मेक्सिकोमा रेल दुर्घटना कम्तीमा २० को मृत्यु, ७० घाइते

मेक्सिकोमा रेल दुर्घटना कम्तीमा २० को मृत्यु, ७० घाइते



मेक्सिको सिटीस्थित शहरी रेललाई सडक पार गर्न बनाइएको ‘ओभरपास’ भत्किँदा भएको रेल दुर्घटनामा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको छ । उक्त घटनामा कम्तीमा ७० जना घाइते भएका छन् भने घाइते सबैलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

उद्धारकर्मीले सडकमा रेल र भत्केको संरचनाले च्यापिएको एक कारलाई क्रेनको सहयोगमा हटाउँदै गरेका दृश्यहरू स्थानीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा छापिएका छन् ।

घाइते मध्ये ४९ जनालाई अस्पतालमा भर्ना गरिएको, तीमध्ये सातजनाको अवस्था गम्भीर रहेको र गम्भीर घाइतेहरूको शल्यक्रिया भइरहेको मेक्सिको सिटीका नगर प्रमुख क्लाउडिया शिनबौमले बताएका छन् ।

कारमा च्यापिएको एक व्यक्तिलाई सकुशल उद्धार गरिएको, उद्धारकर्मीहरूले ओभरपास र रेलका डब्बा हटाई फसेका व्यक्तिहरूको खोजी गरिरहेका पनि उनले जनाएका छन् ।

मृतकहरू बालबालिका तथा महिलासमेत रहेको बताइएको छ । शेनबाउमले कारमा फसेका अन्य व्यक्तिहरू जिवितै रहेको वा मृत्यु भइसकेको अझै थाहा हुन नसकेको जनाएका छन् ।

पुलको निर्माण गरेका नगरका पूर्वप्रमुख तथा विदेश मामिला मन्त्री मार्सेलो इबार्डले शहरमा भएको दुर्घटनालाई भयङ्कर त्रासदीपूर्ण घटना भन्दै यसको कारण अनुसन्धान गरी दोषीको पहिचान गरिनुपर्ने अभिव्यक्ति दिएका छन् ।

मेक्सिको सिटीको रेल सेवा संसारको सबभन्दा ठूलो र व्यस्तमध्ये एक हो, आधा शताब्दीपहिले यसको उद्घाटन भएदेखि कम्तिमा दुई गम्भीर दुर्घटनाहरू भएका छन् ।

गत वर्षको मार्चमा, टाकुबाया स्टेशनमा दुई रेल बीचको टक्करमा एक यात्रीको मृत्यु भएको थियो भने ४१ जना घाइते भएका थिए । त्यस्तै सन् २०१४ मा ओसिनियामा समयमै नरोकिएको एउटा रेल स्टेशनमा अर्को रेलसँग जुध्दा अर्को दुर्घटनामा भएको थियो जसमा १२ जना घाइते भएका थिए ।