आफू प्रधानमन्त्री बन्ने शतप्रतिशत निश्चित नभएसम्म नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन अग्रसर नहुने भएका छन् । देउवाको विचारमा अहिलेसम्म केपीका विरुद्ध अविश्वासको प्रस्ताव पारित हुन सक्ने स्थिति छैन ।
प्राप्त जानकारीअनुसार देउवामाथि प्रचण्ड, उपेन्द्र यादव, माधवकुमार नेपाल, कृष्ण सिटौला, रामचन्द्र पौडेल र बाबुराम भट्टराईले अविश्वासको प्रस्ताव ल्याउन दबाब दिँदै आएका छन् । यसरी दबाब दिनेहरू हरेकलाई देउवाले ‘बहुमत पुग्ने ग्यारेण्टी नभएसम्म अविश्वासको प्रस्ताव ल्याउनु उचित नहुने’ जवाफ दिँदै आएका छन् । तर यस क्रममा प्रचण्डसँग भने देउवाले अतिरिक्त प्रश्न पनि गरेका थिए । प्रचण्डले ‘छिट्टै अविश्वास प्रस्ताव ल्याएर तपाईं प्रधानमन्त्री भइदिनुपऱ्यो’ भन्नेबित्तिकै देउवाले प्रश्न गरेका थिए- ‘एमसिसी के गर्ने एमसिसी ?’
देउवाको यस्तो प्रश्नको जवाफमा प्रचण्डले भनेका थिए– ‘एमसिसी पारित हुन्छ । अहिले केपी ओली भएर यसको हामीले विरोध गरेको ! उसलाई हटाएर तपाईंलाई प्रधानमन्त्री बनाएपछि त एमसिसी पारित गरिहालिन्छ नि !’
देउवा र प्रचण्डको यस्तो संवाद नजिकै उभिएर सुन्ने (निकटवर्ती)हरू एमसिसीको विषयलाई लिएर देउवामा रहेको चिन्ता र एमसिसीबारे प्रचण्डको सोच देखेर स्तब्ध भएका थिए । उता प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाप्रति अलिक बढी नै कृतज्ञ रहेको महसूस ओलीका निकटवर्तीहरूले गर्दै आएका छन् । भारतलाई खुशी पार्न बिम्स्टेक तथा चीनलाई खुशी तुल्याउन बीआरआई सम्झौता गरेको ठान्ने प्रधानमन्त्री ओली अमेरिकालाई खुशी बनाउन ‘एमसिसी अनुमोदन’ गराउने पक्षमा भएको बुझिन्छ । प्रचण्डले देउवालाई दिएको जवाफले अर्को प्रकारको सत्ता गठबन्धन बने पनि एमसिसी पारित हुने सङ्केत दिएको छ । केपी नेतृत्वको सरकारले निरन्तरता पाएको र नपाएको दुवै अवस्थामा एमसिसी अनुमोदन हुने सम्भावना देखिए पनि यस कार्यमा सभामुख बाधक बन्ने सम्भावना भने यथावत छ ।
एमसिसी अनुमोदनलाई आफ्नो मूख्य एजेण्डा बनाउने शेरबहादुर देउवा केपी शर्मा ओलीसँग पनि निकटको सम्बन्ध बनाइराख्न सफल भएका छन् । केपीको सरकार विस्थापित गर्न नसक्दा केपीसँग मिलेर एमसिसी अनुमोदन गराउने र, ओलीलाई हटाएर आफू प्रधानमन्त्री बन्न सकेमा प्रचण्डसँग मिलेर अनुमोदन गराउने दाउमा रहेका देउवाले एकातिर केपीलाई ‘ढुक्क रहन’ भनेका छन् भने अर्कोतिर प्रचण्ड र उपेन्द्र यादवलाई पनि बहुमत जुटेको प्रमाणिक आधार बनिसकेपछि ‘खबर गर्न’ भनेको बताइन्छ ।
जसपाका कारण रोकिएको अविश्वास प्रस्ताव ल्याउने पक्षमा बहुमत जुटाउन उपेन्द्र यादव, आङ्काजी शेर्पा र बाबुराम भट्टराई यतिबेला ‘न्वारानदेखिको बल निकालेर’ लागिपरेका छन् । संसदीय दलमा बहुमत जुट्ने नदेखिएपछि उपेन्द्र यादव पक्ष पार्टीको कार्यसम्पादन समितिमा बहुमत जुटाएर निर्णय गराउने अभ्यास गर्दैछ । बहुमतबाट त्यस्तो निर्णय गर्न जसपा सफल भयो भने अविश्वासको प्रस्ताव दर्ता गराउन देउवा तयार हुने निश्चित मानिएको छ ।
प्रतिक्रिया