पशुपतिमा कोरोना सङ्क्रमण भई निधन भएकाको शव बढ्न थाले

पशुपतिमा कोरोना सङ्क्रमण भई निधन भएकाको शव बढ्न थाले


कोरोना भाइरसको दोस्रो लहर तीव्र भएसँगै पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा सङ्क्रमण भई निधन भएकाको शव आउने क्रम बढ्न थालेको छ ।

कोरोना सङ्क्रमण भई निधन भएका दैनिक सरदर ३० को हाराहारीमा शव आउन थालेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिएका छन् । विद्युतीय शवदाह गृहमा तीन वटा शवदाह यन्त्र छन् । यी यन्त्रले नभ्याएपछि हाल वाग्मती किनारमा पनि सङ्क्रमण भई निधन भएकाको शवदाह हुन थालेको छ ।

सङ्क्रमण भई निधन भएकाको चाप विद्युतीय शवदाह गृहमा बढ्न थालेपछि पाँच वटा यन्त्र दाउराबाट जलाउन मिल्ने गरी थप्न लागिएको कोषले जनाएको छ । यी यन्त्र यसै हप्ता तयार भइसक्ने जनाइएको छ ।

गत वर्ष जेठ पहिलो सातापछि कोरोना सङ्क्रमण भई निधन भएकाको शव विद्युतीय शवदाह गृहमा आउन थालेको थियो । गत वर्ष धेरै शव आएका दिन १५ वटासम्म आउने गरेको थियो ।

यस वर्ष कोरोनाबाट मृत्यु हुनेको दर बढेकाले पशुपतिमा शव आउने क्रम पनि बढेको हो । विद्युतीय शवदाह गृहको एउटा यन्त्र दुई दिनअघिदेखि बिग्रिएका कारण पनि कोरोनाबाट मृत्यु भएकाको शव वाग्मती किनारका अन्य स्थानमा जलाउनु परेको कोषका प्रशासकीय अधिकृत कुमार थापाले जानकारी दिए । बिग्रिएको यन्त्र पनि मर्मत गर्न लागिएको पनि उनको भनाइ छ ।

भष्मेश्वर र आर्यघाटमा पनि कोरोनाको दर तीव्र भएसँगै शव आउने क्रम बढ्न थालेको कोषले जनाएको छ । घाटमा सामान्य अवस्थामा निधन भएका ४० वटासम्म शव आउन थालेको छ । भष्मेश्वरमा नौ र आर्यघाटमा दुई गरी ११ घाटमा शवदाह हुने गरेको छ । यी ११ वटै घाटमा दाउराबाट शवदाह हुने गरेको छ ।

विद्युतीय शवदाह गृहमा पौने घण्टादेखि एक घण्टासम्ममा शवदाह हुने गरेको छ । दाउराबाट जलाइने घाटमा तीनदेखि चार घण्टामा शवदाह सकिने गरेको छ ।

pict:rss