नेकपा (एमाले) स्थायी कमिटीमा को-को ?

नेकपा (एमाले) स्थायी कमिटीमा को-को ?


मूलप्रवाहमा फर्कने नेता-कार्यकर्तालाई एमालेमा उचित जिम्मेवारी दिइने

नेकपा (एमाले)को शुक्रबार सम्पन्न महाधिवेशन आयोजक समितिको दोस्रो बैठकले विगतका आफ्ना क्रियाकलाप र भूमिकाको आत्मसमीक्षा गर्दैै मूलप्रवाहमा फर्कने नेता-कार्यकर्तालाई बिनापूर्वाग्रह स्वागत गर्दै सम्मानपूर्ण व्यवहार र उचित जिम्मेवारी दिने लगायत ११ बुँदे प्रस्ताव पारित गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले सर्वाेच्च अदालतको गत फागुन २३ गतको फैसलाले एमालेलाई नेकपा (माओवादी केन्द्र)सँगको एकतापूर्वको अवस्थामा ल्याइदिएपछि विगतका कमीकमजोरीप्रति आत्मालोचित भएर पार्टीमा क्रियाशील हुनुको साटो पार्टीका केही नेता गुटगत भेला, समानान्तर गतिविधि र अर्को समूह निर्माण गर्ने उद्देश्यले अराजक एवम् विभाजनकारी क्रियाकलापमा सङ्लग्न भएको उल्लेख गर्दै त्यस्ता कार्य आम कार्यकर्ताको भावनाविरुद्ध तथा देश, जनता तथा कम्युनिष्ट आन्दोलनका लागि हानिकारक हुने ठहर गरेको छ ।

बैठकले त्यस्ता क्रियाकलाप अविलम्ब बन्द गर्न, पार्टीका नीति र नेतृत्वका पक्षमा उभिन र पार्टी एकतामा योगदान गर्न आह्वान गर्दै त्यस्ता क्रियाकलाप जारी रहे पार्टीको विधान आकर्षित हुनेतर्फ पुनःसचेत गराएको छ । ‘भूलवश समानान्तर कमिटीमा रहेकालाई त्यसबाट अलग हुन आह्वान गर्दछ । जनप्रतिनिधिलाई आफूलाई उम्मेदवारी दिने पार्टी र मत दिने मतदाताको भावनाको सम्मान गर्दै अनुशासित ढङ्गले अगाडि बढ्न आह्वान गर्दछ ।’ बैठकबाट पारित प्रस्तावमा भनिएको छ ।

एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीद्वारा जारी विज्ञप्तिमा जनाइएअनुसार पार्टी एकताको पक्षमा, सही विचार, नेतृत्वका पक्षमा दृढतापूर्वक उभिने देशभरका नेता एवम् कार्यकर्ता, जनप्रतिनिधि एवम् पार्टी सदस्य एवम् शुभचिन्तक एवम् न्यायप्रेमी जनसमुदायप्रति बैठकले आग्रह गरेको छ ।

बैठकले हालका लागि अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल तथा सदस्य वामदेव गौतम, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, टोपबहादुर रायमाझी, प्रदीप ज्ञवाली, शङ्कर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, लेखराज भट्ट, मणिचन्द्र थापा, किरण गुरुङ, सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा, विष्णु रिमाल, रघुवीर महासेठ, केशव बडाल र डा. पुष्पराज कँडेलसहितको १९ सदस्यीय स्थायी कमिटी गठन गरेको छ ।