आफूसँगै सती जान तयार साथी सांसदहरूको सङ्ख्या दुई दर्जन पनि पुऱ्याउन सक्नुभएको छैन । माधव नेपालले परिआए ‘फ्लोर क्रस’ गर्न तयार हुने सांसद सङ्ख्या तेइससम्म हुने विश्वास गर्नुभएको हो, तर आफ्नो राजनीतिक भविष्य नै जोखिममा राखेर ‘फ्लोर क्रस’ गर्ने सांसद सङ्ख्या तेह्रदेखि बीससम्म हुने ठानिएको छ ।

सूर्य चिन्ह र नेकपा एमाले नाम जता रहन्छ त्यतै आफ्नो भविष्य देख्नेहरूले केपी ओलीप्रति गम्भीर असहमति रहँदारहँदै पनि माधवलाई छोडेर एमाले रोजेका छन् । केपी नेतृत्वको सरकारले निरन्तरता पाइरहने या केपीकै सरकारले चुनाव गराउने स्थितिमा अहिले माधवका पक्षमा देखिएका धेरैजसोले उहाँको साथ छोड्ने सम्भावना प्रबल छ । तर कदाचित केपीलाई सत्ताच्यूत गर्न सकियो भने त्यस्तो अवस्थामा केपीलाई छोडेर कतिपय सांसद माधवतिर सर्न सक्ने सम्भावना पनि छ ।

माधव नेपालका पक्षमा पहिले झलनाथ खनाल, सुरेन्द्र पाण्डे, भीम रावल, पवित्रा निरौला, भवानी खापुङ, योगेश भट्टराई, लालबाबु पण्डित, पुष्पा कर्ण कायस्थ, जयकुमार राई, यज्ञराज सुनुवार, नारायण खतिवडा, विरोध खतिवडा, गणोशकुमार पहाडी, जीवनराम श्रेष्ठ, रामवीर मानन्धर, कृष्णलाल महर्जन, शेरबहादुर तामाङ, गोकर्ण बिष्ट, सरलाकुमारी यादव, मुकुन्द न्यौपाने, विमला विश्वकर्मा, कृष्णभक्त पोखरेल, सोमप्रसाद पाण्डे, हिराचन्द्र केसी, मेटमणि चौधरी, घनश्याम भुसाल, राजबहादुर बुढा, धनबहादुर बुढा, गोपाल बम, यज्ञ बोगटी, ध्रुवकुमार शाही, दीपकप्रकाश भट्ट, झपट बहादुर रावल, रामकुमारी झाँक्री, समिना हुसेन, पार्वतीकुमार बिसुङ्खे, तुलसी थापा, कल्याणी खड्का, मायादेवी न्यौपाने, लक्ष्मीकुमार चौधरी, कालिका खान र नीरादेवी चौधरी थिए ।

उल्लिखित सांसदहरूमध्ये अधिकाङ्शले माधवलाई छोडेर केपीलाई समर्थन दिइसकेका छन् । अरु त अरु योगेश भट्टराईले समेत माधवको साथ छोडेर केपीलाई साथ दिने सम्भावना छ । अन्त्यमा भीम रावल, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ, गोकर्ण विष्ट, घनश्याम भुसाल, मुकुन्द न्यौपाने, दीपकप्रकाश भट्ट, रामकुमारी झाँक्री र झलनाथ खनालबाहेक अरु कतिजना सांसद माधव नेपालका पक्षमा उभिने हुन् प्रतीक्षाको विषय बनेको छ ।

संसद् विघटन भयो र केपीकै नेतृत्वको सरकारले निर्वाचन गराउने अवस्था रह्यो भने माधवको शक्ति थप क्षयीकरण हुन सक्ने प्रबल सम्भावना छ । केपीलाई विस्थापित गर्न सकेको खण्डमा मात्र माधव आफ्नो राजनीतिक भविष्य सुनिश्चित गर्न समर्थ बन्न सक्ने अवस्था छ । तर केपीलाई पदमूक्त गर्ने सामर्थ्य जुटाउन सकिने स्थिति अहिलेसम्मम देखिएको छैन ।