संस्थापन पक्षसँग असन्तुष्ट हुँदै बेग्लै अभियान सञ्चालन गरिरेहका माधव नेपाल, झलनाथ खनाललगायतका एमाले नेताहरुले आफूहरुलाई नेकपा (एमाले) मा रहन नदिन अनेक दाउपेचहरू गरिएको आरोप लगाएका छन् । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा संयुक्त अपिल जारी गर्दै केपीविरोधि एमाले नेताहरुमध्येका पन्ध्र नेताले आफूहरुले पार्टी एकता जोगाउनका लागि कसरत गरिरहेको दाबी पनि गरेका छन् ।
जारी अपिलमा भनिएको छ- ‘हामीले नेकपा (एमाले) को एकतालाई बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ भनेका छौं । त्यसका निम्ति फागुन २८ र तत्पश्चात भएका कथित बैठक र तिनका अवैध निर्णय सबैै रद्ध गरिनुपर्छ र २०७५ जेष्ठ २ गते जुन केन्द्रीय कमिटी थियो त्यसको पूर्ण बैठक बसेर अब कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा निर्णय गर्नुपर्दछ । यदि त्यसो भयो भने नेकपा (एमाले) को एकता जोगिन्छ ।’
२०७७ फागुन २३ गते भएको सर्वोच्च अदालतको निर्णयले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकिकरण पूर्वको अवस्थामा फर्काएपछि नेकपा एमालेको पार्टी जीवन २०७५ जेष्ठ २ गतेबाट शुरु गर्नु पर्छ भन्ने कुरा सामान्य चेतना भएको जोसुकैले बुझ्ने कुरा भएको जिकिर गर्दै अपिलमा भनिएको छ- ‘पार्टीअध्यक्षले फागुन २८ गते करिब ठूलो सङ्ख्यामा रहेका केन्द्रिय पदाधिकारी तथा सदस्यहरूलाई थाहासमेत नदिई आफ्नो गुटको भेला गरेर स्वेच्छाचारी ढङ्गले निर्णय गर्दै त्यसैलाई केन्द्रिय कमिटीको बैठक भनेर वक्तव्य प्रकाशित गरेपछि अहिलेको सङ्कट आएको छ ।’
उक्त अपिल झलनाथ खनाल, माधव कुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण बिष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने, सुरेन्द्र पाण्डे, रघुजी पन्त, बेदुराम भुसाल, अमृतकुमार बोहरा र प्रमेश हमालको नामबाट संयुक्त रुपमा जारी गरिएको छ ।
हेर्नुहोस् अपिल जस्ताको तस्तै-
प्रतिक्रिया