मंगलबार कोरोनाबाट ५५ जनाको निधन, सङ्क्रमित सङ्ख्या दैनिक बढ्दै

मंगलबार कोरोनाबाट ५५ जनाको निधन, सङ्क्रमित सङ्ख्या दैनिक बढ्दै



कोभिड-१९ को सङ्क्रमित हुनेको सङ्ख्यामा दैनिक उकालो लागिरहेको छ । कोभिड-१९ को दोस्रो लहर बढेसँगै वैशाखको शुरु देखि सङ्क्रमित हुनेको सङ्ख्या दैनिक उकालो लागेको हो । प्रत्येक दिन सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको छ ।

आज (२१ वैशाख) देशभर सात हजार ६६० मा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सोमबार सात हजार ४४८, आइतबार सात हजार २११, शनिबार पाँच हजार ७६३ र गत शुक्रबार (वैशाख १७) पाँच हजार ७२७ सङ्क्रमित देखिएका थिए ।

आज १६ हजार १३१ पिसिआरमा सात हजार ५८७ र ५६१ एन्टिजेनमा ७३ मा सङ्क्रमण देखिएको हो । आज देखिएका सङ्क्रमितसँगै कूल सङ्क्रमित संख्या तीन लाख ५१ हजार ५ पुगेको छ ।

यस्तै आज एक हजार ७७५ सङ्क्रमितबाट निको भएका छन् भने अहिलेसम्म दुई लाख ८७ हजार ७९० निको भएर घर फर्किएका छन् । नेपालमा निको हुने दर ८२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज मात्र सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या ५५ पुगेको छ । निधन हुनको यो सङ्ख्या हालसम्मकै उच्च हो । यससहित अहिलेसम्म तीन हजार ४१७ जनाको सङ्क्रमणबाट निधन भइसकेको छ ।

यसैगरी ५०० भन्दा बढी सङ्क्रमित हुने जिल्ला २० पुगेका छन् । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, पर्सा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, मकवानपुर, कास्की, दाङ्, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत र कैलाली रहेका छन् ।

यस्तै, सङ्क्रमितमध्ये ६१६ सघन उपचार कक्ष (आइसियु) र १७९ भेन्टिलेटरमा उपचार गराइरहेका छन् । आइसियुमा प्रदेश नंं १ मा ९३, प्रदेश नंं २ मा २४, वाग्मती प्रदेशमा ३२५, गण्डकी प्रदेशमा ४४, लुम्बिनी प्रदेशमा ६९, कर्णाली प्रदेशमा ३२ र सूदुरपश्चिम प्रदेशमा २९ उपचार गराइरहेका छन् । भेन्टिलेटरमा प्रदेश नंं १ मा १८, प्रदेश नंं २ मा दुई, वाग्मती प्रदेशमा १२४, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा १६, कर्णाली प्रदेशमा सात र सूदुरपश्चिम प्रदेशमा १० उपचार गराइरहेका छन् ।