स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड-१९ का सङ्क्रमितका उपचारमा सरकारले हातखुट्टा नछाडेको बताउनुभएको छ ।
मन्त्री त्रिपाठीले शनिबार एक भिडियो सन्देश जारी गर्दै भन्नुभयो, “बाहिर प्रचार गरेजस्तो सरकारले हातखुट्टा छाडेको छैन । सरकार जिम्मेवारीका साथ कर्तव्य पालनामा अगाडि बढेको छ ।”
स्वास्थ्य मन्त्रालयले शुक्रबार स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी सङ्क्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न शय्या उपलब्ध गराउन नसकिने भइसकेको बताएपछि मन्त्री त्रिपाठीले भिडियो सन्देश जारी गर्दै सरकार जनताका साथमा रहेको स्पष्ट गर्नुभएको हो ।
मन्त्री त्रिपाठीले संक्रमितको उपचारको सबै जिम्मेवारी सरकारले लिएको बताउँदै संक्रमणबाट आतंकित हुने अवस्था नरहेको जनाउनुभयो ।
सरकार आफ्नो प्रतिबद्धता पूरा गर्न तयार रहेको बताउँदै उहाँले नेपाली जनताको जीवन जोगाउन हरप्रयास गरिरहेको प्रष्ट्याउनुभयो । ‘कोभिड-१९ को दोस्रो लहर गम्भीर र जटिल रहे पनि हामी आतंकित हुने स्थितिमा छैनौँ, सरकार हरेक उपचारको विधि, उपचारका लागि अस्पताल थप्ने काम गरिरहेको छ’- उहाँले सन्देशमा भन्नुभएको छ ।
मन्त्री त्रिपाठीका अनुसार संक्रमणको उपचारका लागि काठमाडौं उपत्यकामा एक हजार शय्याको व्यवस्था गरिएको छ भने अक्सिजन जोहो गर्नेदेखि लिएर संक्रमितको उपचार गर्न दत्तचित्त भएर लागेको छ ।
संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रयोग गरिने औषधि दुई(तीन दिनभित्र नेपालमा आपूर्ति गरिने उहाँको भनाइ छ । मन्त्री त्रिपाठीले एकैचोटि संक्रमणको दोस्रो लहर आएको र दोस्रो भेरियन्ट आक्रमणकारी रहेकाले हठात संख्या बढ्दो रहेको जनाउनुभयो ।
उहाँले संक्रमण रोकथाम र नियन्त्रणमा आफ्नो व्यवस्थापनमा कहीँकतै कमजोरी भएको भए नैतिक जिम्मेवारी लिइनेसमेत स्पष्ट गर्नुभयो । नेपाली जनताको जीवन महत्वपूर्ण भएकाले नै संक्रमण रोकथामका लागि निषेधाज्ञा गरिएको उहाँको भनाइ छ ।
‘संक्रमणको दर घटाउनमा यसले मद्दत पुर्याउने छ । महामारीका लागि रोकथाम महत्वपूर्ण विषय हो । उपचार दोस्रो हो । त्यसैले रोकथामका लागि निषेधाज्ञा गरिएको हो,’ मन्त्री त्रिपाठीले भन्नुभयो ।
उहाँले सबैलाई निषेधाज्ञा पालना गरेर संक्रमण रोकथाम र नियन्त्रण गर्न सहयोग गर्न र सुरक्षाका सबै मापदण्ड अपनाउनसमेत आग्रह गर्नुभयो ।
प्रतिक्रिया