सबै अस्पताललाई बहिरङ्ग सेवा स्थगन गरी कोभिड उपचारमा तयार रहन निर्देशन

सबै अस्पताललाई बहिरङ्ग सेवा स्थगन गरी कोभिड उपचारमा तयार रहन निर्देशन



स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई बहिरङ्ग सेवा बन्द गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले सबै अस्पताललाई पत्र लेख्दै कोभिड-१९ को दोस्रो लहर बढेकाले कोभिड संक्रमणविरुद्ध उपचारको व्यवस्थापन गर्नका लागि हाललाई बहिरङ्ग र इलेक्टिभ सर्जरी सेवालाई स्थगित गर्न निर्देशन दिएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले ती सेवा बन्द गरे पनि आकस्मिक सेवा भने सञ्चालन नै रहने जानकारी दिएका छन् ।

ज्ञातव्य छ, मंगलबार एकै दिन ४,५२४ जना कोरोना सङ्क्रमित भएको र १८ जनाको निधन भएको छ ।

कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो समय बिदा नदिन र यसअघि लामो बिदामा बसेका कर्मचारीलाई तुरुन्त कार्यालयमा हाजिर हुन पत्राचार गर्नसमेत निर्देशन दिएको उनले बताए ।

कार्यरत जनशक्तिमध्ये ५० प्रतिशत जनशक्तिको आलोपालो निर्धारण गरी सेवा व्यवस्थापन गर्न मन्त्रालयले निर्देशन दिएको छ । यस्तै मन्त्रालयले अस्पतालको स्वीकृत दरबन्दीअनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ति व्यवस्थापन गर्ने र रिक्त दरबन्दी भए ६ महिना करारमा लिनसमेत भनिएको छ । मन्त्रालयले सघन उपचार कक्ष (आइसियु) तथा आकस्मिक उपचारसम्बन्धी औजार र अक्सिजनको व्यवस्थापन गर्नसमेत सबै अस्पताललाई निर्देशन दिएको छ ।