प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त
कोभिड–१९ उपचारका लागि तोकिएको भारतको महाराष्ट्र राज्यस्थित एक अस्पतालमा बुधबार अक्सिजन चुहावटका कारण आपूर्तिमा समस्या आउँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा मुम्बईबाट करिब २०० किलोमिटर उत्तरमा रहेको डा. जाकिर हुसैन अस्पतालमा चुहावटका कारण भेन्टिलेटरमा रहेका बिरामीलाई अक्सिजन आपूर्तिको गम्भीर अभावको सामना गर्नुपर्दा यो त्रासदीपूर्ण घटना भएको हो ।
नासिकमा रहेको उक्त अस्पताललाई अक्सिजन आपूर्तिका लागि राखिएको ट्याङ्करमा करिब आधा घण्टा चुहावट भएको र यसका कारण अस्पतालमा अक्सिजनको अभाव हुँदा बिरामीको मृत्यु भएको बताइएको छ ।
उक्त समस्याका कारण करिब ६० जना गम्भीर बिरामीको स्वास्थ्यमा प्रभाव परेको स्थानीय अधिकारी सुरज मन्धारेले बताएका छन् ।

घटनापछि अस्पतालमा बिरामीका शोकाकुल आफन्तहरू जम्मा भई अस्पताल प्रशासनको लापरबाहीप्रति विरोध जनाएका थिए । अस्पतालमा रहेका १७० बिरामीमध्ये केहीलाई घटनापछि उनीहरूका आफन्तहरूको पहलमा अन्यत्र लगिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
घटनाप्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमार्फत् एक सन्देश लेख्दै भनेका छन्, ‘भारतको कोभिड-१९ बाट प्रकोपको केन्द्रबिन्दु महाराष्ट्र राज्यमा भएको अक्सिजन चुहावटपछि बिरामीको मृत्यु भएको भनिएको घटना हृदयविदारक त्रुटी हो ।’
राज्यका मुख्यमन्त्री उद्धव ठाकरेले घटनाप्रति दुःख व्यक्त गर्दै शीघ्र छानबिनको लागि निर्देशन दिएका छन् ।
प्रतिक्रिया