भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई करोडभन्दा बढी

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई करोडभन्दा बढी



दुई लाख २२ हजार ४०८ को मृत्यु

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको कुल सङ्ख्या दुई करोडभन्दा माथि पुगेको छ । पछिल्लो २४ घण्टामा तीन लाख ५७ हजार भन्दा धेरै सङ्क्रमित थपिएसँगै कुल सङ्ख्या दुई करोड नाघेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो तथ्याङ्कअनुसार भारतमा २४ घण्टामा तीन लाख ५७ हजार २२९ जना सङ्क्रमित थपिएका छन् । सो अवधिमा तीन हजार ४४९ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ ।

मङ्गलबार दिउँसोसम्ममा सक्रिय सङ्क्रमितको सङ्ख्या ३४ लाख ४७ हजार १३३ रहेको बताइएको छ ।

भारतमा कुल सङ्क्रमितको सङ्ख्या दुई करोड दुई लाख ८२ हजार ८३३ पुगेको छ भने अहिलेसम्म दुई लाख २२ हजार ४०८ व्यक्तिको सङ्क्रमणका कारण स्वास्थ्यमा आएको जटिलताका कारण मृत्यु भएको छ ।

भारतमा हालसम्म १५ करोड ७१ लाख ९८ हजार २०७ जनाले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन् । नयाँ प्रकारको कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिँदा दोस्रो लहरको महामारीबाट भारतको स्वास्थ्य प्रणाली शिथिल बनेको छ ।

अस्पतालमा शै्यया तथा औषधि र अक्सिजनको अभाव हुँदा बचाउन सकिने सङ्क्रमितहरुको पनि ज्यान गएको स्वास्थ्यकर्मीले बताएका छन् ।

१८ वर्षमाथिकालाई खोप लगाउन थालिएको भए पनि धेरै राज्यमा खोपको अभाव रहेको छ । खोप उत्पादक सेरम इन्स्टिच्यूडका प्रमुखले खोपको अभाव आउँदो जुलाईसम्मै कायम रहन सक्ने चेतावनी दिएका एएनआईले जनाएको छ ।