पेट्रोलको मूल्य यसकारण बढ्यो अमेरिकामा !

पेट्रोलको मूल्य यसकारण बढ्यो अमेरिकामा !


  • सानुबाबु सिलवाल/अमेरिका

पेट्रोलको ट्रक चलाउने ड्राइभरको खाँचो हुँदा अमेरिकामा यतिबेला पेट्रोलको भाउ बढ्दै छ । अर्थात्, पेट्रोलट्रक चलाउने चालकको कमीका कारण अमेरिकन जनता एवम् सडकमा पेट्रोलियम बाहन हाँक्नेहरू पेट्रोलियम पदार्थको मुल्य बढि तिर्दैछन् । पोहोरको यसै समय सालाखाला २ डलर थियो र अहिले सालाखाला ३ डलर छ पेट्रोलको भाउ प्रतिगेलन । भनेपछि पेट्रोलको गाडी चलाउने ड्राइभरको अभावकै कारण प्रतिगेलन १ डलर ज्यादा मूल्य तिर्न बाध्य छन् सबै अमेरिकन ड्राइभरहरू !

आजकै दिनको हिसाबकिताब गर्दा अमेरिकालाई सबैखाले ट्रक चलाउने झण्डै १ लाख ६२ हजार ड्राइभरको खाँचो रहेछ । पेट्रोलियम ट्रक चलाउने ड्राइभरहरू अहिलेलाई १ लाख ११ हजार रहेकोमा औषत अर्को ६० हजार पेट्रोलियम ड्राइभरको आवश्यकता छ, पेट्रोलियम पदार्थको सुचारु ढुवानीका लागि अमेरिकामा ।

सन् २०१९ को तथ्याङ्कअनुसार अमेरिकामा मात्रै ३.५ मिलियन अर्थात् ३५ लाख ट्रकड्राइभर रहेछन् । तर अहिलेको कोभिड महामारी र अमेरिकन सरकारको विविध बेनेफिटका कारण यी ३५ लाख ड्राइभर सबै काममा छैनन् । यसको मतलब झण्डै ४० प्रतिशत ट्रकड्राइभरहरूको अभाव छ अहिले ।

अमेरिकामा ट्रकब्यवसाय र ट्रक ड्राइभिङको उद्योगले अमेरिकन अर्थतन्त्रमा ठुलो हिस्सा ओगटेको छ । ट्रक उद्योगको नेट वर्थ झण्डै ७०० बिलियन रहेछ । यसबाट अमेरिकन सरकारले हरेक वर्ष झण्डै ९७.९ बिलियन राजस्व उठाउने गर्दछ ।

३६.९ मिलियन अर्थात् ३ करोड ३७ लाख वटा ट्रक दर्ता रहेछन् अमेरिकामा जुन ब्यवसायजन्य कार्यमा प्रयोग हुन्छ । जसमध्ये ७१ प्रतिशत ट्रकहरू हरेक दिन २४ घन्टा अवधिमा अमेरिकन सडकमा यात्रामा हुन्छन्, क्यानडा एवम् मेक्सिको समेत गरेर । जसले झन्डै ३०४.९ मिलियन माइल यात्रा गर्दा रहेछन् ।

समस्या पेट्रोलियम ट्रकड्राइभरको मात्र होइन, यात्रु बोक्ने भाडाका उबर एवम् लिफ्टड्राइभरको पनि त्यत्तिकै अभाव भोग्दैछ अहिले अमेरिकाले । झण्डै २ मिलियन अर्थात् २० लाख ड्राइभरहरू संलग्न रहेछन् यस उबर र लिफ्टसँग । ४० प्रतिशत डाउन अर्थात् झण्डै ८ लाख उबर र लिफ्ट ड्राइभरको खाँच्चै रहेछ हाल उबर र लिफ्टलाई । कोभिड महामारीको मारमा परेका उबर एवम् लिफ्ट ड्राइभरका लागि अमेरिकन सरकारले झण्डै २५० मिलियन डलर राहतस्वरुप नगद सहयोग गरिसकेको छ ।

यही बेनेफिटसहित अन्य राहत हात पारेर नेपाली उबर र लिफ्टड्राइभरहरू हिजोआज एनआरएनको चुनाबी माहोलमा होमिएका छन् भने अन्य क्यासमा काम गर्ने र उता राहत बटुली सामाजिक ‘अभियन्ता’ बन्ने, नेपाल डलर पठाउने र नेपालतिरै श्रीसम्पति जोड्नमा लिप्त हुँदै गरेका पनि भेटिए !