कोरोना भाइरसको सङ्क्रमणले तीव्रता लिएपछि सरकारले काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले काठमाडौंले जारी गरेको सूचनाअनुसार बिहीबार (१६ वैशाख) बिहान ६ बजेदेखि लागू हुने गरी अत्याआवश्यक बाहेकका अरु सबै सेवामा रोक लगाइएको छ । निषेधाज्ञा (कफर््यू) अवधिभर सार्वजनिक सवारी साधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ भने सभा–सम्मेलन आयोजना गर्न पनि पाइने छैन ।
निषेधाज्ञा जारी रहँदा के गर्न पाइन्छ र के पाइन्न, बुँदागत रूपमा बुझौँ–
१) सभा सम्मेलन : सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, सैलून, ब्यूटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न नपाइने । तर, विवाह व्रतबन्ध गर्नका लागि भने बढीमा १५ जनासम्म स्वास्थ्य प्रोटोकल पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर भेला हुन पाइने छ ।
२) सार्वजनिक एवम् निजी सवारी : सार्वजनिक एवम् निजी सवारी साधन सञ्चालनमा मिति १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ः०० बजेसम्म रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधन काठमाडौं जिल्लाभित्र प्रवेश दिइने छैन । त्यस्तै, अत्यावश्यक सेवाहरू एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, बैङ, वित्तीय संस्था, दूरसंचार इन्टरनेट, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, लगायतका ढुवानी तथा यातायातका साधनमा विषय उल्लेख गरी परिचयपत्रका आधारमा संचालन गर्न पाइने छ ।
सरकारी कार्यालयले सम्बन्धित मन्त्रालय वा विभागबाट जारी भएको सवारी पास लिई सवारी साधन प्रयोग गर्न पाउने छन् । विकास निर्माण कार्यमा र सामग्री ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसको आधारमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको सवारी पास लिएर मात्र सञ्चालन गर्न सकिने छ ।
उल्लेखितबाहेक अन्य अत्यावश्यक काम (अस्पताल आउने जाने बिरामी र कुरुवा मृत्यु संस्कारमा अनिवार्य रुपमा सहभागी हुनुपर्ने अवस्था) का लागि सवारी साधन प्रयोग गर्नुपरेमा प्रमुख जिल्ला अधिकारीबाट जारी हुने अनुमति पास लिनु पर्नेछ ।
३) अत्यावश्यक खाद्य सामग्रीको हकमा खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल व्यवसाय बाहेकका अन्य पसल व्यवसाय हाललाई बन्द गर्ने र खाद्य सामग्रीहरूका पसल व्यवसाय बिहान १० बजेसम्म र बेलुका ५ बजे देखि ७ बजे सम्म खुल्ला गर्न पाइने छ । डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्ष मात्र बिहान १० बजे देखि बेलुका ५ बजे सम्म सञ्चालन हुने छन् । खाद्य सामग्री, ग्रोसरी पसल, औषधि पसल जस्ता अत्यावश्यक सेवाका व्यवसाय संचालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्नुपर्ने छ ।
४) नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा आवतजावत गर्न पाइने छ ।
५) सञ्चारकर्मी (पत्रकार)को हकमा सूचना सङ्कलन तथा सम्प्रेषण गर्न सूचना विभागले जारी गरेको परिचय पत्रको आधारमा आवतजावत गर्न दिइने छ ।
६) काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिहरूले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टाइन र होम आइसोलेसन मा बस्नुपर्नेछ ।
७) अत्यावश्यक बाहेकका अन्य सार्वजनिक सेवा हाललाई स्थगित गर्ने निर्णय भएको छ ।
सूचनामा जनाइएअनुसार अन्तर्राष्ट्रिय उडानहरू बन्द हुने छैनन् । अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरूको हकमा हवाइ टिकट, पासपोर्ट, भिसा हुनेहरूलाई सिधै एयरपोर्ट जाने सवारी साधनका हकमा सहजीकरण गर्न सकिने भनिएको छ ।
प्रतिक्रिया