जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र निकास विषयमा केन्द्रित रही छलफल भएको छ । पार्टी कार्यालय बालकुमारीमा पार्टी पदाधिकारीबीच समसामयिक राजनीतिक परिस्थिति र पार्टीले खेल्न सक्ने भूमिकामा केन्द्रित रहेर छलफल भए पनि कुनै ठोस निर्णय र निष्कर्षमा नपुगेको जानकारी दिइएको छ ।
अध्यक्ष उपेन्द्र यादव र नेता डा. बाबुराम भट्टराईले वर्तमान राजनीतिक निकासका लागि कार्यकारिणी समितिबाट निर्णय गरेर अघि बढ्न उचित हुने भएकाले केही दिनभित्रै बैठक बोलाउन प्रस्ताव गरेको कार्यकरिणी समिति सदस्य केशव झाले जानकारी दिएका छन् ।
अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले भने कोभिड-१९ को सङ्क्रमण जोखिम बढिरहेको र लकडाउनका अवस्थामा घोषणा भइसकेकाले सहज अवस्था नरहेको जनाउँदै छलफलमा कोरोना सङ्क्रमणको गति केही मत्थर भएपछि मात्र बैठक राख्न उचित हुने धारणा राखेको पनि नेता झाले जानकारी दिए ।
पार्टीको माथिल्लो तहको निर्णय गर्ने अधिकारप्राप्त महत्वपूर्ण संरचनाका रुपमा जसपाको ५१ सदस्यीय कार्यकारीणी समिति छ । छलफलमा अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव तथा डा. भट्टराई, महतो, अशोककुमार राई र राजेन्द्रप्रसाद श्रेष्ठ सहभागी थिए ।
प्रतिक्रिया