चितवनमा तीन सङ्क्रमितको मृत्यु

चितवनमा तीन सङ्क्रमितको मृत्यु



कोरोना सङ्क्रमणका कारण चितवनमा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन, अर्घाखाँची र रुपन्देहीका एक-एक जना छन् । भरतपुर अस्पतालमा उपचारका क्रममा भरतपुर महानगरपालिका-२५ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । निमोनियाको समस्या भइ वैशाख १९ गते अस्पतालमा भर्ना भएका उनमा २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोभिड सङ्क्रमण पुष्टिपछि कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा आज बिहान ५ः३५ बजे मृत्यु भएको हो ।

यस्तै, रुपन्देहीको बुटवल उपमहानगरपालिका-९ का ४२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उनको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उनी श्वासप्रश्वासमा समस्या आई यही वैशाख २१ गते मेडिकल कलेजमा आएका थिए । उनमा २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपश्चात अस्पतालमा उपचारका क्रममा उनको मङ्गलबार राति २ः३० बजे मृत्यु भएको हो ।

यसैगरी, अर्घाखाँचीको भूमिकास्थानका एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा भूमिकास्थान-१ का ४२ वर्षीय पुरुष रहेको चितवन मेडिकल कलेजले जनाएको छ ।

कलेजका अनुसार श्वासप्रश्वासमा समस्या आइ यही वैशाख २१ गते अस्पताल आएका उनको राति २ः०२ बजे मृत्यु भएको हो । उनमा वैशाख २० गते बुटवलको नेशनल प्याथोल्याबमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।