अक्सिजनको अभाव औंल्याउँदै राजधानीका अस्पतालले उपचारबाट हात झिके

अक्सिजनको अभाव औंल्याउँदै राजधानीका अस्पतालले उपचारबाट हात झिके


सरकारले कुनै पनि अस्पतालमा अक्सिजन अभाव नहुने जनाए पनि राजधानीलगायत देशभर अक्सिजनको चर्को अभाव देखिएको छ । अक्सिजनको अभाव भएपछि राजधानीका केही अस्पतालले पूर्ण क्षमतामा कोरोना सङ्क्रमितको उपचार गर्न नसकिएको जनाएका छन् ।

कोरोनाबाट सङ्क्रमितको उपचारका लागि अक्सिजन अत्यावश्यक भइरहेको अवस्थामा अक्सिजनको अभाव देखिएपछि ती अस्पतालले अक्सिनको नियमित आपूर्ति नभएसम्म सीमित शय्यामात्र सञ्चालनमा ल्याइने बताएका छन् ।

चाबहिल क्षेत्रमा रहेका मेडिकेयर अस्पताल, नेपाल-भारत मैत्री अस्पताल, दीर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टर र हेल्पिङ हेण्डस् सामुदायिक अस्पतालले संयुक्त विज्ञप्ति जारी गरी अक्सिजनको चर्को अभाव भएकाले पूर्ण क्षमतामा सङ्क्रमितको उपचार गर्न नसकिएको जनाएका हुन् । ती अस्पतालले अब नयाँ बिरामी भर्ना लिन नसकिने पनि प्रष्ट्याएका छन् ।

ज्ञातव्य छ, गत शुक्रबार भक्तपुरको एक अस्पतालमा अक्सिजनको आपूर्ति एकाएक बन्द हुँदा दुई सङ्क्रमितको मृत्यु भएको थियो । त्यहाँ उपचाररत अन्य सङ्क्रमितलालाई रातरात अन्य अस्पतालमा सारिएको थियो ।

चिकित्सकहरूले कोरोनाको ‘न्यू भेरियन्ट’बाट ग्रसित अधिकांश बिरामीलाई अक्सिजनको जरुरी हुने बताउँदै आएका छन् । अक्सिजनको पर्याप्त उपलब्धता भए मात्र थुप्रै सङ्क्रमितको ज्यान जोगाउन सकिने उनीहरूको भनाइ छ ।