कोड प्रयोग गरेर गमागम

कोड प्रयोग गरेर गमागम


वैदेशिक रोजगार विभागका कर्मचारीले आफ्नो जागिर जोखिममा राखेर नक्कली कागजातलाई सक्कली प्रमाणित गर्दै प्रतिव्यक्ति तीन हजारदेखि पन्ध्र हजारसम्म घुस लिइरहेका छन् । केही समय रोकिएजस्तो भएको वैदेशिक रोजगार विभागको घुस खाने तरिका र अनियमित काम पुरानै हिसाबबाट सुरु भएको छ । सक्कल कागजात भए महानिर्देशक र निर्देशककोमा पठाइन्छ भने नक्कली कागजातलाई व्यक्तिगत एजेन्ट उभिएकै भरमा व्यक्तिगत स्वीकृति दिन थालिएको छ । प्रमाणका लागि हालैका दिनमा व्यक्तिगत श्रम स्वीकृति दिएका व्यक्तिगत फाराम हेरे प्रस्ट हुन्छ ।
उपत्यका आसपासका चितवन, मकवानपुर, नुवाकोटलगायतका जिल्लामा एजेन्टहरूले पासपोर्ट बोकेर लाने र त्यहीँबाट श्रमस्वीकृतिको काम सुरु गर्न थालेका छन् । सुरुका दिनमा दिनहुँ अनुपस्थित हुने कर्मचारीहरू अहिले दुई-चार घन्टाको पालोमा बाहिर काम गर्ने गरेका छन् । दिन मारेर कार्यालय बाहिर काम गर्दा सोबारे पत्तो लाग्ने डरले घन्टाको हिसाबले काम गर्न थालिएको छ । विमानस्थलस्थित वैदेशिक रोजगार विभागको ‘हेल्प डेस्क’लाई खबर गरेर कुन दिन कसकसको हस्ताक्षर पासपोर्टमा रहन्छ त्यसको जानकारी ‘एक हातले गरेको सही’, ‘डबल नमस्कार’, ‘कतिखाने नमस्कार’ जस्ता ‘कोड’ प्रयोग गरेर दिने गरिएको छ । यो पाँच हजार, दश हजार र त्योभन्दा माथि भनिएको हो ।
अर्कोथर्फ व्यक्तिगत स्वीकृति निकाल्नुपर्ने महिलाको श्रम स्वीकृतिदेखि विभागको निर्णयबाट क्षणिक बन्द गरिएका देशको कागजात नपुगेका पासपोर्टहरू फाइलमा हालेर रेटै ‘उही हो बन्द’ कोडमा पैंतीस हजारका दरले अन्तिम स्वीकृति प्रदान गरिएको छ । कर्मचारीको रेखदेख माथिबाट ‘प्रभु’ भनेपछि काम हुन्छ । त्यो भनेको केही हुँदैन आदेश छ भन्ने हो ।
-सागर तिमल्सिना, मध्यबानेश्वर, काठमाडौं

यसो गरे कसो होला –
नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले हालै एक सार्वजनिक समारोहमा मन्तव्य दिँदै देशमा भ्रष्टाचार अचाक्ली बढेको बताइन् । वर्तमान सरकारका मन्त्रीहरू एकसेएक घुस्याहा र भ्रष्ट भएको उनले दाबी गरिन् । यसरी मन्त्रीहरूलाई भ्रष्ट भएको आरोप मात्र सुजाताले लगाइनन् बरु सँगसँगै एउटा उपदेश पनि दिइन्, त्यो के भने मुलुकका भ्रष्टहरूमाथि धमाधम कारबाही गर्नुगर्छ, त्यति नगरेसम्म यो देश उँभो लाग्न सक्दैन
सुजाता कोइरालाको मुखारावृन्दबाट यसरी भ्रष्टाचारको विरुद्धमा प्रत्यक्ष रूपमा भाषण सुन्न पाउँदा मन गद्गद् भयो । उनले भनेझैं भ्रष्टाचारीहरूलाई कारबाही नगरेसम्म मुलुकले विकासको गति लिन अवश्य पनि सक्दैन । यो कुरा प्रधानमन्त्री बाबुराम भट्टराईलाई थाहा छ कि छैन कुन्नि ? थाहा भए पनि नभए पनि एउटा अनुरोध प्रधानमन्त्रीसँग म के गर्न चाहन्छु भने तत्काल सुजाता कोइरालाको नेतृत्वमा भ्रष्ट या भ्रष्टाचारीहरूलाई कारबाही गर्ने एउटा शक्तिशाली कमिसन गठन गरियोस् । त्यो आयोगलाई बरु यति पावर दिइयोस् कि यो मुलुकको एक नम्बर भ्रष्टाचारी व्यक्ति मै हुँ भनेर उनले आफैंदेखि कारबाही थालिन् भने पनि रोकटोक गर्न कसैले नसकून् ! यसो गरे कसो होला प्रधानमन्त्री भट्टराईज्यू –
-बाबुराम विक,

‘किष्ट’ले कस्यो
किष्ट मेडिकल कलेजले शुल्कसम्बन्धी सरकारी मापदण्डलाई धोती लगाउँदै मनमानी शुल्क असुलेर हामी अभिभावकको ढाड सेक्दै आएको छ । सरकारले निर्धारण गरेको शुल्क नै तिर्न कठिन परेको अवस्थामा त्योभन्दा बढी असुलेर किष्टका सञ्चालकहरूले आफूलाई धनी बनाउने अन्यायपूर्ण बाटो रोजेकोमा खेद नै लाग्छ । सरकारद्वारा गठित शुल्क निर्धारण समितिले पाँच वर्ष अवधिका लागि प्रतिविद्यार्थी २५ लाख रुपैयाँ शुल्क निर्धारण गरी उक्त रकमलाई तीन किस्तामा भुक्तानी लिने व्यवस्था मिलाउन सुझाव दिएको जगजाहेर छ । तर, किष्ट मेडिकल कलेजले अभिभावकहरूबाट ३९ लाख २० हजारसम्म शुल्क असुलिरहेको छ । विद्यार्थीपिच्छे अलग-अलग शुल्क लिने किष्ट-काइदा पनि बुझिनसक्नुको छ ।
प्रतिविद्यार्थी चौध लाख बीस हजारका दरले बढी रकम लिँदा वारि्षक दुई अरब पचपन्न करोड साठी लाख रुपैयाँ अनियमित रूपमा सङ्कलन गरी किष्ट मेडिकल कलेजले शिक्षाको नाममा ठाडो भ्रष्टाचार गरेको छ । यसरी बढ्ता असुल गरेको रकम किष्टबाट फिर्ता गराउन सरकारले पहल गरोस् र न्यायेचित शुल्क निर्धारण गरी त्यसलाई कडा अनुगमनका साथ लागू गरियोस् । अन्यथा किष्टका साथै सरकारकै विरुद्ध हामी अदालतको ढोका ढकढक्याउन बाध्य हुनेछौँ ।
-किरण शर्मा (ग्वार्को) एवम् किष्ट मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीका अभिभावकहरू