बाँकेमा एकैदिन ११ सङ्क्रमितको मृत्यु

बाँकेमा एकैदिन ११ सङ्क्रमितको मृत्यु



सीमामा अवैध आवागमन रोक्न सुरक्षा सक्रियता

बाँकेका अस्पतालमा भर्ना भएका ११ जना कोरोना सङ्क्रमितको बिहीबार एकै दिन उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका आठ, कैलालीका दुई र बर्दियाका एक जना रहेको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ ।

केन्द्रका कोरोना स्रोत व्यक्ति तेज वलीका अनुसार मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-४ निवासी ६० वर्षीय पुरुष, वडा नं ९ निवासी ४२ वर्षीय पुरुष, वडा नं ५ निवासी ५५ वर्षीय पुरुष, वडा नं ८ निवासी ३३ वर्षीय पुरुष, वडा नं १७ निवासी ६८ वर्षीय पुरुष, कोहलपुर नगरपालिका-११ निवासी ४३ वर्षीया महिला, वडा नं १३ निवासी ५० वर्षीय पुरुष, खजुरा गाउँपालिका-२ निवासी ६७ वर्षीया महिलाको मृत्यु भएको हो ।

यसैगरी बाँकेमा उपचारका लागि आएका बढैयाताल गाउँपालिका-८ बर्दिया निवासी ३२ वर्षीय पुरुष, लम्कीचुहा नगरपालिका वडा नं १ कैलाली निवासी ४३ वर्षीय पुरुष र टीकापुर नगरपालिका कैलाली निवासी ५१ वर्षीय महिलाको पनि मृत्यु भएको बताइएको छ ।

यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११० पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा उपचारकै क्रममा हालसम्म १११ जनाको मृत्यु भएको छ ।

यसैक्रममा बाँकेमा ग्रामीण नाकाबाट हुने अवैध आवागमन रोक्न प्रहरी, प्रशासनले सुरक्षा सक्रियता देखाएको छ । कोरोना महामारी सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै बाँकेको नेपालगञ्जस्थित नेपाल-भारत मुख्यनाका जमुनाहमा आवतजावतमा कडाइ गरेपछि ग्रामीण नाकाबाट हुने गरेको आवागमन रोक्न सुरक्षाकर्मीलाई निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई उद्धृत गर्दै राससले जनाएको छ ।

प्रजिअ गेलालले भारतमा कोरोना सङ्क्रमण अनियन्त्रित भएकाले त्यसको जोखिम कम गर्न भारत आवागमनमा रोक लगाइएको बताए । मुख्य नाकाबाहेक ग्रामीण क्षेत्रका खुला नाकाबाट समेत आवागमन हुन नदिन सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी बलका बोर्डर आउट पोष्ट र नेपाल प्रहरीका चौकीमा कार्यरत सुरक्षाकर्मीलाई फिल्डमै पुगेर निर्देशन दिएको उनको भनाइ छ ।

बताइएअनुसार बिहीबार मात्रै जिल्लास्थित सुरक्षा अधिकारीको टोलीले बाँकेको जानकी गाउँपालिकामा पर्ने नेपाल-भारत बढैया सीमानाकाको अवलोकन गरेको छ । अवलोकनका क्रममा सीमानाकामा कार्यरत सुरक्षाकर्मीलाई निर्देशन दिनुका साथै कोरोना सङ्क्रमण रोकथामका सन्दर्भमा भारतीय सुरक्षा बलका अधिकृतसँग छलफलसमेत भएको छ ।

बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले खुला सिमानाका कारण भारत-नेपाल हुनसक्ने अवैध आवागमनलाई रोक्न हरसम्भव प्रयास भइरहेको बताए । खासगरी राप्तीपारिको नरैनापुर गाउँपालिकाअन्तर्गत रहेका खुला सीमानाका र जानकी गाउँपालिकाको साइगाउँ नाकामा हुन सक्ने आवागमन रोक्न त्यहाँ खटिएका सुरक्षाकर्मीलाई परिचालन गरिएको उनको भनाइ छ ।

कोरोना सङ्क्रमण र मृत्युको सङ्ख्या दैनिक रूपमा बढ्न थालेसँगै बाँकेको जमुनाह सीमानाकासँगै ग्रामीण क्षेत्रमा रहेका भित्री नाकामा समेत आवतजावतमा कडाइ गरिएको छ । बाँकेको ६५ किलोमिटर क्षेत्रफल भारतसँग सीमा जोडिएको छ । सशस्त्र प्रहरी बलले सीमानाकामा गरेको कडाइपछि जमुनाहनाका सुनसान बनेको छ । अनावश्यक रूपमा गरिने आवतजावतलाई पूर्ण रूपमा बन्देज गरिएको छ । नेपालगञ्जस्थित मूलनाका जमुनाहबाट अहिले अतिआवश्यक औषधि उपचारबाहेक भारत जान रोक लगाइएको छ ।

जमुनाहनाकासहित भित्री बाटोहरुमा समेत सशस्त्र प्रहरीले ब्यारिगेट निर्माण गरेर आवतजावतमा कडाइ गरेको सशस्त्र प्रहरी बोर्डर अफ पोष्ट जमुनहाका सशस्त्र प्रहरी निरीक्षक जीवलाल बुढाले जानकारी दिएका छन् ।